देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सम्पादकीय

सरकार ! नागरिकलाई बचाऊ 

देशान्तर

इतिहासदेखि हालसम्म पनि विश्वमा जबजब युद्ध वा अशान्ति हुन्छ, त्यसको प्रत्यक्ष असर नेपाल र नेपालीलाई पर्ने गरेको छ । दुई वर्षदेखि जारी रुस युक्रेन युद्ध होस् वा दुई महिनादेखि जारी इजरायल हमास युद्ध, दुवैबाट नेपाल नराम्रो गरी प्रभावित भएको छ । नेपालीले युद्धमा मृत्युवरण गरेका छन् । अशान्तिको असर नेपालीका घरघरसम्म पुगेको छ ।

रुस युक्रेन युद्धका कारण विश्वभर निम्तिएको आर्थिक मन्दीको असर त थियो नै, पछिल्लो समय धेरै कमाइ हुने लोभ देखाएर नेपाली युवालाई रुस पुर्‍याउने र त्यहाँको सेनामा भर्ती गराई युद्धमा खटाउनेजस्ता हर्कत भएका छन् । रुसी सेनामा आबद्ध भई युद्धमा खटिएको अवस्थामा अहिलेसम्म ६ जना नेपालीको मृत्यु भइसकेको छ भने करिब ३ सय युवा रुसी सेनामा भर्ना भएर युद्धमा सहभागी भएको प्रारम्भिक अनुमान गरिएको छ । तर, अघिल्लो सातासम्म सरकारलाई यो घटना जानकारी नै नभएको देखियो, रुस–युक्रेन युद्धमा एकपछि अर्का नेपालीले मृत्युवरण र अपहरणमा परेपछि मात्र सुईंको पाएको सरकार अहिलेसम्म बाँकीलाई बचाउन सक्ने अवस्थामा रहेको देखिँदैन, सिवाय आग्रह गर्ने बाहेक । यसरी सयौंको संख्यामा मानव तस्करहरूले झुक्याएर युद्धग्रस्त मुलुकमा नागरिकलाई पुर्‍याउँदासमेत चाल नपाउने सरकारलाई के भन्ने ? अब बाँकी नेपालीलाई बचाउनै पर्ने सरकारको दायित्व देखिन्छ, तर आश गर्ने ठाउँ छैन । 

रुसी सेनामा भर्ती हुन नेपालीलाई प्रतिबन्ध छ । रुसमा अध्ययन गर्न, व्यापार तथा भ्रमण गर्न नेपालीलाई अनुमति भए पनि त्यहाँ गएर काम गर्न समेत दुई देशबीच सम्झौता भएको छैन । काम गर्ने सम्झौतासम्म नभएको मुलुकमा नेपाली पुगेर कसरी सेनामा भर्ती भएका छन् ? गम्भीर प्रश्न उठेको छ । नेपालीहरू ठूलो संख्यामा विभिन्न बाटो हुँदै मस्को पुग्ने, पुगेलगत्तै सेनामा भर्ती हुने र केही दिनको तालिम लिएर युद्धमा खटिने काम कसरी सम्भव भयो ? सरकारले न राम्ररी अध्ययन गरेको छ न रुस सरकारसँग यसबारे सोधखोज नै गरेको छ । 

केही नेपाली भ्रमण (भिजिट) भिसामा नेपालबाटै रुस पुगेका छन् भने कोही भारत र दुबई हुँदै जाने गरेका छन् । मानव तस्करले विभिन्न रुट प्रयोग गरेका छन् । ती रुटको प्रयोगबारे पनि सरकार अनभिज्ञ छ । नेपाली नागरिक मारिएको सामान्य खबरबाहेक सरकारले कुनै तथ्य र वस्तुगत अवस्थाबारे जानकारी गराउन सकेको छैन । मस्कोस्थित नेपाली राजदूतावासले पनि नेपाल र रुस सरकारका बीचमा कुनै समन्वय गरेको पाइएको छैन । मारिएका नेपालीको शव कहाँ छ ? उनीहरूको शव नेपाल फिर्ता ल्याउन सम्भव छ कि छैन ? मारिनेका परिवारले राहत तथा क्षतिपूर्ति पाउँछन् कि पाउँदैनन् ? यस बारेमा पनि मस्कोस्थित राजदूतावासले स्पष्ट भन्न सकेको छैन । यो दूतावासको कमजोरी हो । 

दुई महिनाअघि अर्थात् अक्टोबर ७ मा प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा गरेको आक्रमणमा १० नेपाली मारिए, केही घाइते भए । पढ्दै कमाउँदै कार्यक्रममार्फत इजरायल पुगेका युवा विद्यार्थी हमासको निशानामा परे । गाजाको सीमा क्षेत्रमा कार्यरत नेपाली विद्यार्थीमाथि भएको त्यो आक्रमण भवितव्य थियो, तर, त्यसबाट प्रभावित नेपालीको उद्धारमा पनि सरकारले निकै समय अलमल गर्‍यो । कयौं बंकरबाट सहयोग र उद्धारको याचना गरेपछि मात्रै सरकारले उनीहरूलाई नेपाल ल्यायो । तर, अहिलेसम्म पनि कञ्चनपुरका विद्यार्थी विपिन जोशीको अवस्था अज्ञात छ । बंकरबाट हमासले नियन्त्रणमा लिएको भनिएका विपिन अहिले कहाँ कुन अवस्थामा छन्, सरकारले केही भनेको छैन । विपिन सुरक्षित रहेको र उनलाई हमासको पञ्जाबाट मुक्त गराएर स्वदेश ल्याउने भनिए पनि हमासले समेत उनका बारेमा सरकारलाई कुनै जानकारी गराएको छैन । 

इजरायल र हमासबीचको सात दिन लामो युद्ध विश्राममा हमासले आफ्नो कब्जामा रहेका कयौं व्यक्तिलाई मुक्त गरेको थियो । कुनै पनि सूचीमा विपिन परेनन् । थाइल्यान्डले आफ्ना थुप्रै नागरिकलाई मुक्त गरायो । आफ्ना नागरिकलाई मुक्त गराउन अन्य देशले विभिन्न उपाय अपनाए । युद्ध विरामका लागि मध्यस्थता गरेको कतार तथा मध्यपूर्वी देशहरूसँग पनि अन्य देशले सम्पर्क बढाए । तर, नेपाल हमासको मुख ताकेर बस्यो, हमाससँग सम्बन्ध स्थापित गर्नै सकेन । 

दुई साताअघि मात्रै कतारका राज्यमन्त्री नेपाल भ्रमणमा आएका थिए । नेपालमा पनि कतारको राजदूतावास छ । कतारमा लाखौं नेपाली श्रमिक छन् । नेपाल र कतार घनिष्ट सम्बन्ध भएका मुलुक हुन् । यो सम्बन्धका आधारमा पनि नेपालले कतारमार्फत विपिनको रिहाइका लागि पहल गर्न सक्थ्यो । परराष्ट्रमन्त्री एनपी साउद अहिले कतारमा पुगेका छन् । कतारमा रहँदा मन्त्री साउदले विपिनको सकुशल रिहाइका लागि ठोस पहल गर्न आवश्यक छ ।