देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुर्खेतका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

देशान्तर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सुर्खेतको पञ्चपुरी नगरपालिकाका तत्कालीन प्रमुख उपेन्द्रबहादुर थापासहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

पञ्चपुरी नगरपालिकाले उद्यमशीलता साझेदारी परियोजनाअन्तर्गत नमुना गाउँ निर्माण कार्यक्रम सञ्चालनको लागि नमुना समाज सुर्खेतसँग सम्झौता गरी रकम भुक्तानी गर्दा २ करोड २० लाख रूपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

अख्तियारले पञ्चपुरी नगरपालिकाका तत्कालीन नगर प्रमुख उपेन्द्रबहादुर थापाविरुद्ध ५० लाख बिगो कायम गरी मुद्दा दायर गरेको छ।

पञ्चपुरीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पित्रीभक्त गिरीविरुद्ध ३० लाख, अर्का प्रशासकीय अधिकृत हरिप्रसाद देवकोटाविरुद्ध २० लाख र लेखा अधिकृत मोहनबहादुर बुढाविरुद्ध ५० लाख रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।