देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

इजराइल र हमासबीच नयाँ युद्धविराम सोमबारदेखि सुरु हुनसक्ने

देशान्तर

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजराइल र हमासबीच नयाँ युद्धविराम सोमबारदेखि सुरु हुनसक्ने बताएका छन् । उक्त सम्झौतामा कयौँ सय प्यालेस्टिनी बन्दीको बदलामा गाजामा राखिएका दर्जनौँ बन्धकहरूलाई मुक्त गर्न सकिने छ ।
युद्धविराम गराउने लामो प्रयासमा इजिप्ट, कतार, अमेरिका, फ्रान्स र अन्यले इजराइल र हमासबीच मध्यस्थका रूपमा काम गरिरहेका छन् र वार्ता जारी छ । उनीहरूले छ साताका लागि युद्ध रोक्न र गाजामा हमासले अक्टोबर ७ मा दक्षिणी इजराइलमा गरेको आक्रमणले युद्ध सुरु भएपछि बन्दी बनाइएका इजराइली बन्दीहरूको रिहाइको माग गरिरहेका छन् ।

सञ्चारमाध्यमका अनुसार उक्त सम्झौतामा इजराइलले हिरासतमा लिएका कयौँ सय प्यालेस्टिनी बन्दीहरूको रिहाइ पनि सामेल हुन सक्नेछ । सम्झौता कहिले सुरु हुन सक्छ भनी सोधिएको प्रश्नमा बाइडेनर्ले सोमबारसम्ममा युद्धविराम हुने आशा रहेको र यसको नजिक रहेको बताएका हुन् ।
फ्रान्सेली राष्ट्रपतिका अनुसार कतारका अमिर शेख तमिम बिन हमद अल–थानी मङ्गलबार पेरिस जादैछन् । कतारले हमासका नेताहरूलाई आतिथ्यता प्रदान गर्दछ र उसले नोभेम्बरमा एक साताको युद्धविराममा सहयोग गरेको थियो ।

कुनै पनि युद्धविराम सम्झौताले गाजापट्टीको सुदूर दक्षिणमा रफाहमा स्थल आक्रमणमा ढिलाइ गर्ने इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले बताएका छन् । युद्धको करिब पाँच महिनापछि गाजापट्टीका प्रत्येक अन्य सहरी क्षेत्रमा इजराइली स्थल सेना सक्रिय भएका कारण करिब १४ लाख प्यालेस्टिनीले रफाहमा शरण मागेका छन् ।सेनाले इजराइलको युद्ध क्याबिनेटलाई रफाहबाट नागरिकहरूलाई निकाल्ने आफ्नो योजना देखाएको नेतान्याहुको कार्यालयले सोमबार बताएको थियो । यद्यपि ती विस्थापित नागरिक कहाँ जान सक्छन् भन्नेबारेमा कुनै विवरण जारी गरिएको छैन । संयुक्त राष्ट्रसङ्घले रफाहमा कुनै पनि स्थल आक्रमणविरुद्ध बारम्बार चेतावनी दिएको छ ।