देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘बाँदरको बन्ध्याकरण सम्भव छ’ 


सहर र गाउँ सबै क्षेत्रमा अहिले बाँदर आतङ्क छ, काठमाडौँकै पशुपति, स्वयम्भू, बालाजु आसपासका क्षेत्रमा बाँदरले पैदल यात्री, तिर्थालुलाई चिथोर्ने देखि घरमै आएर सामान लैजाने सम्म गर्छन् । सीमित वासस्थान र खाने कुराको कमी एकातिर छ भने बाँदरको सङ्ख्या यी स्थानमा बढेको बढै छ । काठमाडौँमा बढेको सामुदायिक कुकुरको रेबिज बाँदरसम्म पुग्ने जोखिम उतिकै छ र बाँदरबाट मानिसमा विभिन्न रोग (हेपाटाइटिस् बी र एचआइभी)समेत सर्दछन् ।

तसर्थ यस्ता सहरी इलाकामा बाँदर व्यवस्थापनको उचित उपाय भनेको ठुला प्राकृतिक केज बनाई राख्ने वा बन्ध्याकरण (Catch, neuter, release) नै हो जुन अत्यन्त प्रभावकारी हुनसक्छ। बन्ध्याकरण गरेका बाँदरमा पहिचान चिन्ह (Microchip)समेत हुने हुँदा यिनीहरूको निगरानी समेत सहज हुनसक्छ ।

अन्य घरपालुवा पशुमा र सामुदायिक कुकुरमा समेत बन्ध्याकरण गर्ने प्रचलन छ भने बाँदरमा पनि यो काम गर्न सकिन्छ । बाँदरले कृषकको वाली नोक्सान गर्ने भएपछि बाँदरलाई बन्ध्याकरण गर्ने सम्बन्धमा भारतका विभिन्न प्रान्त जस्तै उत्तर प्रदेश, हिमाचल प्रदेश लगायतमा सरकारी तहबाट नै नीतिगत रूपमा बाँदरलाई बन्ध्याकरण गरेको पाइन्छ । सन् २००६ देखी २०१८ सम्ममा हिमाचल प्रदेशमा मात्रै करिब १४ लाख पोथी बाँदरलाई बन्ध्याकरण गरिएको रहेछ। केही महिना अघि श्रीलङ्काबाट १ लाख बाँदर चिन निर्यात गर्ने समाचार नेपाली मिडियामा समेत छाएको थियो ।

नेपालमा केही वर्ष पहिले बाँदरको प्रजनन गरी निर्यात गर्न समेत विभिन्न चरणमा काम भएको थियो जुन पछि अदालतको आदेशबाट सफल हुन सकेन। मानव समुदायको लागि औषधि विकासको क्रममा अन्तिम चरणमा बाँदरमा परीक्षण गर्न सो काम हुन लागेको थियो भनिन्छ । गाउँमा कृषकले वर्ष भरी गरेको लगानी, मिहिनेत र पसिना बाँदरले एकै दिनमा एकै छिनमा माटोमा मिलाइदिन्छ । बाँदर आतङ्क प्रत्येक गाउँमा छ ।

त्यसैले गाउँपालिका महासङ्घले बाँदर, बँदेल र दुम्सी नियन्त्रणको लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागमा अनुरोध गरेको थियो र खेतीमा आएका ती जनावर धपाउँदा मरेमा कानुनी कारबाही नगर्न अनुरोध गरेको थियो । कति स्थानमा पासोमा पार्ने , विष हाल्ने, करेन्ट विछयाउने जस्ता पशु कल्याणका हिसाबले गलत गतिविधि समेत भएको पाइन्छ । यसरी मार्नु भन्दा त बन्ध्याकरण गरी सङ्ख्या नियन्त्रण गर्नु उचित होला । यसर्थ अन्य विभिन्न मुलुकमा समेत प्रचलनमा रहेको, नेपालमा पनि विभिन्न पशुमा अपनाइएको बन्ध्याकरण विधिबाट बाँदर नियन्त्रण गर्नु उपयुक्त विकल्प हुन सक्छ । थाइल्यान्डमा समेत बाँदर को प्रकोप बडेपछि बाँदर लाई लट्ठाएर (anasthesia), दुवै भाले पोथी लाई बन्ध्याकरण गरेको पाइन्छ यसको आर्थिक व्यवस्थापन महत्त्वपूर्ण हुन्छ नै । 

यसका अतिरिक्त बाँदरको स्थानान्तरण गर्ने, जङ्गल र बस्ती क्षेत्रको बिच भागलाई लक्षित गरी हेरा लु राख्ने, बाँदरलाई मन नपर्ने वनस्पति जङ्गल र बस्ती बिच लगाउने, बाँदर निर्यात गर्ने आदि विषय पनि व्यापक छलफल र सहमतिमा अपनाउन सके बाँदर नियन्त्रण हुन सक्छ । होइन भने गाउँबाट मानिस बाँदर, चितुवा, दुम्सी, बँदेल आतङ्कका कारण पलायन हुने स्थिति आउँदै छ । यसले बेरोजगारी अझ बढ्ने छ, नेपालमा खाद्य असुरक्षा अझ बढ्ने छ भने गाउँबाट सहर आउने प्राङ्गारिक उत्पादन घटने छ । गाउँ रित्तिने र सहर थप भरिने हुँदा मानिसको रोजीरोटी व्यवस्थापन गर्न सरकारलाई थप चुनौती हुनेछ ।

साथै मानवहरूमा पशुबाट सर्ने रोगको प्रकोप समेत बढ्न सक्छ! भ्यु टावर र अनावश्यक संरचना बनाउन भन्दा पहिले कृषकका जीविकोपार्जनसँग सम्बन्धित यस्ता समस्या निराकरण हुन अति आवश्यक छ .यसर्थ वन्यजन्तु र मानव द्वन्द्वको (human-wildlife conflict) दीर्घकालीन समाधान तर्फ सबैले सोच्नुपर्छ । 

डा. सुबेदी, पशु चिकित्सक तथा नेपाल भेटेरिनरी एसोसिएसन केन्द्रीय महासचिव हुन् ।