देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

 एमालेमा ओली विरोधीलाई निषेध

देशान्तर

काठमाडौं । एमाले माओवादी एकीकरणपछि २०७४ मा झन्डैझन्डै दुई तिहाई बहुमत प्राप्त नेकपाको अध्यक्ष रहेका केपी शर्मा ओलीको दम्भ अहंकार र घमण्डले पार्टी एकता त भंग भयो नै बहुमत पनि टिकेन उनको सग्लो पार्टी समेत फुटेर माधव नेपालसहितका नेताहरूले अर्को पार्टी गठन गर्न बाध्य भए । पार्टीमा ओलीको हिटलरी शैली आज पर्यन्त कायम छ ।

ओलीले केही समयअघि ओलीबिनाको एमालेको कल्पना नगर्न भन्दै अझै २० वर्ष आफू सक्रिय हुने भनेर भएर अरूलाई निषेध गरिसकेका छन् । उनको विरोध गर्ने जो कोही कोपभाजनमा पर्ने गरेका छन् । पछिल्लो पटक त्यस्को सिकार भएका छन (एमाले)का पूर्वउपाध्यक्ष डा.भीम रावल । रावल पार्टीमा अहिले जिम्मेवारीविहीन अवस्थामा छन् । कुनै समयमा सुदूरपश्चिममा एमालेको खम्बाको रूपमा मानिने रावल ओलीको प्रतिशोधका कारण एमाले छोडने अवस्थामा पुगेका छन् ।

एमालेको चितवनमा भएको १० औं महाधिवेशनमा रावल अध्यक्षका उम्मेदवार थिए । ओलीसँग रावल पराजित भए । महाधिवेशनमा ओलीसँग प्रतिस्पर्धा गरेको र ओलीको गलत काम तथा कार्यशैलीको आलोचना एवं कडा विरोध गरेकै कारण उनलाई पार्टी राजनीतिमा जिम्मेवारविहीन बनाइएको थियो । अहिले ओलीले रावललाई पार्टी छोड्न बाध्य बनाएका छन् । दसौं महाधिवेशनमा रावलले ओलीसँग अध्यक्षमा चुनावी प्रतिस्पर्धा गरेपछि ओली र रावलबीचको सम्बन्ध चिसिएको मात्र होइन बोलचाल नै बन्द भएको थियो ।

एमालेमा विगतदेखि नै अध्यक्ष पदबाट पराजित नेतालाई सम्मानित वा वरिष्ठ नेताको पद दिने चलन थियो । तर रावलको हकमा भने त्यो पनि लागू भएन । गत मंसिरमा एमालेले गरेको मध्यपहाडी लोकमार्गको झुलाघाटदेखि चिवाभन्ज्याङसम्मको संकल्प यात्रामा पनि रावललाई ओलीको अनिच्छाका कारण एमालेले कहीँ पनि समावेश गराएन । ओलीको पेलानमा परेका रावलले गत आम निर्वाचनमा टिकट पाएनन । 

हालै वैशाख ८ र ९ वैशाखमा ललितपुरको गोदावरीमा भएको एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा रावललाई सहभागी हुन दिइएन । रावलले आफूमाथि प्रतिशोध साँधेर प्रतिनिधि परिचयपत्रसमेत नबनाइदिएपछि बैठकमा आफू उपस्थित नभएको सार्वजनिक गरिसकेका छन् । गत बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै रावलले आफू राजनीतिको एउटा घुम्तीमा पुगेको बताएका थिए । रावलले पार्टीभित्रको निषेधित राजनीतिको कारण आफू नयाँ घुम्तीमा पुगेको बताएका थिए । उनले आफूलाई एमाले अछाम जिल्ला अधिवेशन हुँदै राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा समेत निषेध गरिएको गुनासो गरेका थिए । ओलीसँग पार्टीको १०औं महाधिवेशनमा प्रतिस्पर्धा गरेकै कारण आफूलाई निषेध गरिएको उनको निष्कर्ष छ । महाधिवेशन प्रतिनिधि परिषद्को सदस्यको हैसियतले त्यहाँ भाग लिन नै नदिने, त्यहाँ परिचयपत्र नै नदिने, पार्टीको एक जना मान्छे गएर भीम रावल भनेको को हो ? किन पठाउन पर्ने ? हामीले नपठाएकै हो भन्ने ?’ प्रश्न गर्दै उनले आक्रोश पोखेका थिए ।

ओलीको स्वेच्छाचारी शैलीका कारण पार्टीका नेताहरू एमाले छोड्न बाध्य हँुदै गरेको वाम विश्लेषकहरूको भनाइ छ । ओलीको विकल्पमा पूर्वउपाध्यक्षसमेत रहेकी विद्यादेवी भण्डारीलाई अगाडि सार्न एमालेका दोस्रो तहका नेताहरू लागेको बुझेपछि ओलीले विद्यालाई रोक्ने रणनीतिअनुसार गोदावरीमा भएको एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा उनलाई पार्टीका तर्फबाट राष्ट्रिय गौरव पदकबाट सम्मान गरेका थिए ।