देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रविको गलेको छवि

देशान्तर


काठमाडौं । पार्टी स्थापनाको एक वर्ष नपुग्दै संसदीय राजनीतिमा अप्रत्याशित रूपमा उदाएर संसद्को चौथो दलको सभापति र संसदीय दलको नेता बन्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्दासम्म आफ्नो चुलिँदो उचाइमा दंग परेका रास्वपाका सभापति रवि लामिछानेको नागरिकता विवादपछि ३२ दिनमै सबै पद गएपछि ओरालो लाग्न सुरु गरेकोे छवि त्यसयता निरन्तर ओरालो यात्रामा छ ।
सेतो कपडा लगाएर संसद् छिरेको र त्यस्मा दाग लाग्न नदिने भनेर उन्ले बोलेको कुरा आजसम्मका घटनाक्रम हेर्दा दागैदाग लाग्ने अवस्था छ । अझ भनौं आजसम्म आइपुग्दा उनको छवि यता टाल्यो उता उदांगो भने जस्तै हँुदै आएको छ । नागरिकता र राहदानीको विवादका कारण उनको मन्त्री पद र संसद् पद खुस्किँदा चितवनमा उपनिर्वाचन गर्नु प¥यो । भलै उपनिर्वाचनमा उनलाई मतदाताले पहिलेभन्दा भारी मत दिएर जिताए । तर आज ती मतदाताको मनमा समेत चिसो पस्दै गएको छ ।
पद खुस्किएपछि गरेको पत्रकार सम्मेलनमा उनले सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि अनियन्त्रित धम्कीपूर्ण घृणावाद ओकले जस्को प्रतिक्रिया उनीविरुद्ध आजसम्म पनि आइरहेको छ । सायद यही बुझेर होला पछिल्लो पत्रकार सम्मेलनमा उनले माफी माग्दै आत्मआलोचना पनि गरे । त्यो विवादित पत्रकार सम्मेलनले गिर्दै गएको रविको साख उनको निजी ड्राइभरको शंकास्पद मृत्यु, ढाकाकुमार श्रेष्ठ प्रकरण, पोखराको खोया काण्ड हुँदै अहिले ग्यालेक्सी टेलिभिजन सञ्चालन र सहकारीको बचत हिनामिना प्रकरणसम्म आइपुग्दा उनी पूरै गलेका देखिन्छन् ।


पछिल्लो पत्रकार सम्मेलनमा उनको प्रस्तुति अरू बेलाजस्तो आक्रामक नभै रक्षात्मक देखिएको थियो । सञ्चारमाध्यम विशेषगरी कान्तिपुरले रवि र सहकारी घोटाला प्रकरणबारे सिरिजका रूपमा समाचार प्रकाशन गर्ने र उन्ले सामाजिक सञ्जाल, अनलाइन मिडियामा चुनौती र स्पष्टीकरण दिने सिलसिला केही समय चल्दै जाँदा उनले पत्रकार सम्मेलनमार्फत बचाउ र स्पष्टीकरण दिने कोसिस गरेका थिए । अरू बेला पत्रकार सम्मेलनमा उपस्थित नदेखिएका बैंकरसमेत रहेका त्यस पार्टीका अनिलकेशरी शाह र अधिवक्ता सुशील पन्तलाई दायाँबायाँ राखेर पत्रकार सम्मेलन गर्नुपर्ने र उनीहरूले समेत बचाउ गरिदिनुपर्ने अवस्थामा पुगेका छन् रवि अहिले ।


ग्यालेक्सी टेलिभिजनको सेयर लेनदेनबारे उनले पहिले बोल्दै आएको कुरा कम्पनी रजिस्ट्रारको कार्यालयमा बुझाएको लिखितनामा र औंठा छापले खण्डन गरेपछि उनी अहिले प्रक्रिया मिलानका लागि गरिएको कागजी कुरा भएको सहकारीको बचत हिनामिनामा आफ्नो संलग्नता नरहेको दाबी गर्दै आएका छन् । यसबारे संसदीय समिति, सहकारी विभागलगायतका निकायमा उजुरी पनि परेको छ । छानबिनपछि यथार्थ बाहिर आउला पनि तर अहिले ससर्ती हेर्दा रवि लामिछाने विवाद र नैतिक संकटको घेरामै छन् । उनको छवि दिनप्रतिदिन गल्दै गएको छ ।