देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तराईबाट पहाड र हिमाल चढ्दै औलो

देशान्तर

‘शून्य औलो अबको थालनी; नवीनतम कार्य, कार्यान्वयनमा लगानी’ भन्ने नारासहित आज विश्व औलो दिवस नेपालमा पनि विविध जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ ।

विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा सन् २००८ देखि यसका सदस्य राष्ट्रले अप्रिल २५ लाई विश्व औलो दिवसका रूपमा मनाउँदै आएका छन् । नेपालले विश्व समुदायमा गरेको प्रतिबद्धताअनुसार सन् २०२५ सम्म औलो निवारण गर्ने अतिमहत्वकाङ्क्षी लक्ष्य लिएको छ । सो लक्ष्यअनुसार औलो निवारण गर्न नेपालसँग मात्र तीन वर्षको समयसीमा बाँकी छ । यसमा पनि स्थानीय औलोका बिरामी र औलोबाट हुने मृत्युलाई शून्यमा झार्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको लक्ष्य निर्धारण गरेको छ ।

स्वास्थ्य सेवा विभाग, इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, एनटिडी तथा किटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा गोकर्ण दाहाल औलो रोग निवारण गर्न आयातित औलो चुनौतीका रूपमा रहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पछिल्लो समय औलोको जोखिम तराईमा मात्र होइन, पहाड र हिमाली क्षेत्रमा समेत देखिएको छ । यसमा पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्लामा बारम्बार औलोका बिरामी भेटिएका छन् ।”

उहाँका अनुसार आयातित औलो निवारण नै नेपालका लागि मुख्य चुनौती हो । यसबाहेक पनि औलोको परीक्षण नहुनु, भारतसँगको खुला सिमाना र भौगोलिक विकटता औलो निवारणका चुनौती हुन् । उहाँले भन्नुभयो, “चुनौतीका बाबजुद यस वर्षदेखि लगातार तीन वर्ष स्थानीय औलोका बिरामीको सङ्ख्या शून्यमा झार्न लागिपरेका छौँ ।”

नेपालमा विगत एक सय वर्षदेखि औलोको समस्या देखिँदै आएको जनाइएको छ । यस रोगका बिरामीमा पक्षघात र मष्तिस्काघातको जोखिम हुने गर्दछ । शाखा प्रमुख डा दाहालका अनुसार सन् २०२२ मा औलोका पाँच सय १२ बिरामी भेटिएका थिए । तीमध्ये चार सय ७६ बिरामी अन्य देशबाट औलो सङ्क्रमित भएर आएका र बाँकी ३६ स्थानीय बिरामी रहेका थिए ।

सन् २०१५ सम्म हजारभन्दा माथि औलोबाट प्रभावित भएका थिए । सन् २०१६ मा औलोबाट तीन जनाको अकाल मृत्यु भएको थियो । सन् २०२१ सम्म एक जनाको मृत्यु भयो । औलोको धेरै बिरामी सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशमा भेटिँदै आएको शाखाको तथ्याङ्कमा उल्लेख छ ।

चिकित्सकका अनुसार औलो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सरुवा रोग हो । औलो सङ्क्रमित ‘एनोफिलस’ जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा शेरबहादुर पुन भन्नुहुन्छ, “औलो सामान्य र कडा लक्षणसहितका हुन सक्छन् । औलो सङ्क्रमण भएको सातदेखि ३० दिनसम्म औलोको लक्षण देखिन सक्छ ।” उहाँका अनुसार सामान्यतया ज्वरो आउने, टाउको दुख्ने, वाकवाक लाग्ने, वान्ता हुने लक्षण देखिन्छ । लक्षण देखिएका व्यक्तिले तत्काल स्वास्थ्य परीक्षण गराउन उहाँको सुझाव छ ।

उहाँका अनुसार ‘फाल्सिफारम’ र ‘भाइभेक्स’ औलो धेरै देखिने गरेको छ । फाल्सिफारम बढी घातक मानिन्छ । उहाँका अनुसार औलोका कारण गम्भीर स्वास्थ्य समस्या र बिरामीको मृत्युको जोखिमसमेत हुन्छ । डा पुन भन्नुहुन्छ, “औलो सङ्क्रमितलाई जाडो, गर्मी र पसिना आउने तीन चरण देखिन्छ । औलो कडा हुँदै गएमा जन्डिस देखापर्छ, कलेजो सुनिन्ने, मिर्गौला र श्वासप्रश्वासमा समस्या देखिएर मृत्युसम्मको जोखिम हुन्छ ।” फाल्सिफारमका लागि औलोविरुद्ध औषधिको प्रयोगबाट औलोको उपचार गरिन्छ । गर्मी र वर्षायाममा लामखुट्टेको टोकाइबाट बच्न चिकित्सकको सुझाव छ ।