देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चमेरो र लाटोकोसेरो


 

 

 

 

 

मेरो बदलिँदो आकाशमा
घना रातको अवसर छोपेर
कहिले नमिल्ने दुई प्राणीको
मित लगाइदिए
एउटालाई गुफाबाट निकालेर
अर्कोलाई रुखबाट उतारेर
हावासँग कावा खान थाले यी
नयाँ युगको सुरुवात गर्न
आफूलाई देउता भनेर
………………………………..
मैले पनि देउता नै ठानेर पुजे
जसरी रामरहीम र आशारामलाई पारी पुजेका थिए करोडौँले
ढुक्क थिए म
मेरो बदलिँदो सिङ्गो आकाशमा
अब निर्मल हाँसो फिँजिन्छ
सुन्दर बिहानीको लालिमा बोकेको
……………………………..
म पर्खेर बसे, पुजेर बसे
अवश्य उज्यालो हुन्छ भनेर
बुढो भएको पत्तै भएन
मेरो आकाशलाई कालो बादलले ढाक्दै गयो
अन्ततः दिउँसै अँध्यारो भयो
तन्नेरी भएको छोरो
मेरो बुढेसकालको लट्ठी
आफ्नै मुलुकमा बाँच्न नसक्ने भएर
मालाई नै छोडेर गयो
……………………………..
अन्तले मित लगाइदिएका
देउता बनेर मुलुक रूपान्तरण गर्न आएका यी
आफै रूपान्तरित भएका रहेछन्
एउटा चमेरो बनेर
अर्को लाटोकोसेरो बनेर
चमेरोले बच्चा जन्माउँछ
लाटोकोसेरोको अन्डा पार्छ
तर समानता छ मितेरीको
यी दुवै उड्न सक्छन्
यी दुवै राती मात्र आँखा देख्छन्
केवल अँध्यारो कर्म गर्न सक्छन्
…………………………………..
बाल शब्दमा अरू शब्द थपेपछि
अनेक शब्द बन्छन्
बालकृष्ण, बालगोपाल, बालमुकुन्द
तर अर्थ सबैको एउटै हुन्छ
चोरेर खाने रूपान्तरित बालकृष्ण कहिले अघाएनन्
अब कागज खोसेर खान थालेका छन्
मतपत्र चपाएर निल्दा
सुनको अन्डा परेको
उनले आफ्नै आँखाले देखेका थिए
त्यैले होला अहिले जायजन्म रोक्न
बालकृष्णले कागज चपाएर निले
खाएको ओकल्ने हुन्
या, कागत पचाउने हुन्
केही त अवश्य जन्मेला
कृष्ण त मरे
आफ्नै छोराले यस्तै जन्माएको बाट
रूपान्तरित प्रजाति बालकृष्ण
आखिर के हुन र?