देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सकियो ‘सम्झनामा बालकृष्ण सम’

देशान्तर

काठमाडौँ। १२२औँ सम जयन्तीको अवसर पारेर नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा ‘सम्झनामा बालकृष्ण सम’ शीर्षकमा विचार गोष्ठी तथा अन्तक्रिया, कविता वाचन, चित्रकला र बृत्तचित्र प्रदर्शनी कार्यक्रम ललित कला प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको छ ।


नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्माको अध्यक्षतामा बुधबार आयोजित कार्यक्रममा तीनवटै प्रज्ञा प्रतिष्ठानका कुलपतिले संयुक्त रुपमा बालकृष्ण समको तस्वीरमा माल्यार्पण गरी पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरिएको थियो । 


कार्यक्रममा बोल्दै कुलपति निशा शर्माले आजको यस कार्यक्रममा प्रदर्शन गरिएको बृत्तचित्रले बालकृष्ण सम रङ्गमञ्च र साहित्यका बाहेक चित्रकलाका पनि महान् कलाकार हुन् भन्ने स्पष्ट पारेको बताइन् । उनका कृतिहरु प्रह्लाद, भिमसेनको अन्त्य, स्वास्नी मान्छे, चिसो चुल्हो लगायतका कृतिमाथि कलाकारहरुले बनाउने चित्र हेर्न आतुर रहेको कुलपति शर्माले बताइन् । 


नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले बालकृष्ण सम साहित्य र चित्रकलाका विधामा अब्बल स्रष्टा भएतापनि उनलाई नाटककारका रुपमा बढी चर्चा गरिनुपर्ने बताए । उनले तीन वटै प्रज्ञा प्रतिष्ठानको सहकार्यबाट यस कार्यक्रमको आयोजना हुनुले तीनवटै प्राज्ञिक संस्था एकै ठाउँमा छ भन्ने सन्देश दिएको बताए । उनले अब यी प्राज्ञिक संस्थाको परम्परागत कार्यशैलीलाई फरक र नयाँ शैलीबाट चलायमान बनाउनुपर्नेमा जोड दिए ।   


त्यस्तै कार्यक्रममा बोल्दै ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छलीले समको योगदानको चर्चा गर्दै सेक्सपियरको नाट्यशैलीलाई बालकृष्ण समले नेपालीकरण गरेर नेपाली नाट्य क्षेत्रमा महत्वपूर्ण योगदान दिनुभएको बताए । उनले समलाई समग्र कला र साहित्य क्षेत्रका अभिभावकको रुपमा चित्रण गरे ।


नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले स्वागत मन्तव्य दिदै यस कार्यक्रमबाट प्रज्ञा प्रतिष्ठानहरुको सहकार्यको थालनी भएको बताए । कार्यक्रममा डा. अशोक थापाले बालकृष्ण समले नाटकमा पु¥याउनुभएको योगदन र नाटकमा प्रयोग भएका बहुआयामिक पक्षलाई समेटेर ‘समको गुणात्मक नाट्य योगदान’ विषयक कार्यक्रपत्र प्रस्तुत गरेको थियो । उक्त कार्यपत्रमाथि विष्णु ज्ञवालीले टिप्पणी गरे । 


नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिवले सहजीकरण गर्नुभएको कार्यक्रममा प्राज्ञ बाबा बस्नेत, राधा कार्की, विष्णु ज्ञवाली, संध्या पहाडीलगायतले कविता वाचन गरेको थियो भने कार्यक्रममा रमेश खनालद्वारा लेखन तथा निर्देशन गरिएको बालकृष्ण समको चित्रकारितामा आधारित बृत्तचित्र समेत प्रदर्शन गरिएको थियो । कार्यक्रममा बालकृष्ण समको प्रह्लाद, भिमसेनको अन्त्य, स्वास्नी मान्छे, चिसो चुल्हो जस्ता कृतिमा आधारित चित्रकला निर्माण गर्न क्यानभास उपलब्ध गराइएको थियो ।  

कार्यक्रममा प्रज्ञा प्रतिष्ठानहरुका पदाधिकारी, नाट्यकर्मी, कलाकर्मी तथा साहित्यकारहरुको उपस्थिति रहेको थियो ।