देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कतारी अमिरको भ्रमण…फुस्सा


नेपालले निकै महत्व दिएको कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको गत साता भएको नेपालको दुई दिने राजकीय भ्रमणका क्रममा दुई देशबीच जति सहमति हुनुपर्ने थियो, सरकारकै कम तयारी र कमजोरीका कारण हुन सकेन । अल थानीको भ्रमणका दौरान बुधबार दुई देशबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने सहमति भए पनि मुख्य चासो रहेको श्रम सम्झौता पुनरावलोकनको विषयमा कुनै सहमति हुन सकेन र १९ वर्ष पुरानो श्रम सम्झौताकै आधारमा नेपाली श्रमिक कतार जानुपर्ने नै भएको छ । जुन तामझामका साथ ठूलो आर्थिक सहयोगको अपेक्षा गरिएको थियो, तर अमिरको भ्रमण ‘हात्ती आयो हात्ती आयो फुस्सा’मा परिणत भएको छ । 

श्रम सम्झौतालाई छाडेर कतारी अमिरको भ्रमणका क्रममा संस्कृति र कला, सरकारी तहमा समाचार आदानप्रदान, शिक्षा तथा उच्च शिक्षा र वैज्ञानिक अनुसन्धान, युवा र खेलकुद, कानुनी, कूटनीति, शिक्षा तथा निजी क्षेत्रलगायत विषयमा समझदारी र सम्झौता भएको हो । सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापनापछि कतारबाट पहिलो पटक भएको अमिरको भ्रमणका क्रममा नेपालले श्रम सम्झौता पुनराबलोकन गर्ने तयारी गरेको थियो । तर, नयाँ श्रम सम्झौताको मस्यौदा समयमै कतारलाई दिन नसक्दा त्यो विषयमा अमिर अल थानीको भ्रमणका क्रममा छलफलसमेत हुन सकेन । अमिरको भ्रमणभन्दा पहिल्यै निकै प्रचारबाजी, उनलाई हालसम्मकै ठूलो सम्मान प्रदान र चर्चा गरिए पनि उपलब्धि भने सामान्य रहेको भन्दै कूटनीतिक क्षेत्रका जानकारहरूले उच्चस्तरीय भ्रमणमा हुने सम्झौता तथा समझदारीका लागि नेपालले नै कम तयारी गरेको बताएका छन् । 

कतार वैदेशिक रोजगारीका लागि नेपाली श्रमिकको एउटा मुख्य गन्तव्य हो । त्यहाँ अहिले पनि साढे ३ लाखदेखि ४ लाख हाराहारी नेपाली श्रमिक कार्यरत छन् । उनीहरूले त्यहाँ पाउनुपर्ने सेवासुविधा, उनीहरूको मानवअधिकार, घरेलु कामदारको अवस्था तथा एमनेस्टी इन्टरनेसनललगायत मानवअधिकार सम्बद्ध संस्थाहरूले उठाएका विषयमा यो राजकीय भ्रमणका क्रममा छलफल नै नहुनुले नेपाल सरकारको तयारी र कच्चापन छर्लंंग भएको छ । 

कतारी अमिरको भ्रमणलाई सरकारले निकै महत्व दिएको थियो । भ्रमणको पहिलो दिन मंगलबार सार्वजनिक बिदा दिइएको थियो । अमिरलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल नै विमानस्थल पुगेका थिए भने बिदाइमा पनि उनी विमानस्थल पुगे । कतारी अमिरलाई नेपालले दिएको सम्मानलाई कतार सरकारले पनि प्रशंसा ग¥यो । तर, कतारसँग नेपालले जुनजुन विषयमा छलफल गर्नुपर्ने थियो, तिनै विषयमा छलफल नै नगरेर केवल सद्भावना भ्रमणका रूपमा मात्रै स्थापित गरिदिएको जानकारहरू बताउँछन् । 

मध्यपूर्वी मुलुक कतार आर्थिक रूपमा बलियो देश हो । खाडी मुलुक भए पनि उसको आर्थिक प्रगति लोभलाग्दो छ । कतारको वायु सेवा कतार एयरवेज विश्वमै प्रख्यात छ । नेपालका दुई नयाँ विमानस्थल भैरहवा र पोखरामा पनि कतारले उडान थप गर्न सक्छ । तर, यसमा सरकारले सामान्य छलफल मात्रै ग¥यो । कतारलाई यी दुवै विमानस्थलमा उडान सञ्चालनका लागि सकारात्मक बनाउन पनि सकेन । 

कतार एउटा यस्तो देश हो, जहाँ प्यालेस्टिनी लडाकु समूह हमासको राजनीतिक कार्यालय छ । गाजामा जारी युद्धको विषय पनि कतारसँँग जोडिएको छ । इजरायल र हमासबीच युद्धविराम गराउन कतारले मध्यस्थता गरिएको छ । सात महिनादेखि त्यही हमासको कब्जामा छन् कञ्चनपुरका विपिन जोशी । कतारको मध्यस्थतामा हमासले आफ्नो कब्जामा रहेका कयौं विदेशीलाई मुक्त गरिदिएको छ । विपिनलाई मुक्त गराउन पनि नेपालले कतारको साथ खोजिरहेको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले विपिनको रिहाइका लागि हमाससँग मध्यस्थता गरिदिन कतारी अमिर अल थानीलाई आग्रह त गरे, तर, अल थानीले ठोस जवाफ दिएनन् । कतारी अमिरले चाहँदामात्रै पनि विपिनको रिहाइ सम्भव छ । यसमा पनि सरकारले पूर्ण कूटनीतिक पहल गर्न नसकेको हो कि भन्ने देखिएको छ । कतारको मनोभाव, संघर्षको इतिहासलाई नबुझीकन नेपालले अपेक्षा गरेको तर, त्यसलाई स्पष्ट रूपमा प्रकट गर्नसमेत नसकेको जानकारहरू बताउँछन् ।