देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

माओवादीको अब ३०

देशान्तर

काठमाडौं । चारदलीय समाजवादी मोर्चा बनाउँदा छुटाइएका अनि पार्टी एकीकरणको नाममा माओवादी केन्द्रबाट झुलाइएका र पछिल्लो नयाँ गठबन्धनप्रति असन्तुष्ट रहेका नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले ३२ सिटको माओवादीलाई ३० सिटमा झार्न लागिपरेका छन् । 

भट्टराईले आम निर्वाचनमा नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट संघ र प्रदेशमा जितेका आफ्ना पार्टीका जनप्रतिनिधिलाई छुट्टै दलको रूपमा अभिलेख गर्ने प्रक्रिया अगाडि बढाएका हुन् । 

यसका लागि माओवादी केन्द्रको चुनाव चिह्नबाट चुनाव जितेकाहरूमध्ये आफ्ना पार्टीका जनप्रतिनिधिलाई छुट्टै दलको रूपमा अभिलेख गरिदिन माग गर्दै नेसपाले निर्वाचन आयोग र संघीय संसद् सचिवालयमा निवेदन दिइसकेको छ । संघीय संसद्मा नेसपाका दुई सांसद छन् । प्रत्यक्षतर्फ सर्लाही– ३ बाट महिन्द्र राय यादवले निर्वाचन जितेका हुन् भने बारा– २ बाट उमरावती देवी समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य रहेकी छिन् । 

यस्तै, बागमती प्रदेशसभामा नेसपाका एक जना सांसद छन् । सिन्धुली–२ (ख)बाट गंगानारायण श्रेष्ठले निर्वाचन जितेका हुन् । त्यस्तै गण्डकीमा पनि नेसपाका एक सांसद छन् । प्रदेशसभामा गोरखा–२ (ख) बाट फणीन्द्र देवकोटा निर्वाचित भएका हुन् । उनी नेसपाको सांसद हुँदा गण्डकीमा नयाँ गठबन्धनको सरकार बनाउन बहुमत पुग्दैन । 

निर्वाचन आयोगमा गएको नेसपाको निवेदनबारे आयोगले हालसम्म कुनै निर्णय लिइसकेको छैन । निर्णयको प्रक्रियामा रहेको आयोगको भनाइ छ । यसैगरी, नेसपाले संघीय संसद् सचिवालमा पनि दुई जना सांसदलाई नेसपाको सांसदको रूपमा विवरण अभिलेख गरिदिन माग गर्दै दिएको निवेदन निर्णय प्रक्रियामा रहेको छ ।