देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एनआरटीले मनाङ मर्स्याङ्दीलाई १–० गोल अन्तरले हरायो : हिमालयन शेर्पा बिरुद्ध मछिन्द्रको सहज जित

देशान्तर

काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा दोस्रो स्थानको मछिन्द्र फुटबल क्लबले सहज जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार मछिन्द्रले हिमालयन शेर्पा क्लबलाई ३–१ गोल अन्तरले हराएको हो । मछिन्द्रको जितमा आफिज ओलावालेले दुई गोल गरे । विमल घर्ति मगरको नाममा एक गोल रह्यो ।

हिमालयनका पिस्टोन मुटुम्बाले एक गोल फर्काए । खेलको २६ औं मिनेटमा विमलले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाएका थिए । पुजन उपरकोटीको क्रसमा विमलले हेडरमार्फत उत्कृष्ट गोल गरे । खेलको ६८ औं मिनेटमा ओलावालेले गोल गर्दै मछिन्द्रको अग्रता २–० को बनाए । उनले युता सुजुकीको क्रसमा हेडरमार्फत गोल गरे । त्यसपछि खेलको ७७ औं मिनेटमा ओलावालेले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रलाई ३–० को अग्रता दिलाए । उनको यो जारी लिगमा २० औं गोल हो । हिमालयनका ओबयोमी फान्कुले पेनाल्टी क्षेत्रमा ओलावालेलाई फउल गर्दै लडाएपछि मछिन्द्रले पेनाल्टी पाएको थियो। खेलको अन्तिम १० मिनेट दुबै टोली १० खेलाडीमा समेटियो । खेलको ८२ औं मिनेटमा मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिए ।

उनले हिमालयनका पिस्टोन मुटम्बालाई पेनाल्टी बक्सको ठिक बाहिर फउल गर्दै लडाएपछि रातो कार्ड पाएका हुन् । यस्तै ८५ औं मिनेटमा निशान लिम्बुले रातो कार्ड पाएपछि हिमालयन पनि १० खेलाडीमा समेटियो । विपक्षी खेलाडीसँग झगडा गरेपछि उनलाई रातो कार्ड दिएर मैदान बाहिर पठाईएको हो । त्यसपछि खेलको ९० औं मिनेटमा हिमालयनका पिस्टोनले फ्रिकिकमार्फत गोल गरेपनि मछिन्द्र ३–१ ले विजयी भयो । मछिन्द्रको यो ११ औं जित हो । जितसँगै मछिन्द्रले २५ खेलमा ४२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । हिमालयनले २५ खेलमा ३१ अंक जोडेको छ । आजै च्यासल मैदानमा भएको खेलमा एनआरटीले मनाङ मर्स्याङ्दी क्लबलाई १–० गोल अन्तरले हराएको छ । एनआरटीको जितमा दिपेश आले मगरले निर्णायक गोल गरे । दिपेशले खेलको १७ औं मिनेटमा गोल गरे । एनआरटीको यो आठौं जित हो । जितसँगै एनआरटीले २५ खेलमा ३३ अंक जोडेको छ । मनाङले २५ खेलमा ३२ अंक जोडेको छ ।