देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

क्यानको चुनाव तोकियो

देशान्तर

काठमाडौं । नेपाली क्रिकेट टिम अहिले जिम्बाबेमा रहेको छ । एकदिवसीय विश्वकप क्रिकेटको छनोट खेल्न गएको नेपाली टिम सुपर सिक्समा पुग्न असफल भए पनि अहिले सातौं स्थानको प्रतिस्पर्धाका लागि उतै रहेको छ । यता यू १६ इस्ट कपमा नेपाल समूह विजेताको रूपमा सेमिफाइनलमा पुगेको छ ।
खेलाडीले खेल्ने काम गरिरहँदा क्रिकेटको संस्था नेपाल क्रिकेट संघ क्यान फेरि एक पटक विवादमा परेको छ । विवाद पनि कर्मचारीको राजीनामाको विषयलाई लिएर भएको हो । डेढ वर्षअघि क्यानको महाप्रबन्धकको रूपमा नियुक्त भएको वृतान्त खनालले पदबाट राजीनामा दिँदा सामाजिक सञ्जालमा पदाधिकारीलाई आरोप लगाएका छन् । उनले पदाधिकारीको व्यवहार ठीक नभएको, अध्यक्षले कार्यकक्षमै रक्सी खाएर आफूहरूलाई दुव्र्यवहार गरेको आरोप लगाएका हुन् । तर क्यानका अध्यक्ष चतुरबहादुर चन्दले यी आरोपहरू निराधार रहेको बताउँदै पुष्टि गर्न चुनौती दिएका छन् । राजनीतिक आस्था र भनसुनको आधारमा मासिक १ लाख २५ हजार पारिश्रमिक लिने गरेको खनालले आफूले नियुक्त हुँदा गरेका वाचाहरू पनि पूरा नगरेपछि राजीनामा दिन लगाएको अध्यक्ष चन्दले बताएका छन् । नियुक्त हुँदा उनले वार्षिक पाँच करोडको कारोबार क्यानले गर्ने (प्रायोजक, प्रतियोगिता) प्रतिबद्धता जनाए पनि उनको यो डेढ वर्षमा पाँच लाखको पनि काम नगरेको चन्दको भनाइ छ ।
अहिले उनको राजीनामा आएपछि सामाजिक सञ्जालमा पक्ष र विपक्षमा बहस भने छेडिएको छ । क्यानको असोज ५ र ६ गते चुनावी साधारणसभा हुँदै छ । चुनावको मुखमा जीएमले राजीनामा दिएको विषयलाई कतिपयले चुनावी एजेन्डाको रूपमा वर्तमान नेतृत्वमाथि हमला गर्ने हतियार पनि बनाउने मक्सद लिएको बुझिएको छ । तर, क्यान अध्यक्ष चन्दले यसले चुनावलाई कुनै प्रभाव नपार्ने बताउँदै प्रक्रियाअनुसार जिल्ला, प्रदेश र केन्द्रको अधिवेशन हुने बताए । क्यानको शुक्रबार बसेको बैठकले साउन जीएम खनालको राजीनामा स्वीकृत गर्दै अन्य निर्णयहरू पनि गरेको छ । त्यसमा अधिवेशन गर्नेदेखि खेलाडीको वर्गीकरण र क्रिकेट रंगशालाको नामकरण गर्नेसम्मका विषय रहेका छन् ।
राखेपले केही दिनअघिमात्रै विधान अनुमोदन गरेपछि शुक्रबार बसेको क्यानको बैठकले जिल्ला, प्रदेश र केन्द्रको चुनावी अधिवेशनको मिति तय गरेको हो । जसअनुसार साउन मसान्तभित्र क्यानका शाखा रहेका जिल्लामा अधिवेशन हुनेछ । क्यानका ४५ वटा जिल्लामा शाखा रहेका छन् । यसैगरी सातै प्रदेशको अधिवेशन भदौ १० गतेभित्र हुने गरी मिति तोकिएको छ । केन्द्रीय अधिवेशन भने असोजको ५ र ६ गतेलाई तय गरिएको छ ।
त्यस्तै क्यानले खेलाडीहरूको बाँकी ६ महिनाका लागि नयाँ वर्गीकरण गर्ने भएको छ । बोर्ड बैठकले राष्ट्रिय टिमका पुरुष तथा महिला खेलाडीहरूको २०२३ को बाँकी ६ महिनाका लागि खेलाडी वर्गीकरणको टुंगो लगाउनका लागि केन्द्रीय सदस्य ऋषिराज गौतम संयोजक रहेको ३ सदस्यीय समिति गठन गरिएको छ । उक्त समितिमा क्रिकेट म्यानेजर विनोदकुमार दास र छनोट समितिका संयोजक दीपेन्द्र चौधरी रहेका छन् ।
गत संस्करण निकै विवादित बनेको नेपाल प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करण आयोजना गर्ने सम्बन्धमा अध्ययन समिति पनि गठन गरिएको छ । आगामी संस्करण आयोजना गर्ने विषयमा अध्ययन गरी सुझाव पेस गर्नका लागि दुई सदस्यीय समिति गठन गरिएको हो । केन्द्रीय सदस्य कैलाश विष्टको संयोजकत्वमा रहेको समितिमा राखेप प्रतिनिधि छुम्बी लामा सदस्य रहेका छन् । यो समितिले एनपीएलबारे सुझाव दिनेछ ।
पहिलो संस्करण भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससँगको सहकार्यमा क्यानले नेपाल टी २० लिग आयोजना गरेको थियो । तर, सम्झौता पालना नगरेर भारतीय कम्पनी भागेपछि उक्त सम्झौता यसअघि नै रद्द गरिएको थियो ।
यसैगरी, एनपीएल आयोजना गर्दा यसअघि सञ्चालनमा रहेका फ्रेन्चाइज लिगहरू आयोजना हुन सकेका थिएनन् । यस विषयमा एभरेस्ट प्रिमियर लिग ईपीएलले अदालतको ढोका नै ढकढक्याएको थियो । तर, पछि दुवै पक्ष सहमतिमा आएपछि इपीएलले अदालतमा दायर गरेको मुद्दा फिर्ता लिएको छ भने क्यानले इपीएल आयोजना दिने सहमति गरेको छ ।
ईपीएलसहित अन्य फ्रेन्चाइज लिगकाबा बारेमा अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ । समितिको संयोजकमा केन्द्रीय सदस्य मोहम्मद दाउद अन्सारी, बागमती प्रदेश क्रिकेट संघका अध्यक्ष राजु बस्न्यात र सुदूरपश्चिम प्रदेश क्रिकेट संघका अध्यक्ष हरि रेग्मी सदस्य रहेका छन् ।
यसैगरी मूलपानीको माथिल्लो क्रिकेट मैदानको नामकरण नेपाल क्रिकेट संघका पूर्वअध्यक्ष स्व. जयकुमार नाथ शाहको नाममा ‘जयकुमार शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदान’ नामकरण गर्ने निर्णय गरिएको छ ।
वीरगन्जस्थित नारायणी रंगशाला परिसरमा अवस्थित क्रिकेट मैदानको नामकरण नेपाल क्रिकेट संघका पूर्वउपाध्यक्ष स्व. तारणीविक्रम शाहको नाममा ‘टीबी शाह क्रिकेट मैदान’ नामकरण गरिदिन राष्ट्रिय खेलकुद परिषद्लाई अनुरोध गरेको छ ।