देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देउवालाई जितभन्दा गुट प्यारो

देशान्तर


काठमाडौं । इलाम क्षेत्र–२ को संघीय र बझाङ क्षेत्र नम्बर १ (क)को प्रदेशसभा सदस्यका लागि हुने उपनिर्वाचनको वस्तुपरक यथार्थ बुझ्न पदाधिकारीलाई नै पठाए पनि कांग्रेस सभापति शेरबहादुर देउवाले अन्ततः उम्मेदवार छनोटमा न ग्राउन्ड रियालिटीको रियलाइज गरे न कांग्रेसले तोकेको मापदण्ड नै पालना गरे । उल्टै पेलपाल पारेर केवल आफ्नै गुटको कुरा सुनेर इलाममा डम्बरबहादुर खड्का र बझाङमा अभिषेक सिंहलाई उम्मेदवार छनोट गरे । इलाममा संविधानसभा अध्यक्ष एवं एमाले नेता सुवासचन्द्र नेम्वाङको निधनपछि उपनिर्वाचन हुन लाग्दा बझाङमा कांग्रेस प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको निधनपछि रिक्त रहेको क्षेत्रमा चुनाव हुन लाग्दा सभापति देउवाले चुनावको जितभन्दा पनि आफ्नै गुटलाई प्राथमिकता दिएर उम्मेदवार छनोट गरेका हुन् ।


अरू दलले उम्मेदवार छानेर चुनावी गतिविधि सुरु गरिसक्दा पनि सबैभन्दा ठूलो र पुरानो दल नेपाली कांग्रेसले भने उम्मेदवार छनोटको रस्साकस्सीलाई तीन दिन लम्ब्याएको थियो । वरिष्ठ नेता डा. शेखर कोइराला, पूर्वमहामन्त्री शंशाक कोइराला, महामन्त्रीहरू गगन थापा, विश्वप्रकाश शर्मालगायतले इलामको अवस्था र सम्भावनाबारे प्रस्ट पार्दापार्दै पनि देउवाको एकलौटीमा उम्मेदवार चयन गरिएको हो । देउवाले एकलौटी गरेको यो पहिलो पटक भने हैन । अघिल्लो आम निर्वाचनमा पनि उनले गठबन्धनको बहानामा इतर पक्षका धेरै योग्य उम्मेदवारलाई पाखा लगाएका थिए । यसपटक उम्मेदवार छनोटको छलफलमा नेताहरूले सुझावको पालना नगरे यदि पार्टीको हार भएमा त्यस्को जिम्मा आपंmैंले लिन देउवालाई भनेका थिए । तर देउवा टसमस भएनन् र आफ्नो ढिपी पनि छाडेनन् । यद्यपि आन्तरिक रूपमा कांग्रेस एक ढिक्का भए दुवै सिटमा कांग्रेसले नै जित्ने सहमहामन्त्री भीष्मराज आङ्देम्बेको दाबी छ ।


विधानतः अब सभापति बन्न नपाउने भएकाले यतिबेला देउवा आफ्नो गुटको संरक्षण गर्दै पत्नी आरजु राणा देउवालाई पार्टी सत्तामा स्थापित गराउने योजनामा छन् । त्यसका लागि उनले इतर पक्षको जायज सुझाव पनि ग्रहण नगर्ने गुटलाई नै मलजल गर्ने काम गरिरहेको यस्ले पार्टीलाई हित नगर्ने कांग्रेस निकट बुद्धिजीवीहरूको बुझाइ छ । इलाममा यसअघि गठबन्धनबाट चुनाव लड्दा सुवास नेम्बाङसँग ११४ मतले पराजित भएका डम्बरबहादुर खड्कालाई कांग्रेसले उमेदवार बनाउँदा एक नम्बरमा सिफारिस भएका भेषराज आचार्य टिकटबाट वञ्चित भएका हुन् । यी दुईबाहेक इलाम उम्मेदवारको लागि केशव थापा, रमेश लिङ्देन, नगेन्द्र कुमाल, चन्द्रमाया लिम्बू र शान्तिकला राई तामाङलगायतको नाम पनि सिफारिस भएको थियो ।


त्यस्तै, बझाङ प्रदेशसभामाका लागि जगतप्रसाद जोशी अभिषेक सिंह, सत्यराज भण्डारी, विष्णुकुमार सिंह, नन्दकृष्ण जोशी, अर्जुन स्याडाँ, ध्रुवराज उपाध्याय, लोकेन्द्रबहादुर रोकाया, शान्तिकुमारी बोहरा र नारायण हमालको नाम सिफारिस भएको थियो । बझाङमा सिंह उम्मेदवार बनेका छन् । बझाङ प्रदेशसभा १ का सांसद एवं सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको गत असार ५ गते सवारी दुर्घटनामा परी निधन भएको थियो । अहिलेका उम्मेदवार उनकै छोरा हुन् ।
उनलाई सहानुभूतिको भोट आउने आकलन गरिएको छ । दुर्घटनामा उनका बाबुमात्र हैन आमा अमृताको समेत निधन भएको थियो ।