देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मैले संसद्मा असाधारण विश्वास पाएको छुः प्रधानमन्त्री

देशान्तर

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको प्रधानमन्त्रीको रुपमा प्रतिनिधिसभामा आफूलाई असाधारण विश्वास प्राप्त भएको बताएका छन् । शनिबार गोरखाका कम्युनिष्ट नेता भुवनप्रसाद श्रेष्ठको जीवन दस्तावेज कम्युनिष्ट आन्दोलनका प्रेरक ‘भुवन दाइ’ पुस्तक विमोचन गर्दै मुलुकको प्रधानमन्त्रीको रुपमा आफूले पाएको विश्वासलाई गौरव र चुनौती दुवैरुपमा लिएको बताएका हुन् ।

‘यसपटक म प्रधानमन्त्री त भएँ । तर विश्वासको मत लिँदा यस्तो असाधारण परिस्थिति बन्यो कि मैले संसद्मा असाधारण विश्वास पाएको छु,’ प्रधानमन्त्री दाहालले भने, ‘मैले त राष्ट्रिय सहमतिको सरकारको प्रधानमन्त्रीको रुपमा आफूलाई अनुभूति गरेको छु । यसलाई थप जिम्मेवारी, गौरव र चुनौतीपूर्ण अवसरको रुपमा बुझेको छु ।’

पुस्तकमा श्रेष्ठले प्रधानमन्त्री दाहालले शिक्षकको रुपमा गोरखामा बिताएको समयको संस्मरणसमेत समेटेका छन् ।

प्रधानमन्त्री प्रचण्डले ४६ वर्षपछि आफू गोरखाको जनप्रतिनिधिको रुपमा प्रधानमन्त्री बनेको बताए । ‘अहिले म ४६ वर्षपछि गोरखाकै जनप्रतिनिधिको रुपमा निर्वाचित भएर देशको प्रधानमन्त्री बनेको छु । अब यहाँको बुढीगण्डकी जलविद्युत्देखि बेनीघाट–आरुघाट सडकको कुरा होस् या अरु विकासको कुरा होस् । यी कुराहरूमा मेरो विशेष ध्यान छ । मैले यहाँको जनप्रतिनिधि नहुँदा पनि यी विषयमा मेरो ध्यान थियो, अब त झन् हुन्छ,’ उनले भने ।