देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रहरीमा सरुवा आतंक 

देशान्तर

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवर सांगठनिक कामको सिलसिलामा देशबाहिर रहेका बेला गृहमन्त्री रवि लामिछानेले भने मनलागी सरुवा गरेर संगठनभित्रै आतंक मच्चाएका छन् । चैत २५ मा १६ जना प्रहरी उपरीक्षक (एसपी)हरूको काज सरुवा गरेका गृहमन्त्री लामिछानेले अस्ति शुक्रबार आईजीपी कुँवर देशबाहिर इन्टरपोलको महासभामा भाग लिन गएको मौका छोपेर ६ जना एसएसपीहरूको सरुवा गरेका हुन् । आफूले प्रहरी सरुवा बढुवामा कुनै हस्तक्षेप नगर्ने तथा योग्यतामा आधारित प्रणाली लागू हुने गरी कानुनी व्यवस्थाको प्रस्ताव ल्याउन नेपाल प्रहरी र सशस्त्र प्रहरीको नेतृत्वलाई निर्देशन दिएको भाषणबाजीमा उत्रिएका उनै गृहमन्त्री रविले आफैंले गरेको कानुन संशोधनको प्रस्ताव लत्याउँदै मनमौजी रूपमा सरुवा गरेका हुन् । 

चैत २५ को सरुवामा तराईका ६ वटा जिल्ला र एक पहाडी जिल्ला प्रहरी प्रमुखको सरुवा भएको छ । समयावधि नै नपुगी अचानक जिल्ला प्रमुखहरूको सरुवा भएपछि गृहमन्त्री रवि लामिछाने आलोचित मात्र भएका छैनन्, प्रहरी संगठनभित्र पूर्ण रूपले हस्तक्षेप गरेको देखिएको छ । जबकी प्रहरी संगठनमा कुनै पनि अधिकृतले एक वर्ष युनिट कमान्ड गर्ने प्रावधान रहेको छ । त्यसलाई समेत यसपटक लत्याइएको छ । गृहमन्त्री लामिछानेको हस्तक्षेपका कारण प्रहरी संगठनको आत्मबल थप कमजोर भएको र प्रहरी मापदण्डलाई लत्याउँदै संगठन प्रमुखलाई दबाबमा राख्न खोजेको एक प्रहरी अधिकृतले देशान्तरलाई बताए । त्यसअघि डीएसपी बढुुवामा पनि कारबाहीमा परेकालाई पनि बढुवाको पुरस्कृत गरेको भन्दै आलोचना हुँदा नचेतेका रविले शुक्रबार ६ जना एसएसपीको सरुवा गरेका हुन् । 

आईजीपी कुँवर विदेश जानुअघि सरुवाको कुनै सन्धगन्ध पनि थिएन । रविको सरुवा सूचीअनुसार काठमाडौं जिल्ला प्रहरी परिसरका एसएसपी भूपेन्द्र खत्रीलाई अपराध अनुसन्धान विभागमा लगिएको छ भने विभागमा रहेका वसन्त रजौरेलाई काठमाडौं प्रमुखको जिम्मेवारी दिइएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठोरलाई राष्ट्रिय सुरक्षा परिषद्मा सरुवा गरिएको छ । परिषद्मा रहेका सानुराम भट्टराई, राठोरको स्थानमा अपराध अनुसन्धान कार्यालय पुगेका छन् ।

काठमाडौं प्रहरी परिसरका एसएसपी भूपेन्द्र खत्री र उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरको सरुवा भयो । प्रहरीभित्र व्यावसायिक मानिएका दुवै अधिकृतलाई ८ महिना नपुग्दै गृहमन्त्रीले सरुवा गर्नुलाई राजनीतिक हस्तक्षेपको रूपमा बुझिएको छ । एसएसपी राठौर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मानव तस्करीलाई साथ दिने गृह मातहतकै अध्यागमन अधिकृतलाई कारबाहीको दायरामा ल्याउने अधिकृत हुन् भने खत्रीले नेपालबाट रसिया पठाउने समूहको अनुसन्धान र काठमाडौंमा भएका राजनीतिक आन्दोलनलाई हिंसात्मक हुनबाट रोकेको श्रेय जाने गरेको छ । 

त्यस्तै, प्रहरी प्रधान कार्यालय तालिम निर्देशनालयका एसएसपी अभयनारायण काफ्लेको पनि सरुवा भएको छ उनी कोशी प्रदेश तालिम निर्देशनालयमा सरुवा भएका जाँदा त्यहाँ रहेका एसएसपी राजन अधिकारीलाई हेडक्वार्टरको तालिम निर्देशनालयमा ल्याइएको छ ।

प्रहरीमा कुनै हस्तक्षेप नगर्ने बताउँदै आएका गृहमन्त्री लामिछानेले आफू अनुकूल दुरुपयोग गर्नका लागि कुनै कसर बाँकी राखेका छन् । गृहमन्त्रीविरुद्ध बोलेको आरोप लगाउँदै साइबर ब्युरोले यातना दिएको भन्दै गणेशमान सिंहले विष नै सेवन गरेको भिडियो सार्वजनिक हुँदा घटना ढाकछोप गर्न प्रहरी संगठनलाई नै लगाएका छन् । 

सहकारी ठगी प्रकरणमा जोडिएका रवि आफूलाई जोगाउनका लागि प्रहरीको साथ खोजिरहेका छन् । त्यसैले आफू अनुकूलको टिम बनाउनका लागि पटकपटक सरुवामा हस्तक्षेप गरेको सुरक्षा निकट स्रोतको दावी छ । राज्य व्यवस्था समितिले गृहमन्त्रीलाई बोलाउँदा उनी प्रहरी संगठनको सिंगो नेतृत्व लगेर सांसदहरूलाई उल्टै सहकारीबारे पढाएका थिए ।