देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओलम्पिक छनोटका लागि राष्ट्रिय महिला फुटबल टिम घोषणा

देशान्तर

काठमाडौं । पेरिस ओलम्पिक अन्तर्गत महिला फुटबलको एसियाली पहिलो चरणको छनोटका लागि नेपाली टोली घोषणा भएको छ ।

मुख्य प्रशिक्षक अनन्तराज थापाले घोषणा गरेको २२ सदस्यीय टोलीमा डिफेण्डर सृजना चेम्जोङ नयाँ अनुहारका रुपमा छिन् ।

यस्तै पुजा रानाले टिममा पुनरागमन गरेकी छिन् । गत महिना भारतसँग मैत्रीपूर्ण फुटबल खेल्ने टिममा पुजा थिइनन् ।

भारत भ्रमणका क्रममा चोट लागेकी डिफेण्डर गीता राना हाल शल्यक्रियापछि आराममा छिन् भने भारतसँग खेलेकी यू(२० टिमकी कप्तान प्रिती राई पनि टिममा परिनन् ।

प्रशिक्षक थापाले गोलकिपर एन्जिला तुम्बाफो सुब्बाको कप्तानीमा २२ सदस्यीय टोली घोषणा गरेका हुन् । प्रशिक्षक थापाले ओलम्पिकको रेगुलेसन अनुसार २२ जना मात्र खेलाडी राख्न मिल्ने बताए ।

एसियाली पहिलो चरणको छनोटमा समूह सी मा रहेको नेपालले भियतनामासँग घरेलु मैदानमा दुई खेल खेल्नेछ ।

नेपाल र भियतनामबीच यही चैत २२ र २५ गते दशरथ रंगशालमा खेल हुनेछ । यस समूहमा रहेका प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि दुई टिमबीच दुई लेगको खेल हुने भएको हो ।