देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एनआरएनएको औपचारिक एकता अगस्ट १२ तारिखमा

देशान्तर

काठमाडौं । गैर आवासीय नेपाली सङ्घको औपचारिक एकता अगस्टमा हुने भएको छ । १० औँ केन्द्रीय महाधिवेशनका बेला २ वटा एनआरएनए भएका थिए । अधिवेशनको उद्घाटन सत्रबाट २ वटा समूह बन्दा एउटा समूहले होटेल हिमालय ललितपुर र अर्को समूहले याक एन्ड यति होटेलमा सम्मेलन आयोजना गरेका थिए ।

संस्थापन समूहले ३ जना अध्यक्षसहितको कार्यसमिति चयन गरेको थियो भने शेष घलेले नेतृत्व गरेको समूहले विनोद कुँवरलाई अध्यक्ष बनाएको थियो ।

२ समूहले आ आफ्नै तरिकाले अभ्यास गरेपछि एकताका लागि वार्ता समिति बनाइएको थियो । वार्ता समितिको पहलमा जुन १८ तारिखमा प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारी निवास बालुवाटारमा सहमति भएको थियो । सहमति कार्यान्वयनका लागि परराष्ट्र मन्त्रीलाई प्रधानमन्त्रीले निर्देशन नै दिएका थिए । अहिले दुवै पक्ष एकै ठाउँमा बसेर अगस्ट १२ तारिखमा एकता घोषणा गर्ने सहमति भएको छ । संस्थापन इतर पक्षकी महासचिव जानकी गुरुङले आज एक विज्ञप्ति प्रकाशित गरी सबै अध्यक्ष तथा महासचिव र एनसीसीहरुलाई एकताको बारेमा जानकारी गराएकी छिन् ।

उनले विज्ञप्तिमा लेखेकी छन् ‘ गैर आवासीय नेपाली सङ्घको १०औँ केन्द्रीय महाधिवेशन विभिन्न परिस्थितिका कारण एकताको रूपमा सम्पन्न हुन नसक्दा उत्पन्न असहज परिस्थितिलाई अन्त गर्न दुवै केन्द्रीय समितिको तर्फबाट गठित वार्ता समितिको लामो प्रयास पश्चात् १८ जुन २०२३ का दिन नेपाल सरकारका सम्माननीय प्रधानमन्त्रीज्यूको समुपस्थितमा एक सहमति पत्रमा हस्ताक्षर गरिएको सहस्र जानकारी गराउन चाहन्छु । सङ्घमा भएको विभाजनलाई अन्त गरी एकताको महाधिवेशन तर्फ उन्मुख भएको वर्तमान अवस्थामा सामूहिक बैठक

बसी दुवै पक्षको विधानलाई छलफल गर्न र सहमतिका बुँदाहरूलाई अनुमोदन गरी असहमत भएका बुँदाहरूलाई छलफल गरी अभिलेखीकरण गर्न १२ अगस्टमा विशेष साधारण सभा गरिने पनि जानकारी गराउन चाहन्छु ।’

यस्तै दुई पक्षबिच गरिएका सहमतिलाई अक्षरशः कार्यान्वयन गर्दै एकताको ११औँ केन्द्रीय महाधिवेशन तथा विश्वभर रहेका सम्पूर्ण राष्ट्रिय समन्वय परिषदहरुमा एकताको महाधिवेशन सम्पन्न गर्न आग्रह गर्दै समन्वय, सहकार्य र एकता कायम गर्दै राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न अनुरोध पनि गरिएको छ । ।

गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्मा सदस्यता वितरण प्रक्रिया समाप्त भएका मुलुकहरूको हकमा पनि समानान्तर रूपमा गठन भएका समितिहरूले वितरण गरेको सदस्यतालाई आपसी समझदारीमा क्षेत्रीय संयोजक, सहसंयोजक, र दुवै पक्षका एनसिसिका कार्यसमिति बसी आपसी सहकार्य गरी समायोजन गर्न र सदस्यता वितरण प्रक्रिया समाप्त नभएका देशहरूमा पनि वितरण समिति, निर्वाचन समिति, महाधिवेशन अनुगमन समिति लगायतका विभिन्न समितिहरूमा बराबरी प्रतिनिधित्व गराउँदै सदस्यता वितरण एवम् महाधिवेशन आयोजना गर्न पनि अपिल गरिएको छ ।

सङ्घको सदस्यता प्रमाणीकरण लगायत महाधिवेशन आयोजनाका सन्दर्भमा राष्ट्रिय समन्वय परिषद् गठन नभएका मुलुकहरूमा पनि सङ्घको क्षेत्रीय संयोजक, सहसंयोजक, सङ्घको आइसिसी, अफिस ब्यारल, मानार्थ परिषद् सदस्य, सल्लाहकार तथा आईईएसका साथीहरूको समेत समन्वय र सहभागितामा गतिविधिहरू सञ्चालन गर्न समेत अपिल गरिएको छ ।

अगस्ट १२ मा हुने संयुक्त विशेष साधारण सभा ‘जुम’मार्फत हुने छ भने प्रतिनिधिहरू २०२१–२३ का महाधिवेशन प्रतिनिधिहरू हुने छन् ।

विशेष साधारण सभामा लैजाने एजेन्डा तय गर्नका लागि दुवै पक्षबाट तीन तीन जना रहेको कार्यदल बनाइएको छ ।