देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उम्मेदवार छनोटमा मापदण्ड कार्यान्वयन हुनैपर्छ :नैन सिंह महर

देशान्तर



नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले आसन्न राष्ट्रियसभाको निर्वाचनमा उम्मेदवार बनाउ“दा पार्टीले स्पष्ट मापदण्ड बनाएर लागू गर्नुपर्नेमा जोड दिएका छन् । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवार छनोटको तयारी गरिरहेका बेला केन्द्रीय सदस्य महरले पार्टीका क्रियाशील सदस्यहरू योग्य रहेकाले न्यायोचित वितरणको सिद्धान्त लागू गर्नु पर्नेमा जोड दिए । महरस“ग देशान्तरकर्मी मुक्तिबाबु रेग्मीले गरेको कुराकानीको सम्पादित अंश ।

देशमा केही नभएपछि रोजगारीका लागि कोरिया जान पाउ“, भनेर आन्दोलन हु“दा गोली चल्छ, अनि दुई जना युवाको मृत्यु हुन्छ, अहिलेको अवस्थामा सा“च्चिकै सरकार छ ?
हामीले नै देश त्यस्तो बनायौं । विदेशी आर्मीमा पनि बाध्यताका कारण नेपालीहरू गइरहेका छन् । नियम कानुनअनुसार नै धेरै नेपालीहरू अहिले पनि युद्धमा प्रयोग भइरहेका छन् । यसका पछाडि जति हामीले देशलाई गर्नुपर्ने थियो, त्यो गर्न सकेका छैनौं । नेपालमै युवाहरूलाई रोक्नका लागि यहाँ नै काम गर्नका लागि रोजगारी सिर्जनालगायतका धेरै कामहरू गर्न बाँकी नै छ । हामीले सञ्चालन गरेको राज्य व्यवस्थाले जनताको मागअनुसार काम हामीले जसरी पनि सञ्चालन गर्नु पर्ने थियो, त्योअनुसार हाम्रो ‘डेलीभरी’ हुन नसकेको भनेर प्रमाणित भएको छ । यद्यपि तपाईं हामी सबै मिलेर यसको सामना गर्नुपर्छ । जुन शुक्रबार बालकुमारीमा घटना घटेको छ, यो एकदमै दुःखद् छ । घटनामा निधन हुनु भएका दुई युवाहरू वीरेन्द्र शाह र सुजन रावतप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु । जुन घटना भइसक्यो, यो घटना हुनै नपर्ने थियो । मन्त्रीको गाडीमा आगजनी नहुनु पर्ने थियो, आक्रोश आवेगमा अलिकति देशलाई समस्यामा पार्ने पटक टक योजनाहरू विगत दुई वर्षदेखि भइरहेका छन् । दुई तीन महिनामा यस्ता घटनाहरू भइरहेका छन् । यस्ता कुराहरूमा षडयन्त्रकारी शक्तिबाट घटनाहरू भएका पनि देख्छौं नै । तर, पनि युवाहरूमाथि गोली नै चलाउनुपर्ने अवस्था किन आयो र गोली चलाउँदा दुई जना युवाको ज्यान गएको छ, यो दुर्भाग्यपूर्ण छ । यसको लागि सरकारले निष्पक्ष छानबिन समिति बनाएर दोषीलाई कारबाही गर्ने, मृतकका परिवारलाई क्षतिपूर्ति दिने र घाइतेको शीघ्र उपचार गर्ने व्यवस्था गर्नुपर्छ ।

बालकुमारी घटनामा के घुसपैठ भन्ने खोज्नु भएको हो ?
केही समयदेखि यस्ता घटनाहरू देखिरहेको छु । केही परावर्तनहरू देखिएका छन् । वर्तमान राज्य व्यवस्थाका खिलापमा हर्कत गर्ने र संविधानको खिलापमा जान खोज्ने शक्तिहरूले समयसमयमा धक्का दिने कोसिस गरिरहेका छन् । हरेक ठाउँमा यसरी उच्छृंखलतापूर्ण घटना घटाउनका लागि प्रेरित गर्ने काम पनि गरेका छन् । हिजोको घटनामा यस्ता शक्तिको प्रभाव थियो यो थिएन त्यो स्पष्ट भन्न सकिन्न । तर यस्ता गतिविधिहरू भइरहेकाले यसतर्फ समयै सबै चनाखो हुनुपर्छ ।

अहिलेको यस्तो अवस्था आउनुमा सरकार, राजनीतिक नेतृत्वको कारण पनि त होला नी ?
हामीले जुन बाटोमा देशलाई लैजानुपर्ने थियो त्यो गर्न सकेका छैनौं । विदेश जान पाउँ भनेर गोली थाप्न तयार हुन भनेको देशको लागि पनि दुर्भाग्य नै हो ।

अब राजनीतिक कुरा ।
केन्द्रीय कार्यसमितिको बैठक कस्तो रह्यो ?

नेपाली कांग्रेसको विधानअनुसार हरेक दुई–दुई महिनामा केन्द्रीय कार्यसमितिको बैठक हो । त्यही कार्यतालिका अनुसार बैठक बसेको हो । यो बैठकमा नेपाली कांग्रेसको संगठन, अहिलेको गठबन्धन सरकार, समाज र देशका बारेमा छलफल गरेका छौं । केन्द्रीय कार्यसमितिमा राजनीतिक चुनौतीहरू छन्, ती चुनौतीलाई कसरी सामना गर्ने र नेपाली कांग्रेसलाई सही ढंगले उभ्याउने भन्ने विषयमा गम्भीर समीक्षा भएको छ । नेपाली कांग्रेसको इतिहासमै पहिलो पटक नीति महाधिवेशनका नामले महासमितिको बैठक आह्वान गरेका छौं । महासमितिको बैठक फागुन ७–१० बस्ने तय गरिसकिएको छ । महासमितिको बैठकबाट नेपाली कांग्रेसलाई रूपान्तरित, अग्रगामी र थप गतिशीलता प्रदान गरेर जनताको वर्तमान आकांक्षालाई सम्बोधन गर्न हैसियत राख्ने सशक्त पार्टी निर्माणमा हामी जुट्नुपर्छ भन्ने योजना बनाउँदैछौं । आजसम्म हामीले लोकतात्रिक व्यवस्थामा परिवर्तन त ग¥यौं, राजनीतिक परिवर्तन गर्दै गर्दाखेरि कहिलेकाहीँ वढी आश्वासन पनि जनतालाई दिएको र जनतालाई आश्वासनका पछि लगाएका कारण जनता निराश छन् । आज हामीले आर्थिक क्रान्ति गर्न सकेनौं, राजनीतिक परिवर्तन भयो, आर्थिक परिवर्तनमा ध्यान नदिँदाखेरि आज वर्तमान राजनीतिक व्यवस्था र हामीप्रतिको निराशा र वितृष्णा छ त्यसलाई सम्बोधन गर्नका लागि हामीले आर्थिक लेभलमै काम गर्ने हो । साथै अहिलेको सरकारलाई जनताका पक्षमा थप जिम्मेवार बनाउन जरुरी छ । यसैगरी जनताको सन्तुष्टि नै नेपाली कांग्रेसको सन्तुष्टि भएको कारणले जनतालाई सन्तुष्ट बनाउने गरी काम कारबाही अगाडि बढाउनका लागि सरकारलाई योजनाबद्धरूपले अघि बढ्नका लागि सुझाव दिने कुरा आएको छ ।

अझैं पनि गठबन्धनको सरकारले जनताको काम गर्न सक्छ भन्ने कुरामा विश्वस्त हुनुहुन्छ ?
पछिल्लो गठबन्धन हाम्रो ठूलो ‘रियलाइजेसन’ हो । हामी एक्लै पनि हिँड्यौं । २०४६ सालको परिवर्तनपछि २०४७ सालमा संविधान बनायौं, त्यतिबेला दुनियाँकै उत्कृष्ट संविधान भनेर अगाडि बढेको स्थिति थियो । तर, तत्कालीन व्यवस्थालाई हल्लाउने कोसिस भयो । त्यसको खिलापमा तानाबाना बुनिए र जुन तानाबाना बुन्ने शक्तिले धेरै हदसम्म सफलता पनि प्राप्त ग¥यो । त्यो संविधानअनुसार पनि हामीले काम गर्न नसकेपछि पछिल्लो पटक हिंसाको राजनीतिमा धकेलिएको नेपाललाई त्यो हिंसाबाट बाहिर ल्याएर यहाँसम्म पु¥याउन नेपाली कांग्रेसले नेतृत्व ग¥यो । कांग्रेसको पहलमा हिंसामुक्त नेपाल त भयो । तर जनताका बाँकी आकांक्षाहरूलाई सम्बोधन गर्नुपर्ने अझैं जिम्मेवारी छ, त्यसैले गठबन्धन सरकार हाम्रो बाध्यता हो । अहिलेको निर्वाचन प्रणालीअनुसार कसैको पनि संसद्मा बहुमत छैन, उक्त प्रणालीका कारण बहुमत आउन पनि गाह्रो छ । त्यसैले एकल बहुमतको सरकार निर्माण गर्न नसक्ने अवस्था भइसकेपछि कसै न कसैसँग गठबन्धनमा जानुपर्ने अवस्था थियो । त्यसैले गठवन्धनको स्प्रिट अनुसार अघि बढ्ने र आफूले जनतासँग वाचा गरेका कुराहरू पूरा गर्ने र पार्टीको घोषणापत्र र जनताप्रति इमान्दार रहेर सरकार अगाडि बढ्नुपर्छ भन्ने कुरा छ ।

तर, सरकारले बाटो त बिराइरहेको छ, यसलाई कसरी करेक्सन गर्ने ?
हाम्रो केन्द्रीय कार्यसमितिको बैठकमा सरकारमा हाम्रो पार्टीबाट गएका मन्त्रीहरूको कामकारबाहीको विषयमा समीक्षा पनि गरेका छौं । केन्द्रीय कार्यसमितिमा मन्त्रीहरूले आफ्नो ‘रिपोर्ट कार्ड’ पनि पेस गर्नु भएको छ । केही हदसम्म सरकारले राम्रा र साहसिक कामको थालनी गरे पनि जनताको सन्तुष्टिको लेभल, जसरी जनताका दिनचर्यालाई सम्बोधन गरेर सरकारले सेवा प्रवाह गर्नुपर्ने थियो, त्योअनुसार सरकारले गर्न सकेको छैन । त्यसैले जनताले हामीप्रति असन्तुष्टि जनाएका छन् । अब जनताको सन्तुष्टि लेभल बढाउनका लागि नेपाली कांग्रेसले अव सरकारलाई केही मार्ग निर्देशन गर्छौं । तीनै तहको सरकार र पार्टीको घोषणापत्र जनताको भावना र कार्यकर्ताको चाहनाभन्दा बाहिर जान थाल्यो यसलाई सही बाटोमा ल्याउनका लागि जनता र पार्टीका प्रति जिम्मेवार बनाउनका लागि तीनै तहका सरकार सञ्चालनका लागि पार्टीका तर्फबाट संयन्त्रको आवश्यक प¥यो भनेर केन्द्रीय कार्यसमितिमा कुरा पनि उठाएको छु । त्यसैले अब हामीले सरकारलाई केही गाइडलाइन पनि दिन्छौं । अहिलेको सरकारलाई सुध्रिन र गतिशील हुनका लागि गाइडलाइन दिन्छौं । सरकार र मन्त्री परिवर्तनभन्दा पनि कार्यशैली परिवर्तन नै अहिलेको प्रमुख आवश्यकता हो । त्यसमा हामी केन्द्रित छौं ।
प्रचण्डले मन्त्रीहरू फेर्न खोज्दा कांग्रेस बाधक बनेको हो ?
हामी हरेक कुराका लागि खुला छौं । तर भाग पु¥याउनका लागि मात्र सरकारका मन्त्रीहरू मात्रै फेरबदल गर्ने र प्रधानमन्त्री आफूले ओत लाग्नका लागि मात्रै यस्तो काम गर्न खोज्नु भएको हो भने त्यो मान्य छैन । मन्त्रिपरिषद्को जिम्मेवार व्यक्ति भनेको त प्रधानमन्त्री आफैं हो नि । प्रधानमन्त्री नै सर्वेसर्वा भएको बेला मन्त्रीहरूलाई दोष दिएर काम भएन भन्न मिल्दैन । काम कति भयो भनेर सोध्ने हो भने ठूलो आवाजमा जवाफ दिने अवस्थामा प्रधानमन्त्री पनि हुनुहुन्न जस्तो लाग्छ मलाई । कसैले त अहिले प्रधानमन्त्री नै परिवर्तन गर्नुपर्छ भन्दैछन् । अहिले प्रधानमन्त्रीले काम गर्न सक्नु भएन भन्ने पनि छन् । तर, मन्त्री, प्रधानमन्त्री र सरकार परिवर्तनभन्दा पनि गठबन्धन सरकारको कार्यशैलीले जनता सन्तुष्ट छैनन्, जनतालाई सन्तुष्ट बनाउने गरी काम गर्नका लागि सरकारमाथि हामीले दबाब सिर्जना गर्ने नै हो, नेपाली कांग्रेसको केन्द्रीय कार्यसिमितिको बैठकले यसका बारेमा केही धारणा सार्वजनिक गर्छ ।

भनेको, अहिले कांग्रेस मन्त्री फेर्ने पक्षमा छैन ?
अहिले नै हामी मन्त्री, प्रधानमन्त्री र सरकार फेर्ने परिस्थितिमा आइपुगेका छैनौं । मन्त्रीहरू पूरै परिवर्तन गरेर नयाँ ल्याउने हो त्यो अवस्था अझै आइपुगेको छैन । त्यसकारण गठबन्धनमा संलग्न दलहरूको जुन किसिको ‘एग्रिमेन्ट’ छ, त्यो सम्झौताअनुसार नै गठबन्धन अगाडि बढ्छ, तर त्यसमा सरकार गतिशील हुन जरुरी छ । सरकारलाई घचघच्याएर गतिशील बनाउने कार्यमा कांग्रेस लाग्छ ।

अब राष्ट्रियसभाको चुनावमा कांग्रेसले कसलाई उम्मेदवार बनाउँदै छ ?
केन्द्रीय समितिको बैठकमा उम्मेदवार छनोटको मापदण्डका विषयमा सबैको एकमत छ । नेपाली कांग्रेस पार्टी अहिले कमजोर हुनुको पछाडि ठूलो कारण भनेको न्यायोचित अवसरको वितरण नहुनु हो । न्यायोचित अवसरको वितरणबाट पार्टीलाई रोकेर धेरै वर्षसम्म हामीले २०४६ सालपछि देखेका नेताहरू नै त्यहाँ बसिराख्ने र परिवार घरानाहरूकै कब्जाको शैली जुन नेपाली कांग्रेसमा परम्परा जस्तो छ, यसलाई तोडेर अघि बढ्नुपर्छ । पार्टी भनेको जमिनदारी प्रथाजस्तो त होइन, त्यसैले पार्टीले अवसर दिँदा जसले पनि काम गर्न सक्छ । लाखौं कार्यकर्ताको मेहनतले बनेको पार्टी हो नेपाली कांग्रेस । यसैगरी शुभचिन्तकहरू पनि छन् । ८ लाख ६६ हजार क्रियाशील सदस्यहरूको भावनालाई ठेस पुग्नेगरी जम्मा १ सय मानिसले पार्टीभित्र रजगज गरेका छन् । त्यो रजगजमा प्राप्ति पनि उनीहरू र उनका नातागोताले मात्र गर्ने र बाँकी ८ लाख ६५ हजार ९ सय ९९ क्रियाशील सदस्यहरू पार्टीका लागि आफ्नो जिउ ज्यान लगाइराख्नु पर्ने अवस्था छ । त्यसैले अहिले एक सय जनाले न अवसर तल जान दिन्छन्, न उनीहरूले राम्रो काम गर्छन्, तिनै १ सय जनामाथि कुशासन, गलत काम गरेको जस्ता विभिन्न आरोप पनि लागेको छ । त्यसैले ती नेताले बोकेको भारीको सबै क्रियाशीलले मात्र जिम्मा लिने व्यवस्थाको अन्त्य गर्नुपर्छ । राष्ट्रियसभाको चुनावमा उम्मेदवार बनाउँदा अवसरको न्यायोचित वितरण हुनुपर्छ भन्ने कुरा जबर्जस्त रूपमा उठेको छ ।

बैठकमा कुरा त उठ्छ, तर, राष्ट्रियसभाका उम्मेदवारको चर्चामा रहेका पात्र र नाम सुन्दा तपाईंहरूले उठाएका कुरा सम्बोधन होला त ?
पार्टीभित्र, राजनीतिभित्र कानुन र न्यायले काम गर्छ । कानुन र न्याय फरक कुरा हो । कानुनी हिसाबले एउटै व्यक्ति यति पटकभन्दा बढी हुनुहुन्न भन्ने केही पनि छैन । तर, जनता र कार्यकर्ताको आशा र विश्वास भनेको न्यायसंगत अवसरहरूको वितरण र न्यायसंगत शासन प्रणालीलाई वितरणलाई लागू गर्ने भन्ने कुरा हो नी । योभन्दा बाहिर गएर केही कुरा हुन्छ भने त्यसको विपक्षमा जनआवाज आउँछ र विद्रोह हुन्छ । राष्ट्रियसभा भनेको विज्ञहरूकै सभा हो । राष्ट्रियसभामा ल्याउनु पर्ने नेताहरूको र उम्मेदवारको मापदण्डको बारेमा ठूलो कुरा छ । यो मापदण्डलाई कार्यान्वयन गर्ने विशेषगरी टिकट वितरण गर्ने प्रक्रियामा सहभागी हुने नेताहरूका लागि चुनौतीपूर्ण छ ।

महासमितिको बैठक पछाडि नेपाली कांग्रेस कस्तो हुन्छ ?
महासमितिको बैठकमात्रै होइन, यो नीति महाधिवेशन पनि हो । पहिलो पटक हामीले गर्दैछौं । तर, समस्या के भयो भने नीति महाधिवेशनका सन्दर्भमा विभिन्न प्रतिवेदन लेखन लगायतका विषयमा काम गर्नका लागि संयोजक बनाएका नेताहरू अहिले पनि यसमा सिरियस भएर लाग्नु भएको छैन । नेपाली कांग्रेस सबै जनताको पार्टी हो । कुनै पनि पार्टीले शासन गर्दाखेरि उसले गरेका निर्णयका आधारमा जनतामा राम्रो नराम्रो प्रभाव पर्छ । जनतालाई प्रभाव पार्ने कामका लागि अब जाने बाटो कस्तो हो भनेर जनताका पनि सुझाव समेट्न जरुरी छ । यसैगरी आर्थिक नीति कस्तो लिने, प्रोगेसिभ राजनीतिक वातावरण कसरी बनाउने, यसैगरी सेवा प्रवाहको कुरालाई कसरी प्रभावकारी बनाउने अनि सामाजिक चुनौतीको सामना कसरी गर्ने भन्ने कुरा अहम् विषय हो । यही विषयमा सान्दर्भिक र अपडेट पार्टी बनाउनका लागि महासमितिमार्फत कांग्रेसको नीति तय गर्दैछौं । यो नीति तय गर्दै गर्दा ८ लाख ६६ हजार क्रियाशील सदस्यमात्रै होइन कि, यसका शुभचिन्तकमात्रै होइन कि, तमाम सचेत जनताको समेत नीति बनाउँदा संलग्नता थियो भन्ने वातावरण बनाउनुपर्छ भन्ने कुरा मैले राखेको छु । तर, यो कामको जिम्मेवारी लिएका नेताहरूले काम अगाडि बढाएको जस्तो लाग्दैन । मैले मेरा तर्फबाट १८–२० वटा प्रश्न राखेर जनताका ठाउँमा प्रश्नावलीसमेत पठाएको छु, यसबाट ५÷७ लाख मानिसको उत्तर आउने अपेक्षा गरेको छु । यसैगरी पार्टीले पनि छलफल तल्लो लेभलसम्म चलाउनु पर्छ । यस्तो गर्दा सही नीति बनाउन मद्दत गर्छ ।