देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भिजिट भिसा प्रकरणमा अध्यागमनका ९ अधिकृतसहित २२ जनाविरुद्ध मुद्दा दर्ता

देशान्तर

काठमाडौँ । भिजिट भिसा प्रकरणमा अध्यागमनका ९ अधिकृतसहित २२ जनाविरुद्ध लिखत कीर्ते र संगठित अपराध सम्बन्धी कसूरमा मुद्दा दर्ता भएको छ । प्रहरी प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले बिहीबार लिखत कीर्ते र संगठित अपराधमा मुद्दा दर्ता गराएको हो ।


जिल्ला प्रहरी परिसर काठमाडौँले दिएको रायसहितको प्रतिवेदनमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्यरत अध्यागमन अधिकृतहरू नरवीर खड्का, कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकाश डंगोल, पिताम्बर रिमाल र सुजन फागो तथा पहिले अध्यागमन कार्यालयमा कार्यरत रही हाल राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना तथा समन्वय शाखामा कार्यरत शाखा अधिकृत तारा बहादुर कुँवरलाई प्रतिवादी बनाएर मुद्दा दायर गर्न प्रतिवेदन दिएको थियो । अध्यागमन अधिकृत नरवीर खड्कालाई पक्राउ गरिएको भए पनि अन्य अध्यागमन अधिकृतहरू भने सबै फरार छन् ।
मुद्धा दर्ता संगै पक्राउ परेका खड्काको सम्पत्ति लगायतमा थप छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका लेखि पठाउने निर्णयसमेत भएको छ । प्रतिवादीहरूलाई लिखत कीर्तेको कसुरमा ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना तथा संगठित अपराधमा लिखत कीर्ते कसुरको आधार सजाय गरी साढे १० वर्ष कैद सजाय र १ लाख ५ हजार जरिवानाको माग गर्दै मुद्दा दायर भएको भएको छ ।