देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फिनल्याण्डमा आइतबार राष्ट्रपतीय निर्वाचन

देशान्तर


काठमाडौं । युक्रेनमा जारी युद्धपछि छिमेकी मुलुक रूससँगको तनावका कारण विदेश नीतिको नेतृत्व गर्ने भूमिकालाई बढावा दिएको फिनल्याण्डमा नयाँ राष्ट्रपति चयनका लागि आगामी आइतबार मतदान हुँदैछ ।
फिनल्याण्डको सशस्त्र बलको सर्वोच्च कमाण्डरका रूपमासमेत काम गर्ने नयाँ राष्ट्रप्रमुखका लागि यूरोपको बदलिँदो भूराजनीतिक परिदृश्य मुख्य चिन्ताको विषय हुनेछ ।
पूर्व कन्जरभेटिभ प्रधानमन्त्री अलेक्जेन्डर स्टब र ग्रिन पार्टीका पूर्व विदेशमन्त्री पेक्का हाभिस्टो गरी दुई शीर्ष राजनीतिज्ञले नौ जना उम्मेदवारको समूहको नेतृत्व गरेका छन् । जनमत सर्वेक्षणका अनुसार पहिलो चरणमा कुनै पनि उम्मेदवारले आवश्यक बहुमत (५० प्रतिशत) भन्दा बढी नल्याउने तर फेबु्रअरी ११ मा हुने दोस्रो चरणको मतदानमा स्टब र हाभिस्टोबीच नै प्रतिस्पर्धा हुने सम्भावना छ ।
सन् २०२२ मा रूसले युक्रेनमाथि गरेको आक्रमणपछि मस्को र हेल्सिन्कीबीचको सम्बन्ध बिग्रिएको थियो जसका कारण फिनल्यान्डले दशकौँ लामो सैन्य असंलग्नता त्यागेर अप्रिल २०२३ मा नेटोमा सामेल भएको थियो ।
फिनल्याण्डसँग एक हजार ३४० किलोमिटर लामो सीमा जोडिएको रूसले तुरुन्तै ‘प्रतिकारात्मक उपाय’ अपनाउने चेतावनी दिएको थियो । त्यसको केही महिनापछि सन् २०२३ को अगष्टमा फिनल्यान्डले आफ्नो पूर्वी सीमाबाट बिना भिसा प्रवेश गर्ने आप्रवासीको चाप देखियो ।

मस्कोले आप्रवासीहरूलाई अस्थिर पार्न हाइब्रिड आक्रमणमा धकेलिरहेको दाबी हेलसिन्कीले गरेको छ । फिनल्याण्डले गत नोभेम्बरमा आफ्नो पूर्वी सीमा बन्द गरेको थियो । शीतयुद्धपछिको समयमा हेलसिन्कीले मस्कोसँग राम्रो सम्बन्ध कायम राखेको थियो । वर्तमान राष्ट्रपति साउली निनिस्टोले कुनै समय रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आफ्नो घनिष्ठ सम्बन्धको लागि गर्वसमेत गर्नुभएको थियो । युनिभर्सिटी अफ हेलसिन्कीको सामाजिक विज्ञान संकायका सहायक डिन हन्ना वासका अनुसार राष्ट्रपति पदका सबै उम्मेदवारले फिनल्यान्डको स्वतन्त्रता र नेटो सदस्यका रूपमा यसको नयाँ भूमिका दुवैको समर्थन गरेका छन् । युनिभर्सिटी अफ टाम्पेरेका विदेश नीतिका प्राध्यापक टुमास फोर्सबर्गले ती सबै उम्मेदवारको विदेश नीति समान रहेको बताएका छन् ।
दैनिक हेल्सिंगिन सानोमाटले सोमबार प्रकाशित गरेको जनमत सर्वेक्षणमा स्टब २२ प्रतिशतका साथ अगाडि देखिएका छन भने हाभिस्टो २० प्रतिशतका साथ दोस्रो स्थानमा छन् । दक्षिणपन्थी फिन्स पार्टीका उम्मेदवार जुस्सी हला–अहाले १८ प्रतिशत मत प्राप्त गरेका छन् भने पूर्व युरोपेली आयुक्त ओली रेहनले १२ प्रतिशत मत प्राप्त गरेका छन् ।
हला–आहा र रेहन अझै पनि दोस्रो चरणमा पुग्न सक्ने फोर्सबर्गले बताएका छन् ।