देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सन्तुलित बजेट ल्याउछौँ : अर्थमन्त्री पुन

देशान्तर


काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले सन्तुलित ढङ्गले आगामी आर्थिक वर्षको बजेट ल्याइने बताएका छन् । प्रतिनिधिसभाअन्तर्गत अर्थसमितिको आज सिंहदरबारमा बसेको बैठकमा उनले स्रोतसाधन र सीमामा रहेर बजेटमा सन्तुलन कायम गरिने विश्वास व्यक्त गरे ।
अर्थमन्त्री पुनले अघिल्लो सरकारले गरेका कामलाई पनि समेटेर अहिलेको आवश्यकता र सान्दर्भिकताअनुरुप बजेट ल्याइने उल्लेख गरे । बजेटमा राष्ट्रिय प्राथमिकता तथा राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिइने उनको भनाइ छ ।
संविधानले परिकल्पना गरेको समाजवादउन्मुख राष्ट्रिय अर्थतन्त्र निर्माण गर्ने प्रतिबद्धतालाई आत्मसात् गर्दै उत्पादनमूलक क्षेत्र, कृषि, उद्योग, पर्यटन, शिक्षा, स्वास्थ्य, सूचनाप्रविधिलगायत विषयलाई आगामी बजेटले समेट्ने अर्थमन्त्री पुनले जानकारी दिए ।

कृषिको आधुनिकीकरण गर्दै निर्वाहमुखीबाट व्यावसायिक बनाउँदै कृषिमा ठूलो जनशक्तिलाई सहभागी गराउने नीति पनि बजेटको प्राथमिकतामा पर्ने उनले बताए । उनका अनुसार जलविद्युत्को विकास र व्यापारलाई तीव्रता दिनेगरी बजेटमा सम्बोधन गर्नेछ । 
आजको अर्थसमितिको बैठकमा अर्थमन्त्री पुनले आगामी पाँच वर्षमा पाँच खर्ब बराबरको ‘सफ्टवेर’ निर्यात गर्न सकिने एक अध्ययनले देखाएको भन्दै आगामी बजेटमा यो क्षेत्रलाई विशेष प्राथमिकता दिइने उल्लेख गरे । 
मन्त्री पुनले कृषि, ऊर्जा, पर्यटन, शिक्षा, स्वास्थ्यलगायत विषयलाई प्राथमिकता दिएर बजेट ल्याउन सांसदहरुले उठाएका विषय र सुझावलाई सम्बोधन गरिने विश्वास व्यक्त गरे । 
समितिका सभापति सन्तोष चालिसेले बजेटले उत्पादन र निर्यातमूलक क्षेत्र, विद्युत् उत्पादन र बजार प्रवर्द्धनलगायत विषयलाई ध्यान दिनुपर्ने सुझाव दिए । उनले पर्यटन प्रवर्द्धन, कृषिको आधुनिकीकरणलगायत क्षेत्रलाई बजेटमा समेटिनुपर्ने धारणा राखे ।

अर्थ समितिले आव २०८१/८२ का लागि विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त (कर प्रस्तावबाहेक) सम्बन्धी अर्थमन्त्रीसँग छलफल गरेको हो । समितिका सदस्यले बजेट पहुँचका आधारमा नभई आवश्यकताका आधारमा विनियोजना गर्न सुझाव दिएका  छन् । उनिहरुले राष्ट्रिय प्राथमिकताप्राप्त आयोजना, रुग्ण आयोजनालाई चाँडो सम्पन्न गर्नेगरी बजेट विनियोजना गर्न अर्थमन्त्रीसमक्ष माग गरे ।
पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पहुँचका आधारमा नभई आवश्यकताका आधारमा बजेट ल्याइनुपर्ने बताए । उनले आगामी बजेटमा मुलुकलाई दिगो आर्थिक विकास लक्ष्य हासिल गर्ने, अधुरा आयोजनालाई पूर्णता दिने, सन्तुलित विकासको आवश्यकता पहिचान गरी बजेट ल्याइनुपर्ने धारणा राखे ।

सांसद सूर्य थापाले अर्थतन्त्रलाई सुदृढ बनाई सञ्चालित आयोजनालाई चाँडो सम्पन्न गर्नेगरी बजेटमा समेट्न माग गरे । सांसद दिपक खड्काले पुँजीगत खर्च नहुने विगतको परम्परालाई तोड्नेगरी बजेट ल्याउन आग्रह गरे । सांसद नारायणी शर्माले कार्यान्वयनमुखी बजेट ल्याउनुपर्ने धारणा राखिन । सांसद मेटमणि चौधरीले पुँजीगत खर्चको टिठलाग्दो अवस्थालाई मध्यनजर गर्दै जनताको आवश्यकतालाई ध्यानमा दिएर सन्तुलित बजेट ल्याउन माग गरे । सांसद नारायणप्रसाद भट्टराईले राष्ट्रिय गौरवका आयोजनाको गति बढाउनेगरी बजेट आउनुपर्ने भनाई राखे ।  रास/