देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

माओवादी केन्द्रले तीनमहिने अभियान चलाउने

प्रचण्ड सात प्रदेशका ७ वडामा जाने

देशान्तर

काठमाडौँ । तीन महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ घोषणा गर्दै नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सम्पन्न भएको छ । गत बुधबारबाट सुरु भएको माओवादी बैठक पाँच दिन चलेर आइतबार सम्पन्न भएको हो । माओवादीले भदौ १६ गतेदेखि तीनमहिने अभियान चलाउने भएको हो ।

बैठकले नेताहरुको कार्यविभाजन गर्नुका साथै ‘जनतासँग विशेष रुपान्तरण अभियान’को घोषणा गरेको हो । बैठकको समापन गर्दै अध्यक्ष प्रचण्डले बैठकले पार्टीभित्रका विभिन्न प्रश्न, अन्योल, आशंका र नेतृत्वबीचका अन्तरमा खुलेर छलफल गर्ने काम भएको भन्दै जनवादको उच्चतम थलोका रुपमा बैठक रुपान्तरण भएको पनि बताए । अध्यक्ष प्रचण्डले ७५३ वटै पालिकाको वडामा गएर काम गर्न केन्द्रीय सदस्यहरुलाई निर्देशन दिएका छन् ।

बैठकमा उठेको प्रश्नको जवाफ दिँदै उनले सातै प्रदेशमा एक एक वडाको जिम्मेवारी लिन नेताहरुलाई निर्देशन दिएका हुन् । उनले आफू पनि अभियानअन्तरगत सात प्रदेशका ७ वडामा जाने बताए । अभियानबाट एउटा पनि जनताको घर नछाड्ने र पार्टीलाई गति दिने प्रचण्डको भनाई थियो ।
उनले बैठकसँगै पार्टी एकताबद्ध भएको सन्देश गएको र माओवादीले फेरि देशको नेतृत्व लिने उद्घोष पनि गरे । बैठको समापनमा बोल्दै अध्यक्ष प्रचण्डले आफूहरुविरुद्ध घेराबन्दी भइरहेको बताएका थिए । प्रचण्डले नेतृत्वविरुद्ध मुद्दा लगाउन खोजेकै कारण तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग दर्ता गर्नु परेको बताए । उनले आज पनि लिडरसिप र पार्टी माथि घेरावन्दी रहेको र जेल हाल्ने कुरा आइरहेको बताए ।