देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रामचन्द्रले गठबन्धनको मात्रै राष्ट्रपति बन्ने काम गर्नुहुँदैन: रिजाल

'गठबन्धनका बीचमा भएको शर्तहरु कार्यान्वयन गर्ने जिम्मेवारी राष्ट्रपतिको होइन'

देशान्तर

काठमाडौं– नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले गठबन्धनको सहमति कार्यान्वयन गर्ने राष्ट्रपतिको रुपमा काम गर्नु नहुने बताएका छन् । नेता रिजालले नवनिर्वाचित राष्ट्रपति पौडेलले संविधानभन्दा बाहिर गएर गठबन्धन राजनीतिको साक्षिको रुपमा काम नगर्ने स्पष्ट पारेका हुन् ।

उनले राष्ट्रपतिले गठबन्धनको सहमतिलाई कार्यान्वयन गर्ने राष्ट्रपतिको रुपमा काम नगर्ने पनि स्पष्ट पारे । शुक्रबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उनले गठबन्धनमा भएका शर्तहरुको जिम्मा राष्ट्रपतिले लिएर सोहीअनुसार भूमिका गर्नुपर्छ भन्ने नसोच्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुझाव दिए ।

गठबन्धनका बीचमा भएको शर्तहरु कार्यान्वयन गर्ने जिम्मेवारी राष्ट्रपतिको नभएको उनको भनाइ छ । नेता रिजालले गठबन्धनका बिचमा भएका सहमति कार्यन्वयन पार्टीले गर्ने र त्यसका लागि नेपाली कांग्रेस इमान्दार हुने बताए ।

उनले भने, ‘हतार हतारमा पुरानो गठबन्धन छोडेर प्रधानमन्त्री बन्नका लागि नयाँ गठबन्धन प्रचण्डजीले बनाउँदाखेरी अब त्यो गठबन्धनको मुल कार्यभारलाई बोक्ने व्यक्ति मात्रै राष्ट्रपति हुनुपर्छ भन्ने भाव रह्यो। त्यस्तो राष्ट्रपति बन्यो भने प्रधानमन्त्रीले संविधानले दिएको भुमिका गर्न सक्दैन भन्ने प्रचण्डजीको मनमा संशय पनि, त्रास पनि पैदा भयो। त्यो संशय र त्रासबाट उहाँले अर्को राजनीतिक गठबन्धन खोजि गर्नुभयो। पुरानो गठबन्धन बाट फिर्ता हुने कोशिस गर्नुभयो। कांग्रेसलाई पनि त्यत्रो क्षतिबाट निस्किन, उम्किनलाई, न्यूनीकरण गर्नका लागि नयाँ बाटोको खोजि गर्नुपर्ने हुन्थ्यो। दुईवटै स्वार्थ मिल्यो। हाम्रो पार्टीको पनि उहाँसँग स्वार्थ मिल्यो। त्यसअर्थमा उहाँलाई हामीले समर्थन गर्‍यौँ। उहाँको समर्थनबाट रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित हुनुभएको छ। तर हामी सबैले बुझ्नुपर्ने कुरा के हो भन्दा रामचन्द्र पौडेलले संविधानभन्दा बाहिर गएर यो गठबन्धनको राजनीतिको साक्षिको रुपमा, यो गठबन्धनको सहमतीलाई कार्यान्वयन गर्ने राष्ट्रपतिको रुपमा काम गर्नुहुन्न।’

उनले राष्ट्रपति पौडेल गठबन्धनको परिधि भित्र नबस्ने बताए। पौडेल आफ्नो पूर्वपार्टी नेपाली कांग्रेसको परिधिभित्र पनि नबस्ने स्पष्ट पारे । संविधानको परिधिभित्र बस्ने र संविधानको भावनाभन्दा बाहिर गएर कुनै भूमिका नखेल्ने उनले विश्वास व्यक्त गरे ।

उनले भने, ‘सुयोग्य व्यक्ति राष्ट्रपतिका लागि निर्वाचित हुनुभएको छ। यो संविधानलाई पूर्ण रुपमा आत्मसात गरेको मान्छे। यो संविधानभन्दा बाहिर रत्ति पनि विचार नराख्ने मान्छे समकालिन राजनीतिमा अरू कोही देखेको छैन। रामचन्द्र पौडेलजति संविधानकाप्रति प्रतिवद्ध कुनैपनि पार्टीमा अर्को नेता देखेको छैन। रामचन्द्र पौडेलले संविधानको भावनाभन्दा बाहिर गएर राष्ट्रपतिको भूमिका गर्नुहोला भन्ने मलाई लाग्दैन। संविधानले परिकल्पना गरेको राष्ट्रपतिको भूमिका भन्दा बाहिर जानुहुन्न भन्ने विश्वास गर्ने बलियो आधार छ।’

नेता रिजालले प्रधानमन्त्री पुष्पकमल दाहालले माओवादी पुष्ठभूमिका नेताहरुलाई मिलाएर सोही अनुरुपको राजनीतिक धार बोकेमा कांग्रेसले साथ दिन नसक्ने चेतावनी दिए । उनले माओवादी केन्द्रका नेताहरुलाई जोखिम पार्नु नहुनेमा विगतका सात राजनीतिक दल र तत्कालीन माओवादी पार्टीको प्रतिवद्धता रहेको बताए ।

माओवादी केन्द्र वैचारिक रुपमा अन्य माओवादी घटकहरुसँग एक भएको खण्डमा नेपाली कांग्रेस पनि संसदीय फाँटका राजनीतिक दलहरुसँग एकै ठाउँमा उभिने उनले बताए । उनले प्रधानमन्त्री दाहाल कांग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइरालासँग गरेको हस्ताक्षर र वर्तमान सभापति शेरबहादुर देउवासँग गरेको सहमति अनुरुप हिँडेमा कांग्रेसबाट धोका नहुने स्पष्ट पारे ।

नेता रिजालले प्रधानमन्त्री दाहालले ०५२ सालमा सुरु भएको सशस्त्र बिद्रोहलाई जनयुद्ध दिवसको रुपमा बिदा दिएर विस्तृत शान्ति सम्झौता, १२ बुँदे समझदारी र संविधानको भावनाभन्दा बाहिर गएको बताए। दाहाल यसप्रकारको बाटोमा जान थाले उनलाई नेपाली कांग्रेसले बोक्न नसक्ने चेतावनी दिए ।