देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ट्रमा सेन्टरमा पौडेलको ब्रह्मलुट

देशान्तर

काठमाडौं । कुनै पनि खालका दुर्घटनामा गम्भीर घाइते बिरामीको हाडजोर्नी सम्बन्धी उपचार गर्ने देशभरमै कहलिएको एक मात्र सरकारी अस्पताल हो, राष्ट्रिय ट्रमा सेन्टर । भारत सरकारको सहयोगमा निर्मित यो अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत सञ्चालित छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेटमार्फत सञ्चालित अस्पतालमा उपचार शुल्क पनि सस्तो पर्ने हुँदा देशभरबाट गरिब र निम्न आयस्तर भएका धेरै बिरामी आउने गरेका छन् । ट्रमा सेन्टरप्रति जनताको विश्वास धेरै रहे पनि पटकपटक यो अस्पताल विवादमा भने आइरहन्छ । यहाँको नेतृत्व गर्नेहरू विभिन्न आर्थिक लेनदेनमा परिरहेका हुन्छन् । पछिल्लो समय राष्ट्रिय ट्रमा सेन्टरका पूर्वनिर्देशक डा.सन्तोष पौडेलले अनियमितता गरेको फेला परेको छ ।

पूर्व निर्देशक पौडेल अर्थोपेडिक सर्जन हुन् । उनले ट्रमा सेन्टरमा निर्देशन बन्नका लागि तत्कालीन उपकुलपतिसँग मिलेमतो गरेका थिए । जसका कारण सेवा अवधि नपुगेरै अध्ययन गरे अनि ट्रमा सेन्टरमा निर्देशक रहँदा कर्मचारी नियुक्तिमा आर्थिक लेनदेन गरेको समेत बुझिएको छ । साथै उनले विभिन्न मेसिन खरिदमा पनि र्‍याल काढेको पनि बुझिएको छ । उनले सिआर्म, डेक्सा मेसिन, एचडी माइक्रोस्कोप, एम्बुलेन्स खरिद तथा क्यान्टिनको टेन्डरमा पनि पैसा खाएको अस्पताल स्रोतले देशान्तरलाई बताएको छ । उनले गरेका गलत कामको फेहरिस्तसहित विगतमै पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा उजुरी परेको थियो ।

२०७७ फागुन २ गते प्रधानमन्त्री कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कताका केन्द्र र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा उजुरी परेपछि १३ गते स्वास्थ्य मन्त्रालयले चार सदस्यीय छानबिन समिति नै गठन गरेको थियो । उक्त समितिले पौडेलबाट अनियमितता भएको र यसबारे उपल्लो तहबाटै छानबिन गर्नुपर्ने निष्कर्ष निकालिएको थियो । उक्त प्रतिवेदन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुझाइएको थियो भने अख्तियारलाई पनि जानकारी गराइएको थिाये । तर पछिल्लो समय अख्तियारलगायत कतैबाट पनि पूर्वनिर्देशक पौडेलविरुद्ध कानुनी कारबाहीको प्रक्रिया सुरु नभएपछि पुस २४ गते फेरि कर्मचारीहरूले विगतकै जसरी प्रधानमन्त्री कार्यालय, अख्तियार, राष्ट्रिय सतर्कता केन्द्रसहित स्वास्थ्य मन्त्रालय र मन्त्रीलाई छानबिन तथा कारबाहीको लागि निवेदन पेस दिएका छन् ।

तत्कालीन निर्देशक डा. सन्तोष पौडेलले अर्थोपेडिक सर्जरी इन्टुमेन्ट एरिना इन्टरनेसनललाई, स्पाइन सर्जरी इस्टुमेन्ट, एरिना इन्टरनेसनल, हेड एन्ड माइक्रोसर्जरी इस्टुमेन्ट, बायोमेड इन्टरनेसनलाई एनेस्थेसिया मेसिन, म्याक्सिम इन्को अपरेसन, सिआर्म मेसिन म्याक्स मेडिटेक सिस्टमलाई, हाई एन्ड अप्रेटिङ माइक्रोस्कोप इस्ट वेस्ट कन्सर्नलाई, डक्सा मेसिन सञ्जीवनी इन्टरप्राइजेजलाई, ओटी लाइट म्याक्सिम इन् कोअपरेसनलाई, पोर्टेवल भिडियो एक्सरे म्याक्स मेडिटेकसँग सम्झौता गरी खरिद गरेका थिए ।

सो सामान खरिद गर्दा आवश्यकता पहिचान, स्पेसिफिकेसन, अनुमानित लागत, टेन्डर स्वीकृत, बोलपत्र मूल्यांकन, समिति गठन गर्दा सबैमा आफू निकट संयोजक र सदस्य राखी नियमविपरीत टेन्डर स्वीकृत गरी करोडौं अनियमितता पौडेलले गरेको त्यही कार्यरत कर्मचारीहरूले नै बताउने गरेका छन् । २०७७ जेठ २८ गते प्रकाशित ‘क’ वर्गको एम्बुलेन्स खरिदमा समेत पूर्वनिर्देशक पौडेलले त्यो एम्बुलेन्स खरिद नगरी ठूलो अनियमितता गरेका थिए । फोटोन टर्नल्यान्ड एम्बुलेन्स, इन्जिन नम्बर ७६०३०४०७ र च्यासिस नम्बर एलभीएभीटूकेबीबी ४ एलसी ०६०५१४ नम्बरको उल्लेखित एम्बुलेन्स मेउ भिर्दी कमरसियल भेहकल प्रालिलाई ८९ लाख ९५ हजारमा खरिद गरी आयात गरेका थिए ।
एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका २०७३ विपरीत स्पेसिफिकेसन नमिल्दा पनि उनकै जोरजर्बजस्तीमा खरिद गरिएको थियो । त्यस्तै २०७७ साउन ३ गते ट्रमा सेन्टरको क्यान्टिन कफीसप भन्दै सूचना प्रकाशित गरेको तर सम्झौता गर्दा सुनील क्यान्टिन तथा कपडा खुद्रा पसल थापाथली काठमाडौंलाई पूरै क्यान्टिन सञ्चालन गर्ने गरी सम्झौता गरी अनियमितता गरेको पनि पाइएको छ ।