देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमाले अब के गर्ला ?

देशान्तर


लोकराज अधिकारी

पुस १० मा पुरानो गठबन्धन हाइज्याक गरेर आक्रामक बनेको बार्दली गठबन्धन फागुन १२ मा भत्केपछि एमाले विशेषगरी केपी शर्मा ओली अहिले रक्षात्मक अवस्थामा पुगेका छन् । सभामुखमा खल्तीको मान्छेलाई जिताएका ओलीले राष्ट्रपतिमा आफ्नै साडु ईश्वर पोख्रेल वा खल्तीका मान्छेलाई जिताएर प्रचण्डमाथि अझै हाबी हुन चाहन्थे । सत्तापक्ष त्यसमाथि डिफ्याक्टो प्रधानमन्त्री बनेका ओली राष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा ब्युँतिएको पुरानो गठबन्धन र त्यसमा थपिएका अन्य दलका कारण नीदहराम भएको अवस्थामा पुगे ।

नयाँ गठबन्धनले राष्ट्रपतिमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाएपछि बाध्य भएर ओलीले हार्ने राष्ट्रपतिको चुनावमा पूर्वसभामुख सुवास नेम्वाङलाई उम्मेदवार बनाए । नेम्वाङलाई देखाएर राप्रपा, रास्वपा केही साना दल र एकीकृत समाजवादीको मत चोरेर जित्न सकिन्छ भन्ने ओलीको बुझाइ थियो । तर राप्रापाले चुनावमा भाग नलिने निर्णय गरेपछि पौडेललाई राहत र ओलीलाई पहिलो आहत सुरु भएको थियो । निर्वाचनकै दिन बिहान रास्वपाले पनि पौडेललाई मत दिने निर्णय लिएपछि भने ओलीको मुहारको कान्ति क्षय भएको थियो । मतदान स्थलबाट बाहिरिँदा कांग्रेससँग सहकार्य नगर्ने कसम खाएको छैन भन्ने अभिव्यक्ति दिँदा ओली खेल हारेर मैदानबाट निस्केकोे खेलाडीजस्तो देखिएका थिए । राजनीतिमा असम्भव केही छैन भन्ने ओलीको इच्छा दुई ठूला दल मिलेर साना दललाई ठेगान लाउनुपर्छ विशेषगरी प्रचण्डलाई सडकमा पु¥यााएर बदला लिनुपर्छ भन्ने सर्तमा त्यस्का लागि जे पनि गर्न तयार छु भन्ने सन्देश पनि हो ।

रामचन्द्र पौडेल राष्ट्रपति भइसकेको अवस्था र शेरबहादुर देउवाको छैटाैं पटक प्रधानमन्त्री बन्ने भित्री चाहनासँग एमाले नखेल्ला भन्न सकिन्न । देउवालाई पूरै कार्यकालको प्रधानमन्त्रीमा सहमति गरेर कांग्रेस एमाले गठबन्धन बनाउन पूरै जोड दिनेछन् ओलीले अब । प्रदेशतर्फ पनि सत्ता गठबन्धन फेरिए पछि एमालेका मुख्य मन्त्रीहरूको दिनगन्ती सुरु भइसकेको छ । उपराष्ट्रपतिको निर्वाचनपछि संघमा नयाँ गठबन्धनको संयुक्त सरकार बन्नेछ भने प्रदेशको समीकरण फेरिनेछ । देउवालाई ओलीले फकाउने प्रयास निरन्तर गर्नेमा कांग्रेस पदाधिकारी पनि जानकार छन् ।

त्यसै भएर होला ओलीको कांग्रेससँगको सहकार्यको कुराको ताजा प्रतिक्रियामा कांग्रेस महामन्त्री गगनकुमार थापाले एमालेसँग सहकार्य अर्को आम निर्वाचनपछि प्रतिपक्षी दलका नेताका रूपमा हुने तर सत्तापक्षका रूपमा नहुने बताएका थिए । उनले पटकपटक झुक्याउन असम्भव भएको भन्दै ओलीको सहकार्यको कुरालाई खारेज गरिदएका थिए । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले पनि वर्तमान सत्ता गठबन्धन अब कसैको सपनामा भत्किए पनि विपनामा नभत्किने भनेर प्रतिक्रिया दिइसकेका छन् ।

उपराष्ट्रपतिको निर्वाचनमा एमालेले अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाएको छ । हार हुने निश्चित हुँदाहुँदै पनि उस्ले सत्ता साझेदारीमा ढोक्सा थापेको हो । लोकतन्त्रलाई बलियो बनाउन भनेर उम्मेदवारी दर्ता गरेको एमालेले लोकतान्त्रिक शक्ति मिल्नुपर्ने भन्दै कांग्रेसलाई फकाउने सक्दो प्रयास गरिरहनेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रत्यक्ष छुने गरी फौजदारी अभियोगउपर सर्वोच्च अदालतमा मुद्दा परेको र माओवादी धारका कम्युनिस्टहरू एकै ठाउँमा उभिएको अहिलेको अवस्थामा लोकतान्त्रिक शक्ति मिल्नुपर्ने र बलियो सरकार बनाउनुपर्ने भन्दै एमालेले कांग्रेसलाई कित्ता परिवर्तन गराउन कोसिस जारी राख्नेछ ।

प्रचण्डलाई अस्थिरतामा फाइदा उठाइराख्ने मौका दिनु हुँदैन भनेर विशेष परिस्थितिमा दुई ठूला दलबीच सहकार्य गर्नुपर्ने प्रस्ताव एमालेले राष्ट्रपति निर्वाचनअघि नै कांग्रेस समक्ष राखिसकेको छ । ओलीले पाँच वर्ष यो गठबन्धन नटिक्ने दाबी गर्दै आएका छन् । तर गठबन्धन ५ दलबाट १० दलमा पुगिसकेको छ । नेपालका लागि भारतीय राजदूतसमेत भइसकेका रञ्जित रेले एक आलेखमा कांग्रेस–एमाले सहकार्य उल्लेख गरेका थिए भने एमाले अध्यक्ष केपी शर्मा ओलीले देउवालाई पाँचै वर्ष सुनिश्चित हुने गरी प्रधानमन्त्री अफर गरेको चर्चा लुकेको छैन ।

सत्ता गठबन्धनमा सानो असमझदारी हुनासाथ एमाले उत्साहित र सक्रिय हुने नै छ । एमाले गौंडो ढुकेरै बसेको छ । कुनामा बसेको चेसको घोडाको चालमा छ एमाले सिधै हैन घुमाएर हात्ती लडाउन चाहन्छ ।