देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रचण्डको सत्तारोदन

देशान्तर


काठमाडौं । अस्थिरताको पर्यावाचीको रूपमा चिनिएका नेपाली राजनीतिका पात्र हुन् माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल उर्फ प्रचण्ड । नेकपामा हुँदा केपी शर्मा ओलीको पेलानमा परेका प्रचण्ड सर्वोच्च अदालतको आदेशपछि ओली नेतृत्वको सरकार ढाल्नलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको ओत लागे । त्यतिबेला प्रचण्ड र एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीको समर्थनमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बने । देउवाले स्थानीय, संघ र प्रदेशको चुनाव गराएपछि फेरि प्रधानमन्त्री बन्ने उद्घोष गरे ।

त्यतिबेला जसरी पनि प्रधानमन्त्री बन्ने लालसा लिएर एमालेसँग एकाएक गएर बालकोटको बार्दली गठबन्धन गर्न पुगे । तर, राष्ट्रपतिको चुनावका बेला एमाले अध्यक्ष केपी ओलीको तल्लोस्तरको हेपाइबाट उन्मुक्ति पाउन पुनः कांग्रेससँग गठबन्धन गरेर आफ्नो पद सुरक्षित गरे । अहिले आएर पुनः आफ्नो सत्ता टिकाउन देशीविदेशी शक्तिलाई दोष दिँदै गत साता उनले बोलाएका केही सम्पादकहरूसँग बिलौना गरे ।

पछिल्लो समय पटकपटक विवादमा आइरहेका प्रधानमन्त्री प्रचण्डले आफूलाई सर्वेसर्वा ठाने पनि बालुवाटारमै भएको छलफलमा सम्पादकहरूसँग सुझाव लिनेभन्दा पनि उनले अधिकांश समय आफ्नो ‘रोदन’ सुनाएर बिदा गरे । प्रधानमन्त्री देशको कार्यकारी प्रमुख हो । छलफलको प्रारम्भमै प्रधानमन्त्रीले देशको आर्थिक अवस्था र अर्थतन्त्रको बारेमा कुरा राख्दै आर्थिक सूचकहरू सकारात्मक रहे पनि अर्थतन्त्र संकटग्रस्त रहेको बताएका थिए ।

यसैगरी ललिता निवास प्रकरणमा सर्वोच्च अदालतको फैसलाप्रति घुमाउरो तरिकाले अन्तुष्टि जनाए भने भावी दिनको विषयमा गम्भीर आशंका पनि व्यक्त गरेका थिए । सर्वोच्चको फैसलालले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई पनि अनुसन्धान गर्नका लागि बाटो खुला गरेको थियो । भलै अहिले सीआईबीले उनीहरूलाई अनुसन्धानका लागि कुनै पनि प्रक्रिया अघि बढाएन । तर, प्रधानमन्त्री प्रचण्डले सर्वोच्चको फैसलालाई सामान्य रूपमा लिन नहुने भन्दै संसद् विघटन गर्नेहरू (एमाले) र अदालतको आदेशको बीच मिलन देखिएको आरोप लगाए ।

आफ्नो सरकारले भ्रष्टाचार संगठिन अपराधका मुद्दाहरूमा अनुसन्धान अघि बढाएर सीआईबीले राम्रो काम गरेको बताए पनि पूर्णरूपमा सीआईबीप्रति विश्वस्त भने प्रधानमन्त्री प्रचण्ड सुनिएनन् । उनले सीआईबीको अनुसन्धानमा बाहिरबाट कसैले ‘प्ले’ गरेको भन्दै त्यहाँ पनि सम्पादकहरूसँग आफ्नो निरीहता प्रस्तुत गरे ।

उनले भने ‘ललिता निवास प्रकरणमा मैले नचाहेको भइरहेको छ भने पछिल्लो सुन तस्करीमा पनि बाहिरतिरबाट सीआईबी प्रभावित भइरहेको हो कि भन्ने आशंका गर्ने ठाउँ छ ।’

नेपाल अखण्ड र सम्प्रभुता सम्पन्न देशको रूपमा इतिहासमा दर्ज भए पनि विदेशी शक्ति राष्ट्रहरूको चलखेलको मैदान बन्ने खतार बढेको भन्दै राजनीतिक विश्लेषकहरूले पटकपटक खबरदारी गर्ने गरेका छन् । यसमा पनि प्रधानमन्त्री प्रचण्डले नेपाल भूराजनीतिक भुमरीमा फँस्दै गएको र कतिपय अवस्थामा आफूले धान्नै नसक्ने गरी दबाब शक्ति राष्ट्रहरूले दिने गरेको बताए । यसैगरी प्रधानमन्त्रीले अहिले संसद्मा प्रमुख प्रतिपक्षी भूमिकामा रहेको नेकपा एमालेले संसद्लाई निकम्मा बनाउनका लागि लागिपरेको बताउँदै अहिलेको संसद् अवरोध त्यसकै स्वरूप भएको पनि प्रधानमन्त्री प्रचण्डले बताएका छन् । लगातारको संसद् अवरोध र विभिन्न काण्डहरू आउँदा दबाबमा देखिएका प्रचण्डले सम्पादकहरूलाई बोलाएर आफूबाहेक अरूले यो अहिलेको समस्या समाधान गर्न नसक्ने भन्दै त्यसका लागि आफ्नो विकल्प खोज्न नहुने सन्देश दिनु नै छलफलको भित्री एजेन्डा रहेको कुरा त्यहाँ पुगेका सबैले अनुमान लगाएका छन् ।

अहिले ललिता निवास प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, सुन प्रकरणका कारण दबाबमा परेका प्रचण्डलाई एकातिर यी प्रकरणका कारण सत्तारूढ गठबन्धनलाई टिकाउनु पर्ने चुनौती रहेको छ भने अर्कोतर्फ शिथिल बनेको अर्थतन्त्रका कारण आम मानिसहरू दिनहुँ प्रताडित भइरहेकाले त्यसका लागि पनि कामहरू गर्नुपर्ने अवस्थामा प्रधानमन्त्रीको यो रोदनले देशको अवस्था झनै भयावह हुने त होइन, प्रश्न गर्ने बेला भने भएको छ ।