देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाडौं महानगरले ४ हजार युवालाई साइबर सेक्युरिटी तालिम दिने

देशान्तर

काठमाडौं । काठमाडौँ महानगरपालिकाले ४ हजार युवालाई साइबर सेक्युरिटीसम्बन्धी तालिम प्रदान गर्ने भएको छ । ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ गौरव योजनाअन्तर्गत महानगरपालिकाले ४ हजार जनालाई साइबर सेक्युरिटीसम्बन्धी तालिम दिन लागेको हो । गौरवको योजनाअन्तर्गत महानगरपालिकाले १५ हजार व्यक्तिलाई तालिम दिने र ५ हजार व्यक्तिलाई रोजगारीमा आवद्ध गराउने लक्ष्य लिएको छ । सोही लक्ष्यअनुरुप साइबर सेक्युरिटीमा मात्रै ४ हजार जनशक्ति उत्पादन गर्न लागिएको हो ।

साइवर सुरक्षा सीप रोजगारमूलक शिक्षा हो । यसले व्यक्तिलाई सम्भावित साइवर अपराधबाट बचाउँछ भने सीपबाट रोजगार क्षेत्रमा आवद्ध हुन सकिन्छ । महानगरको सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले भने, ‘साइबर सुरक्षाका लागि काम गर्न इच्छुक विद्यार्थी र पेशाकर्मीहरुलाई तालिममा साइबर जोखिमबाट बचाउने ज्ञान र सिप प्रदान गरिनेछ ।’

गएको बर्ष नेपालमा ५९ प्रतिशतले साइबर अपराध बढेको प्रतिवेदनहरुले देखाएका छन् । यसप्रकारका अपराध नियन्त्रण गर्न बलियो र दक्ष साइबर सुरक्षाका लागि तालिमले योगदान दिने उनले बताए ।

झाका अनुसार इन्टरनेटमा व्यक्तिको पहुँच बढे जत्तिकै साइबर सुरक्षाको चुनौती पनि बढेको छ । स्मार्ट फोन चलाउने सर्वसाधारणमा पनि इन्टरनेटमा आधारित सुरक्षा चाहिएको छ । तर, अहिलेसम्म व्यक्तिमा यो सचेतना आइसकेको छैन । ‘व्यक्तिका व्यक्तिगत सूचनाहरु थाहा नपाई अरुले दुरुपयोग गरिरहेको हुनसक्छ । कहिलेकाहीँ सरकारको प्रणालीमा पनि समस्या आउने गरेको सुनिन्छ । इन्टरनेटमा आधारित जोखिमबाट नागरिकलाई बचाउन अहिले काम गर्नु पर्नेछ । हामीले यसको थालनी गरेका हौँ,’ उनले भने ।

तालिम माघ २ गतेबाट सुरू हुनेछ ।