देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

घोटालाका नाइके एनआरएनएको सीईओ

देशान्तर

काठमाडौं । आईएलओ सहायता परियोजनामा घोटाला गर्नमा संलग्न भनी आरोप लागेका राजेन्द्रकुमार राउतलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रमुख कार्यकारीमा नियुक्त गरिएको छ ।

खुल्ला प्रतियोगिताबाट छनोट गरिएका सीईओ रविकिरण अधिकारीलाई राजीनामा गर्न बाध्य पारेपछि बिना कुनै प्रतिस्पर्धा संघका कार्यकारी अध्यक्ष बद्री केसीले राउतलाई सीईओमा नियुक्त गरेका हुन् ।

उक्त अन्तर्वार्तामा राउत दोस्रो नम्बरमा रहेकाले फेरि विज्ञापन नखोलिकनै राउतलाई नियुक्त गरिएको केसीको भनाइ छ । तर एक जना भ्रष्टाचार आरोपीलाई गुपचुपमा नियुक्त गरिएको भनी संघभित्रै विरोध भइरहेको छ ।

के हो आईएलओ घोटाला ?

कोरोना प्रभावित नेपाली मजदुर तथा श्रमिकहरूको राहत तथा उद्धारका लागि अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र गैरआवासीय नेपाली संघ (एनआरएनए) बीच एक सम्झौता भएको थियो । जुलाई २०२० देखि फेब्रुअरी २०२१ सम्म नेपाल, मलेसिया, साउदी अरब, कतार र यूएईमा उक्त परियोजना सञ्चालन गर्न आईएलओले एनआरएनलाई रु ५ करोड १० लाख सहयोग दिएको थियो । तर ८ महिनाभित्र ५ करोड खर्च गरेको देखाउन आधाभन्दा बढी रकम ‘भाग शान्ति जय नेपाल’ गरिएको अनुमान छ ।

परियोजनाको काठमाडौँस्थित प्रमुख रहेका राउतले आफ्ना कर्मचारीहरूलाई त्रिभुवन विमानस्थल पठाई मलेसिया, कतार, यूएईलगायतका मुलुकबाट आउने नेपाली यात्रुहरूको बोर्डिङ पासको फोटो खिच्न लगाउथे । पछि तिनै फोटो देखाएर नेपाली श्रमिकहरूलाई उद्धार गरेको भन्दै आईएलओलाई झुट्टा विवरण पठाइएको थियो । संघले एनआरएन यूएईमा देखिएको आर्थिक अनियमितताका बारेमा छानबिन गर्न फेब्रुअरी २०२१ मा अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) सदस्य राजु केसीको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

छानविन समितिले करिब एक महिनासम्म अनुसन्धान गरेपछि ६२ हजार ७ सय यूएई दिराम (करिव २० लाख रुपैयाँ) आर्थिक अनियमितता भएको प्रतिवेदन एनआरएनएलाई बुझायो ।

परियोजनाअन्तर्गत समस्यामा परेका नेपालीहरूको लागि आश्रयस्थल (सेल्टर) र खानामा समेत व्यापक अनियमिता भएको प्रतिवेदनले देखाएको छ । सेल्टरमा बसेका नेपालीहरूलाई उपाध्यक्ष पासाङ शेर्पाद्वारा सञ्चालित कञ्चनजंघा रेस्टुरेन्टमा भाँडा माझ्ने काम लगाएर श्रम शोषण गरेको पनि छानबिन समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

समितिले आफ्नो निष्कर्षमा उल्लेख गरेको छ– ‘समितिले गरेको छानबिनको प्रक्रियामा बयान, छलफल, अनुसन्धान, खोज र अध्ययनपश्चात् ६२,७०० यूएई दिराम आर्थिक अनियमितता भएको देखिन आउँछ । समग्रमा हेर्दा एनआरएन आईसीसीको पहलमा आईएलओमार्फत कोभिड प्रभावितहरूको लागि राहत तथा उद्धार शीर्षकमा एनआरएन एनसीसी यूएईमार्फत भएको आर्थिक क्रियाकलापमा बिलहरूको किर्ते, छली गरी अनियमितता गरेको भनी छानबिन समितिको ठहरसहित यो प्रारम्भिक प्रतिवेदन पेस गरेका छौँ ।’

उक्त प्रतिबेदनले तत्कालीन केन्द्रीय उपाध्यक्ष एवं वैदेशिक रोजगार टास्कफोर्सका संयोजक बद्री केसी तथा उनैले नियुक्त गरेका परियोजना प्रबन्धक राजेन्द्रकुमार राउत उपर नैतिक र आर्थिक प्रश्न उठाएको थियो । तर अहिले आफू कार्यकारी अध्यक्ष भएको मौका पारी बद्री केसीले उनै विवादित व्यक्तिलाई संघको सीईओ नियुक्त गरेका छन् । आउँदो अक्टोबरमा काठमाडौंमा आयोजना हुन गइरहेको संघको विश्व सम्मेलनमा यो विषय जोडदार रूपले उठाइने एक आईसीसी सदस्यले बताएका छन् ।
गत २०७७ चैत्र २ गते प्रवासबाट प्रकाशित हुने अनलाइन, नेपाल प्लस, ले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले गैरआवासीय नेपाली संघलाई उद्धार तथा राहत परियोजनामा दिएको करिब ९० हजार अमेरिकी डलर (रु १ करोड १७ लाखभन्दा बढी) रकम भ्रष्टाचार काण्डले गैरआवासीय नेपालीमाझ सनसनी मच्चाएको थियो ।

यो काण्डले आईएलओ भित्रै पनि गम्भीर छानबिन हुने संकेत देखिएको र आईएलओले यस विषयमा माथिल्लो निकायमा छानबिन भइरहेको सार्वजनिक गरेको थियो । नेपाल प्लसलगायतका अनलाइनले शृंखलाबद्ध रिपोर्टहरू प्रकाशित गरेपछि एनआरएनएले हतारहतार जुममार्फत एक पत्रकार सम्मेलन गर्दै ती आरोपहरू सत्य नभएको दाबी गरेका थिए । काठमाडौंको एक होटेलमा यसअघि अध्यक्षको उम्मेदवारी घोषणा समारोहमा पनि केसीले यस विषयमा प्रष्टीकरण दिएका थिए ।