देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दलका झण्डाले कुरूप बनेका स्रष्टा/ कलाकारका अनुहार


भनिन्छ, स्रष्टा/कलाकारको कुनै जात, धर्म, वर्ग हुँदैन । यी स्वतन्त्र हुन्छन् । कुनै बन्धनबाट मुक्त हुन्छन् । समाजमा देखे/भोगेका हरविषयमा लेख्न र कला सिर्जना गर्न यी स्वतन्त्र हुन्छन् ।

यस्तो स्वतन्त्रता स्रष्टा/कलाकारका अमूल्य निधि हुन् । यद्यपि, सामाजिक/राजनीतिक/सांस्कृतिक व्यवस्थाका सिकार स्रष्टा/कलाकार बारबार भइरहन्छन् । विश्व सन्दर्भमै हेर्दा पनि विगतमा बेलायतमा निरंकुशता रहँदा त्यहाँका स्रष्टा/कलाकार पीडित भए । आजको सबैभन्दा लोकतान्त्रिक देश दाबी गर्ने अमेरिकामा पनि बेलायती उपनिवेशताका धेरै स्रष्टा/कलाकार पीडित भए । छिमेकी भारतमा पनि यस्तो अवस्था थियो ।

नेपालको सन्दर्भमा त हामीले देखे/भोगेकै छौँ । राणाकालमा विशेष नेपाली स्रष्टाले जेलमै ज्यान गुमाउनुपर्ने अवस्थासमेत भयो । पञ्चायतका कठोर यातना पनि भोगे नेपाली स्रष्टाले । स्वतन्त्रता र अधिकारको वकालत गर्दा स्रष्टा/कलाकारहरू राजनीतिक कारणले नै पीडित बन्ने गरेका यथार्थ छ । तर पनि स्रष्टा/कलाकारहरू कुनै न कुनै राजनीतिक दलका झण्डामुनि बस्न रुचाउँछन्, यो आश्चर्य बनेको छ ।

ठूला राजनीतिक परिवर्तनका समयमा स्वतन्त्रता र अधिकारका लागि सडकमै उत्रनु अन्यथा नमानिएला स्रष्टा/कलाकारहरू तर सधैँ राजनीतिक दलका झण्डा बोकेर हिँड्नु शोभनीय लाग्दैन ।

अझ स्रष्टा/कलाकारहरूलाई राजनीतिक दलका भ्रातृ/शुभेच्छुक संगठन चाहिएको छ । अमूक दलका अनेक संगठन खोलेर दलका झण्डा बोकेर दल र नेताका जयजयकार र भक्तिगान गरेर निहित स्वार्थ पूर्ति गर्ने लोभले स्रष्टा/कलाकारलाई स्वतन्त्र र निष्पक्ष हुन दिएको छैन ।

अमूक दल र नेताका कार्यकर्ताका हैसियतमा झरेपछि स्रष्टा/कलाकारको समाज, दललाई खबरदारी गर्ने भूमिका स्वतः विचलित हुन्छ । अन्य कार्यकर्ताझैँ दल र नेताका कठपुतलीको स्तरमा रहन्छन् उनीहरू ।

साह्रै नरमाइलो चाहिँ त्यसबेला हुन्छ, जब सम्मानित र ख्यातिप्राप्त स्रष्टा/कलाकारको मृत्यु हुन्छ, तब उसको शवलाई हतारहतार अमूक राजनीतिक दलका कार्यालयतिर वा उक्त दलको भ्रातृ/शुभेच्छुक संगठनका रूपमा खोलिएको संस्थाका कार्यालयतिर दौडाइन्छ ।

स्रष्टा/कलाकारको अनुहार पार्टीका झण्डाले छोपिदिन्छ । सुन्दर, सशक्त र कुशल स्रष्टा/कलाकारको रूप अचानक बिरूप बन्छ । यस्तो बिरुप अनुहार हेर्न ती पार्टी र संगठनका कार्यालयमा पुगेर श्रद्धाञ्जलि दिनसमेत हिम्मत हुँदैन स्वाभिमानी स्रष्टा/कलाकारहरूको ।

तर, हाम्रा स्रष्टा/कलाकारलाई अमूक राजनीतिक दलका नेताका विषाक्त र फोहोरी हातबाट ती दलका झण्डा ओढ्नै पर्छ मृत्युपछि पनि । बडो टिठलाग्दो उक्त दृश्य देखेर जिउँदा स्रष्टा/कलाकार भने विरक्त बन्नु सिवाय अर्को उपाय हुँदैन ।

अर्कातर्फ, विभिन्न राजनीतिक दलमा विभाजित स्रष्टा/कलाकारहरूमा सद्भाव र सहिष्णुतासमेत हराउँदै गएको छ । कुनै असल स्रष्टा/कलाकारको कार्यक्रममा पनि अमूक दल निकटताका कारण अर्को स्रष्टा/कलाकार नजाने, उसका कृति र कलाबारे नबोल्ने, नलेख्ने चलन बढ्दो छ ।

यस्तो अवस्था साहित्य/कलाका लागि सुखद होइन । स्रष्टा/कलाकार भनेका साझा हुन्/हुनुपर्छ । कुनै दल विशेषका बनेर स्रष्टा/कलाकारले स्वतन्त्र र साझा अभिव्यक्ति दसन सक्दैनन् ।

रूप, वर्ण, जात, लिंग, धर्म र राजनीतिक संलग्नता हेरेर स्रष्टा/कलाकारको मूल्यांकन गर्ने परिपाटी बढ्छ/बढिरहेको छ । यो पनि सही होइन । स्रष्टाको सिर्जना र कलाकारको कला मात्र उसको मूल्यांकनका आधार हुनुपर्छ । तर, हामीकहाँ कस्तो रूपको, कुन वर्णको, कुन जातको, कुन लिंगको, कुन धर्मको र कुन पार्टीको भनेर सोहीअनुसार मूल्यांकन हुने गरेको छ ।

अझ, मूल्यांकनकर्ताले आफ्नो दलको स्रष्टा/कलाकारलाई सामान्य भए पनि अद्वितीय र अलौकिक भनिदिने र इतर दलकालाई जतिसुकै सशक्त भए पनि बेवास्ता गर्ने परम्परा बनिसकेको छ । यसो हुँदा राम्रा, कुशल, क्षमतावान् स्रष्टा/कलाकारहरूले निराशा र आत्मग्लानि महसुस गर्ने तथा क्षमतावान् स्रष्टा/कलाकारमा उत्साह मर्दै जानेसमेत हुन्छ ।

समग्रमा, राजनीति र साहित्य/कला पूरकजस्ता लाग्न सक्छन् तर यी स्वभावतः भिन्न हुनुपर्छ । स्वतन्त्रता र अधिकारका सबालमा साहित्य/कला राजनीतिसँग कुम जोड्लान् वा घाँटी नै जोड्लान् तर यी फरक विषय र सन्दर्भ हुन्/हुनुपर्छ । स्रष्टा/कलाकारको राजनीतिक आस्था हुन सक्ला तर अमूक दल र नेताका पट्टु बन्नु शोभनीय होइन ।