देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नाउपाको घरझगडा ‘बार्गेनिङ’

देशान्तर

काठमाडौं । हिन्दी सिनेमाको एउटा चर्चित गीतको बोल छ,– ‘कही पे निगाहे, कही पे निशाना’ भने जस्तै नेपाली राजनीतिमा नयाँ उदाएको क्षेत्रीय पार्टी नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले बदलिएको सत्ता गठबन्धनको राजनीतिमा सुदूरपश्चिमको सरकारको नेतृत्व हत्याउन केन्द्रमा नयाँ गठबन्धन र प्रदेशमा कांग्रेसलाई साथ दिएर एकै निशानामा केन्द्रमा मन्त्री र प्रदेशमा मुख्यमन्त्री प्राप्त गर्न संस्थापक रेशम चौधरी र उनकी श्रीमती रञ्जिता श्रेष्ठको घरझगडाको नौटंकी देखाउँदै ढकिया थापेर ‘बार्गेनिङ’ गरेको छ । 

अघिल्लो गठबन्धनमा मन्त्री पद पड्काएकी पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले अहिले पनि गठबन्धनमा मन्त्रिपद्को ढकिया थापेर खुट्टा उचालेर बसेको लुकेको छैन । उनको योजनालाई मूर्तरूप दिन मात्र हैन सुदूरपश्चिम प्रदेशमा समेत निर्णायक मानिएको नाउपालाई दुवै हातमा लड्डु दिलाउन लागेका छन् अध्यक्ष श्रेष्ठ र निर्वाचन आयोगले अध्यक्ष हुन अयोग्य ठह¥याएका नाउपाका संरक्षक रेशम चौधरी दम्पती । तर दुनियाँलाई देखाउनका लागि भने उनीहरूबीच विमति रहेको नाटक मञ्चन गरिरहेको राजनीतिक वृत्तमा टिप्पणी छ । 

प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिनुहुन्न भन्ने पक्षमा चौधरी र दिनुपर्छ भन्ने पक्षमा श्रेष्ठ रहेको देखाउन केन्द्रीय सदस्यहरूको बैठकबाट विश्वासको मत नदिने निर्णय चौधरीले गराए भने श्रेष्ठले विश्वासको मत दिन ह्विप जारी गरिन् । त्यसपछि चौधरीले लामो स्टाट्स लेखे फेसबुकमा जुन स्टाट्सले दुई जनाबीच गहिरो विमतिको अर्थ लाग्ने खालको थियो । कतिपयले त चौधरीको स्टाटसको ट्रोलसमेत बनाए । 

चौधरीले पार्टीको अवस्थाबारे व्याख्या गर्दै आफ्नो र रञ्जिताको अडानबारे लेखेका थिए । ‘विषय जित हारको होइन, आज जिते प्रचण्ड, ओली जित्लान् । भोलि फेरि देउवा जित्लान्’ उनले लेखेका छन्, ‘सरकार निर्माणका लागि बन्ने जुनसुकै गठबन्धन भनेको साना दललाई सिध्याउने नै हो । त्यसैले हामी कसैका पछाडि नलागौं, आफ्नो पार्टी निर्माणमा जुटौं ।’

जुनसुकै गठबन्धनका पछि लाग्नु भनेको पार्टी डुबाउनु हो भन्दै रेशमले ‘सन्दर्भ ः घर झगडा हुँदै होइन, विषय राजनैतिक हो । मैले जानेको बुझेको यही हो । आज पनि हेर्नुस्, एमाले, माओवादी, कांग्रेस । यी ठूला दलका नेता, कार्यकर्ता सांसद कतै चल्मलाएका छन् र तर एकीकृत समाजवादी, जसपा, नाउपा, लोसपा, रास्वपा, राप्रपाजस्ता साना दलमा कत्रो भुइँचालो गएको छ ?’ आफू र श्रीमती रञ्जिताको विषयमा लेख्दै उनले ‘म उनलाई सम्झाउन कैलालीबाट काठमाडौं आएकै हुँ । दुई घण्टा वार्ता गरेकै हुँ, उनी टस कि मस भइनन् । उनको भनाइ छ– प्रचण्डले हाम्रो राजबन्दी रिहाइ गरे, हामीले उनको साथ छोड्नुहुन्न ।’ उनले टीकापुर घटनापछि पनि प्रचण्ड दुईचोटी प्रधानमन्त्री भएको तर रिहा नगरेको उल्लेख पनि गरे । ‘अहिले पनि कसैको कृपाले राजबन्दी रिहाइ गरेका होइनन्, दुई लाख अठहत्तर हजार जनताको भोटले हामी रिहाइ भएका हौँ र तिमी पनि मन्त्री भएकी हौं । नागरिक उन्मुक्ति पार्टीले पाउने एक मन्त्रालयबाट हामीले केही उखेल्नेवाला छैनौं । जताबाट पनि भलो ठूलै दलको हुने हो, हामी एउटा मन्त्रालय लिएर सरकारमा सहभागी हुनु भनेको सिद्धिनु हो’ । उनले अगाडि लेखेका थिए, ‘मेरा कारण लाखौँ जनताको मन दुःखेको मलाई अनुभूत भएको छ, त्यस कारण म क्षमा चाहन्छु तर पहिचानको आन्दोलनको सिपाही हुँ । कहिल्यै हार मान्नेवाला छैन । म अब आफ्नो घरपरिवारको भन्दा जनताको मान्छे हुँ । रञ्जितालाई सम्झाउन नसक्नु मेरो विवशता हो, हार होइन ।’ मैले तिमीलाई सम्झाउन सकिन प्रिय र आफूले जन्माएको बच्चाको घाँटी निमोठेर हत्या गर्न पनि सक्दिनँ । आज लोग्ने—स्वास्नीका कारण पार्टी डुब्ने भो भन्छन् । मलाई चिन्ता यसैमा छ, तिम्रो र मेरा कारण जनताको मन दुख्नु हुन्न । आज जतिले मन दुखाएका छन् ती हामीलाई हृदयदेखि चाहनेवाला हुन् । मलाई भोट हाल्, मलाई भोट हाल भन्नेहरू हामीलाई डुबाउने वालामात्रै हुन् । मेरो कुरा मान्ने हो भने कसैलाई भोट नहालौँ टण्टै साफ ।

रेशमले लेखेको मैले तिमीलाई सम्झाउन सकिन प्रिय वाक्य ट्रोल बनेको थियो । रेशमको स्टाटसले पार्टीभित्र गहिरो मतभेद रहेको अर्थ लागे पनि जब प्रचण्डलाई विश्वासको मत दिएर रञ्जिता प्रसन्न मुद्रामा प्रचण्ड र ओली सँगसँगै सदनमा ओहोरदोहोर गर्दै प्रचण्डसँगै उभिएर फोटो सेसन गरिरहेकी थिइन्  । यसबाट प्रस्ट हुन्थ्यो कि उनी संघमा एक थान मन्त्री पदको लागि ढकिया थापेर मन्त्रालयतिर नजर लगाएर बसिरहेकी हुन् भने रेशमको निशाना सुदूरपश्चिमको प्रदेश सरकार हो ।  

उनिहरूबीचको यो नाटक हो भन्ने रञ्जिताकै भनाइबाट पनि पुष्टि हुन्छ । विश्वासको मत दिएर संसद् बाहिर पत्रकारसँग कुरा गर्दै उनले पार्टीभित्र फरकफरक विचार हुनु स्वाभाविक भएको र यसले पार्टीलाई कुनै असर नगर्ने बताउँदै चौधरीले फेसबुकमा स्ट्याटस लेख्दा आफू पनि सँगै रहेको जनाकारी दिएकी थिइन् । एउटै खाटमा बसेर श्रीमान्ले लामो स्टाट्स लेखेर पोस्ट गर्ने श्रीमतीले पढ्ने दुनियाँलाई भ्रमित पार्ने आफ्नो ढकिया भर्ने र लिने फाइदा, नाउपाको यो कस्तो काइदा ? भनेर अहिले बजारमा व्यंग्य भइरहेको छ ।