देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसको सञ्चार लाजमर्दो 

देशान्तर

काठमाडौं । हरेक राष्ट्रिय, अन्तर्राष्ट्रिय समस्याहरूको समाधान दिन नेपाली कांग्रेसलाई विश्वले अब नेपाली कांग्रेस डट ओआरजी एक ‘डिजिटल हाउस’ भित्र प्रस्तुत गरेको र समग्रतामा नेपाली कांग्रेसको केन्द्र, प्रदेश, जिल्ला तहका संरचना, भ्रातृ एवं शुभेच्छुक संघसंस्था तथा विदेशस्थित सम्पर्क समितिहरूलाई एउटै छहारीमा समेटिएको दाबीसहित नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले परिचय खण्डमा राखे पनि नेपाली कांग्रेसको वेभसाइट खोल्दा भने आवश्यक पर्ने सबै दस्तावेज र सूचनाहरू भेट्न मुस्किल रहेको छ । 

सन् २००५ अगस्ट १८ तारिखमा डोमन दर्ता गरेको नेपाली कांग्रेसको वेभसाइट नेपाली कांग्रेस डट ओआरजी आधिकारिक वेवसाइट हो । 

अहिलेको धेरै सूचनाहरू वेभसाइट खोल्नासाथ पाइनुको साटो खोजेका कुराहरू भेट्न निकै मुस्किल रहेको छ । कारण हो नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले आफूलाई समयसापेक्ष प्रविधिमा ढाल्न नसक्नु नै हो ।

वेभसाइटमा पार्टीले निकाल्ने विज्ञप्तिहरू प्रकाशित भए पनि हालै भएको नेपाली कांग्रेसको महासमिति बैठकका न तस्बिर भेटिन्छन् न त प्रतिवेदनहरू नै समेटिएका छन् । प्रतिवेदनको हकमा केन्द्रीय कार्यसमितिबाट अनुमोदन हुन बाँकी भनेर जवाफ नेतृत्वले दिए पनि गोदावरीमा भएको महासमिति बैठकका उद्घाटनदेखि समापनसम्मका तस्बिरहरू वेभसाइटमा प्रकाशित किन नगरेको त भन्ने प्रश्नको भने जवाफ छैन । 

सबै सूचनाहरू एउटै छातामुनि भनेर लेखिए पनि वेवसाइटभित्र भने धेरै कुराहरू आपंmैं मिलाएर बुझ्नुपर्ने अवस्था छ । त्यो भनेको वेभसाइटमा कुनै कुराहरू पारदर्शी तरिकाले राखिएका छैनन् ।

वेभसाइटका परिचय खण्डमा कांग्रेस भनेको के हो भन्नुको साटो वेभसाइट किन बनाइयो भन्ने कुरा राखिएको छ ।

हाम्रो बारेमा भित्र केन्द्रीय कार्यसमितिको अर्को क्याटेगोरी छ । उक्त क्याटोगोरीले पनि पार्टीको डिजिटल सिस्टमलाई जिस्क्याएको छ । नेपाली कांग्रेसका केन्द्रीय कार्यसमितिका पूरै सदस्यहरूको तस्बिर पनि अपडेट भएको छैन । अझ रमाइलो कुरा त केही पदाधिकारीबाहेक अधिकांश सदस्यहरूका फेसबुक आइकनमा क्लिक गरियो भने पार्टीकै वेवसाइट खुल्ने गरेको छ । 

कांग्रेसका आगामी कार्यक्रमहरू के के हुन् भनेर खोजियो भने केही पनि भेटिँदैन् । सब डोमेनका रूपमा जिल्ला कार्यसमितिहरू, भ्रातृ संस्थाहरू, शुभेच्छुक संस्थाहरू, नेपाली जनसम्पर्क समितिहरू, केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, केन्द्रीय निर्वाचन समिति, संघीय संसदीय दल, प्रदेशसभा संसदीय दलहरू राखिएको छ । तर त्यसमा क्लिक गर्दा पेजहरू खाली नै छोडिएको छ । 

भ्रातृ संस्थाको रूपमा नेपाल तरुण दलका अध्यक्षको हैसियतमा जितजंग बस्नेतले दिएको शुभकामना सन्देश अहिले पनि छ भने त्यसबाहेक केही पनि अपडेट छैन । अन्य भ्रातृ संस्थाहरूको सब डोमेनमा कुनै पनि कुराहरू अपडेट भेटिँदैन । नेपाली कांग्रेसले २०७७ सालमा केही परिमार्जन गर्दै अहिलेको वेवसाइट सञ्चालनमा ल्याएको हो । वेबसाइटमा ‘अनलाइन संग्रहालय’, ‘अनलाइन लाइब्रेरी’समेत राखिएको छ । संग्रहालयमा पुराना केही तस्बिर र भिडियोहरू राखिएका छन् भने अनलाइन लाइब्रेरीमा अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाको पुस्तक ‘ड्रिम्स फ्रम माई फादर’ तथा लक्ष्मीप्रसाद देवकोटा र बीपी कोइरालाका चर्चित पुस्तकहरू डाउनलोड गरेर पढ्न मिल्ने गरी राखिएको छ । पार्टीका केही पुराना दस्तावेज र विधानहरू पनि कांग्रेसको वेबसाइटमा राखिए पनि पछिल्ला गतिविधिहरू अपडेट नहुँदा कांग्रेस समर्थकहरूले खिन्नता व्यक्त गरेका छन् । 

१४ औं महाधिवेशनपछि प्रविधि मैत्री कांग्रेस बनाउने उद्घोष गरिए पनि वेवसाइटमा २०७९ सालको संघीय निर्वाचनको घोषणापत्र पनि नभेटिनु झनै आश्चर्यको विषय भएको छ । यसैगरी नेपाली कांग्रेसले पार्टी कार्यालयमा गरेको पत्रकार सम्मेलनको फोटो र भिडियोसमेत अपडेट गर्न सकेको छैन भने समाचार संकलनका लागि टेलिफोन गर्दा सम्पर्कमा पनि नआउनुलाई कांग्रेसको सञ्चार नै लाजमर्दो अवस्थामा रहेको प्रष्ट भएको छ । 

उता, संसद्को दोस्रो ठूलो दल नेकपा एमालेले भने आफ्नो वेवसाइटलाई ‘अप टु डेट’ राखेको छ । उसले दैनिकजसो कार्यक्रमका सामग्रीहरू वेवसाइटमा प्रकाशित गर्ने गरेको हो । त्यसका लागि टिम नै खटिएको एमाले प्रचार विभागले जनाएको छ ।