देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रियसभाका नव निर्वाचित सांसदको शपथ ग्रहण हुँदै

देशान्तर

काठमाडौं । राष्ट्रियसभाका नव निर्वाचित सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् ।

गत माघ ११ गते सम्पन्न भएको निर्वाचनबाट निर्वाचित १९ जना तथा राष्ट्रपतिबाट मनोनीत हुने १ जना गरी २० सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । उनीहरूको शपथ ग्रहण कार्यक्रम बिहान ११ बजे राखिएको छ । 

जसअनुसार कोसी प्रदेश विजयी कांग्रेसका कृष्ण सिटौला र एमालेकी रुक्मिणी कोइराला, मधेसबाट जसपाकी पूजा चौधरी र कांग्रेसका आनन्द ढुङ्गाना, बागमतीमा कांग्रेसका विष्णुदेवी पुडासैनी र जीतजंग बस्नेत, माओवादीका श्रीकृष्णप्रसाद अधिकारी र एकीकृत समाजवादीबाट घनश्याम रिजाल, गण्डकीबाट माओवादीका मनरूपा शर्मा तथा कांग्रेसका पदमबहादुर परियार र किरणबाबु श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिँदै छन् ।

साथै, लुम्बिनीबाट कांग्रेसकी विष्णुकुमारी सापकोटा र माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी र कर्णालीबाट एकीकृत समाजवादीकी सावित्री मल्ल, माओवादीका विष्णुबहादुर विश्वकर्मा र कांग्रेसका कृष्णबहादुर रोकाय तथा सुदूरपश्चिमबाट कांग्रेसका बलदेव बोहराले शपथ लिँदै छन् ।

उता, हिजोबाट पदावधि सकिनेमा एमालेका ८, कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीका २ र जसपा, मनोनीत र स्वतन्त्र एक–एक जना रहेका छन्।

यसअघि निर्वाचित भएका मध्ये एमालेबाट निर्वाचित भई राष्ट्रियसभा अध्यक्षको जिम्मेवारीमा रहेका गणेशप्रसाद तिमिल्सिनासहित २० सांसदहरूको पद हिजो समाप्त भएसँगै आज नयाँ सांसदहरूले पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् ।

जसअनुसार हिजो पदावधि सकिनेमा एमालेका इन्दु कडरिया, कुमार दसौंदी, दीपा गुरुङ, दिलकुमारी रावल, नरपति लुहार, भैरव सुन्दर श्रेष्ठ र रामचन्द्र राई रहेका छन् भने कांग्रेसका  रमेशजंग रायमाझी, जितेन्द्रनारायण देव, अनिता देवकोटा र प्रकाश पन्थको पनि कार्यकाल सकिएको छ । 

यसैगरी, नेकपा माओवादी केन्द्रका विना पोखरेल, हरिराम चौधरी र महेशकुमार महरा तथा नेकपा एकीकृत समाजवादीका नन्दा चापागाईँ र सिङबहादुर विश्वकर्मा रहेका छन् । 

त्यस्तै जनता समाजवादी पार्टी, नेपालकी प्रमीला कुमारी र स्वतन्त्र सांसद खिमलाल देवकोटाको पदावधि पनि हिजो सकिएको थियो भने तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले मनोनीतमा परेकी डा.विमला राई पौड्यालको पदावधि पनि हिजो सकिएको थियो ।