देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

घनश्याम भूसाल एकीकृत समाजवादीमा प्रवेश

भुसालले भनेः सर्वत्र ओलीवाद हावी भएपछि कम्युनिस्ट आन्दोलन धरापमा पर्यो

देशान्तर

काठमाडौं – नेकपा एमालेका पूर्व–उपमहासचिव एवं वामपन्थी नेता घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी पार्टी) मा प्रवेश गरेका छन् । शुक्रबार नयाँ बानेश्वरस्थित अर्याल होटलमा पत्रकार सम्मेलन गर्दै भुसाल नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका हुन् ।

गएको मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा एमालेबाट टिकट नपाएपछि उहाँले एमाले छाडेर रुपन्देहीबाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । एकीकृत समाजवादीले भुसाललाई सचिवालय सदस्यमा मनोनयन गर्ने तयारी गरेको छ ।

कार्यक्रममा भुसालले पूर्वअध्यक्ष केपी ओलीलाई ओलीवादकै आडमा संवैधानिक सर्वोच्चता र जनताको बहुदलीय जनवादलाई ध्वस्त बनाएको आरोप लगाएका छन् । ‘ओलीवाद, ओली विचार र ओली संगठनसँगको विचाराधारात्मक संघर्षपछि मैले नेकपा एसमा आफ्नो सदस्यता नवीकरण गरेको हुँ । एमालेमा संगठन कस्तो हुन्छ भन्दा सौराहा काण्ड देखिएकै हो । सिद्धान्त के हो भन्दा राज्य र पार्टी सबै मेरा चाकर हुन् । विचार के हो भन्दा सर्वत्र म । ज्ञान, विज्ञान र तर्कमाथि ओलीवाद हाबी भएका कारण कम्युनिस्ट आन्दोलन अप्ठेरोमा परेको हो’, ओलीमाथि भुसालले आरोप लगाए ।

अब ओलीवादले धराशायी बनाएको कम्युनिष्ट आन्दोलन समाजवादीले नै अघि बढाउँने उनको तर्क छ । त्यस्तै भुसालले एकीकृत कम्युनिस्ट पार्टी र नेकपाको असली विरासत माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा रहेको दाबी गरे ।

भुसालले एकीकृत समाजवादी पार्टीमा रहेर ठूला पार्टीलाई एक बनाउन पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।