देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शिलापत्र



सालिक टुट्छन्
सालिक कतै नयाँ बनेका छन्
सालिक कतै फेरिएका छन्
कतै लडेका छन्
बुङ्गै चोकहरू मुर्कुट्टा जस्ता
परिवर्तनका टुटफुटहरू

पानी बोकेको बादल टुटेपछि
धराको प्यास मेटिन्छ
जनजीविका सुचारु हुन्छ
धानका बाला झुलेका हरिया फाँटहरूले
जनताको हर्ष बल बढ्छ

सपनामा बोकेको आवेगको तागत
पानी बोकेर उडिरहेको बादलको भन्दा बढी
कति बढी ? कति बढी ??
पानी होइन, कोटी सूर्यको आगो हुन्छ त्यसमा
त्योसँग खेल्न सक्नेको खेलले
परिवर्तनका टुटफुटहरू आलोपालो गर्छन्

सपना देखेका आँखाहरूबाट
पोखिएको आवेग
हर्षको वर्षा बनेको वेला
सालिकहरू तोडिन्छन्
उर्लंदो नदीले गरेको तोडफोडजस्तो

तर जब सपना देखाउनेहरूको प्यास
कहिले नमेटिने हुन्छ
सुरसाको मुखजस्तो झन्झन् ठूलो हुँदै गएर
त्यति बेला सपना टुट्छ
हरिया फाँटहरू बाझो हुँदै जान्छन्
मरुभूमीकरणका पाटाहरू देखिन थाल्छन्
आफ्नाले घर छोड्छन्
अन्तको यहाँ आगमन हुन्छ

प्यास चाँडो बुझाउने लुछाचुँडीमा
नयाँ शासक रिझाउने होडबाजी चल्छ
जँड्याहाको सालिक बन्छ
अनि विकास देखाउन
रिडर बन्दा प्रस्तुत कृति
प्रोफेसर बन्न टाइटल बदलेर निडर पेस गरेजस्तो
या, टिपेक्स लगाएर नम्बर बदलेजस्तो
बनिसकेको भवनको शिलापत्र
तोडफोड गर्न सुरु हुन्छ

महाविद्वान प्रोफेसर भएजस्तै
अग्रगामी छलाङबाट भएको विकास देखाउन
त्यहाँ अर्को नयाँ शिलापत्र राखिन्छ
पुरानो भवनको नयाँ उद्घाटन गर्न
हिजो सालिकको तोडफोड आवेगको उत्क्रोशमा
अहिले शिलापत्रको नियोजित अदलीबदली
यस्तै पत्रै पत्र छ अलपत्र विकासको
बढ्दै गएको शिलापत्रको अदलीबदलीमा ।