देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बोटे समुदाय भन्छन् : लालपुर्जा दिनेलाई भोट

देशान्तर

नवलपुर – आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरू मत माग्दै घरदैलोमा व्यस्त छन्। आफ्नो पक्षमा मतदातालाई आकर्षित गर्न घरदैलोमा पुगेका उम्मेदवारसँग मतदाताले विभिन्न माग राख्ने गरेका छन्।

नारायणी नदी किनारमा बसोबास गर्दै सीमान्तकृत समुदायमा पर्ने बोटे समुदायले भने लालपुर्जा उपलब्ध गराउने उम्मेदवारलाई मतदान गर्ने बताएका छन्। वर्षौँदेखि खोला किनारमा बस्ने र माछा मारेर जीविका चलाउँदै आएको यस समुदायले माछा मारेर जीविकोपार्जनमा समस्या भएको जनाउँदै आफूहरूलाई जमिन र पुर्जा दिनुपर्ने माग गर्दै आएका छन्। अहिले अधिकांश ती समुदायका व्यक्तिको घर भए पनि त्यो घर भएको जग्गाको पुर्जा भने उनीहरूको नाममा नभएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–३ ब्रम्हस्थानका बोटे अगुवा मङ्गुराम बोटेले बताए।

“हामी बाबुबाजेको पालादेखि खोला किनारमै बस्दै आयौँ, हामी र हाम्रा सन्तान पनि खोला किनारमै जन्मिने र हुर्किने गरे”, उनले भने, “अबको समय भने बदलिएको छ, नयाँ पुस्ता माछा मार्न जानै छाडे, आफ्नो नाममा जमिन छैन।” जुन उम्मेदवारले जमिन र लालपुर्जा दिने प्रतिबद्धतासहित विश्वस्त पार्छन् उनै उम्मेदवारलाई मतदान गर्ने आफूहरूको सोच भएको बोटेले बताए। ती समुदायका मानिस बस्दै आएको ठाउँमा विभिन्न समयमा जग्गा नापी गरिएको भए पनि हालसम्म आफूहरूको हातमा लालपुर्जा प्राप्त नभएको उनीहरूको भनाइ छ।

ब्रम्हस्थानकै डम्मरबहादुर बोटेले विसं २०५२/२०५४ लगायत विभिन्न समयमा आफूहरू बसोबास गरेको ठाउँमा नापी भएको उल्लेख गर्दै हालसम्म लालपुर्जा नपाएको गुनासो गरे। “ विसं २०५२/५४ पछि पनि धेरैपटक यहाँ जग्गा दिने भन्दै आश्वासन बाँड्न नेता आएका छन्”, उनले भने, “भोट माग्न आउने नेतालाई जिताएर पठायौँ तर उनीहरुले लालपुर्जा दिनु त परको कुरा हो, चुनाव जितेपछि फर्केर पनि आउँदैनन्।” निर्वाचनका बेला बोटे समुदायलगायत सुकुमबासीको मत निर्णायक हुने भए पनि निर्वाचन जितेपछि उनीहरुको अवस्थाका बारेमा कमैले जानकारी लिने गरेको उनको भनाइ छ।

जग्गा र लालपुर्जासँगै आफूहरूलाई सीप र रोजगारीको आवश्यकता भएको आइतीमाया बोटेले बताए। “हामीसँग माछा मारेर खानेबाहेकका अन्य कुनै पनि सीप छैनन्”, उनले भने, “सधैँभरि माछा मारेर खान पनि पुग्दैन, हिजोआज त नारायणीमा माछा मार्नका लागि पनि निकुञ्जले अवरोध गर्ने गरेको छ । त्यसैले अब सीप सिकाएर हामीलाई रोजगार दिनुपर्छ।” आफ्ना बालबालिका विद्यालय जानै नमान्ने अवस्था रहेको भन्दै बोटेले बालबालिकालाई विद्यालय पुगेर पढ्ने–लेख्ने वातावरण गराउनु पनि जनप्रतिनिधिको दायित्व भएको बताए।

पहिलोपटक मतदानमा सहभागी हुने तयारीमा रहेका बोटे समुदायका युवा भने मतदानमा उत्साहीसँगै आफूहरूको अवस्था परिवर्तन आउनेमा आशावादी छन्। “बोटे समुदायका केही युवाले उच्च शिक्षासमेत हासिल गरेका छन्”, पहिलोपटक मतदान गर्ने तयारीमा रहेका युवा प्रमोद बोटेले भने, “उनीहरूलाई योग्यताअनुसारको रोजगारी र बेरोजगार युवालाई सीप सिकाएर स्वरोजगार बन्न प्रेरित गर्नुपर्छ।” नारायणी नदीले छोएको जिल्लाको स्थानीय तहहरूमा बोटे समुदायको बसोबास रहेको छ।

जिल्लाको गैँडाकोट , देवचुली , कावासोती , मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकामा पर्ने नारायणी नदी किनारका गाउँमा सो समुदायको बसोबास छ। यहाँ बसोबास गर्ने अधिकांश बोटे समुदायका मानिस सुकुम्बासी अवस्थामा छन्। एघारौँ राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा १० हजार तीन सय ९७ जना बोटे समुदायका मानिस रहेका छन् भने सबैभन्दा बढी नारायणी तथा कालीगण्डकी नदी किनारमा बसोबास गर्छन्।