देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कमजोर माओवादी तराई झर्दै  

देशान्तर

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको तेस्रो दल सत्तारूढ नेकपा माओवादीको जनाधार देशैभर कमजोर हुँदै गएको त छ नै गत संसदीय चुनावमा ३२ सिट जित्दा मधेस प्रदेशमा त नील  नै भयो ।  त्यसैको झड्का लागेर होला उस्को हालै सम्पन्न प्रथम विधान अधिवेशनबाट हुलाकी राजमार्ग केन्द्रित तराई–मधेस जनजागरण अभियान चलाउने निर्णय गरेको छ । उक्त अभियान चैत १ गतेबाट सुरु गर्ने माओवादीले जनाएको छ ।

 मधेसबाट प्रतिनिधित्व गर्ने माओवादीका प्रभावशाली नेताहरू पनि पार्टी परित्याग गर्दै लाखापाखा लागेपछि कमजोर बन्दै गएको माओवादीले मधेसलाई रिझाउन लागिपरेको छ । नागरिकता विधेयक, मिटरब्याजविरुद्धको कानुन, हुलाकी राजमार्गको काम, र निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलको कामलाई माओवादीले महत्व दिनुको कारण पनि यही हो । 

कुनैबेला चितवनका प्रचण्ड सिरहाबाट चुनाव लड्दा जित निकालेको माओवादी त्यसपछि विस्तारै कमजोर हुँदै मधेशसमा नील हुँदा छटपटिएको छ  । २०७४ सालको स्थानीय निर्वाचनमा माओवादीले मधेसका स्थानीय तहमध्ये २१ स्थानीय तहमा प्रमुख जितेको थियो । २०७९ मा सम्पन्न स्थानीय चुनावमा गठबन्धन हुँदा पनि माओवादी खुम्चिएर नौ मा सीमित भयो ।  

यसैबीच, हिजो शनिबार सिरहा नगरपालिका वडा नं १३ मल्हनिया र जनकनन्दिनी गाउँपालिका वडा नं ६ कठाल जोड्ने गरी निर्माण गरिएको कठाल–मल्हनिया–मल्टिस्पान झोलुंगेपुलको उद्घाटन कार्यक्रममा पुगेका  ‘प्रचण्ड’ले मधेसको विकासमा आफू निरन्तर लागिपर्ने  बताएका थिए । उनले मधेसको विकास नभइकन देशको विकास नहुनेसमेत उल्लेख गरे ।  मधेसको विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले तराईमा सिँचाइ विस्तार गरी र उत्पादकत्व वृद्धि गर्न सरकारले सहयोग गर्ने आश्वासन पनि बाँडेर आएका छन् ।  

यसअघि माओवादीले गत भदौ १६ गतेबाट पार्टीको पुरानो विरासत फर्काउने भन्दै ‘जनतासँग माओवादी’ नाम दिइएको ‘रूपान्तरण अभियान’ चलाएको थियो । सरकारको नेतृत्व गरेको माओवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले मधेसमा आफ्नो पकड बलियो बनाउन आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा विशेष व्यवस्था गरिने बताउने गरेका छन् ।