देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण

देशान्तर

काठमाडौं – नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष सन् २०२२/०२३ मा पाँच दशमलव एक र २०२३/०२४ मा चार दशमलव नौ प्रतिशत रहने प्रक्षेपण सार्वजनिक भएको छ ।

विश्व बैंकले ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट’ प्रतिवेदन सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो । आव २०२१/०२२ मा नेपालले पाँच दशमलव आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान रहेको पनि विश्व बैंकले जनाएको छ ।

विश्व बैंकको अघिल्लो प्रक्षेपणको तुलनामा नयाँ प्रक्षेपणले नेपालको मात्र नभई विश्व आर्थिक वृद्धिदरमा समेत सङ्कुचन आउने देखाएको छ । नयाँ प्रक्षेपणअनुसार सन् २०२३ मा विश्व आर्थिक वृद्धिदर एक दशमलव सात प्रतिशतमा खुम्चने छ । जुन अघिल्लो अनुमानभन्दा एक दशमलव तीन प्रतिशत विन्दुले न्यून हो ।

विश्व बैंकले छ महिनाअघि अर्थात् गत जुन महिनामा मात्र विश्व आर्थिक वृद्धिदर तीन प्रतिशत रहने अनुमान सार्वजनिक गरेको थियो । सन् २०२४ मा भने विश्व आर्थिक वृद्धिदर दुई दशमलव सात प्रतिशत रहने प्रक्षेपण छ ।

रुस–युक्रेन युद्ध र कोभिड महामारीको प्रभावलाई न्यून आर्थिक वृद्धिदरको मुख्य कारणका रूपमा हेरिएको छ । त्यस्तै, उच्च मूल्यवृद्धि, उच्च ब्याजदर, न्यून लगानी, आपूर्ति शृङ्खलामा देखिएको अवरोधलगायतका कारणले पनि आर्थिक वृद्धिदरमा गिरावट आएको विश्व बैंकले जनाएको छ ।

सन् २००९ को विश्व आर्थिकमन्दी र २०२० मा महामारीका कारण न्यून देखिएको आर्थिक वृद्धिदरपछि यस वर्ष सबैभन्दा कम आर्थिक वृद्धिदर रहेको पनि विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ ।रासस