देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चुनावमा ठूलालाई नै समस्या!

देशान्तर

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश निर्वाचनमा प्रमुख राजनीतिक दलका शीर्षसहित प्रभावशाली नेताहरूलाई नै चुनावी परिणाम आफ्नो पक्षमा पार्न कठिन हुने देखिएको छ । कांग्रेस नेतृत्वमा रहेको सत्ता गठबन्धनका कारण एमाले नेतृत्वमा रहेको पूर्वपञ्चसहितको गठबन्धनका शीर्ष नेताहरू नै आगामी निर्वाचनबाट जनअनुमोदित हुन कठिन रहेको स्थानीयहरूले बताउन थालेका छन् ।
संविधानसभाबाट जारी भएको नयाँ संविधानको विपक्षमा उभिएका शक्तिहरूसँग तालमेल गर्दै चुनावी प्रतिस्पर्धामा एमाले उभिएपछि उसकै नेता तथा कार्यकर्ता पनि सन्तुष्ट देखिएका छैनन् । त्यसले बहुमत ल्याउने ध्वाँस दिँदै हिँडेका एमाले अध्यक्ष खड्गप्रसाद ओलीलाई नै आगामी चुनाव फलामको चिउरा बन्न सक्ने आकलन गर्न थालिएको छ ।

कामभन्दा कुरा मात्र गरेर चटकले जस्तो मनोरञ्जनको माध्यम बनेका ओलीले निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न झापामा पूर्वपञ्चहरूको पार्टी जो अहिले पनि संघीयता, गणतन्त्रको विपक्षमा छ त्यही राप्रपासँग मिलेर अघि बढेका छन् । तर, राप्रपाभित्रैको एउटा समूह एमालेसँगको चुनावी तालमेलले पार्टीको पहिचान समाप्त भएको भन्दै विपक्षमा उभिएका छन् भने एमालेभित्रको अर्को समूह पनि त्यस्तै धारणा राख्दै कांग्रेसको पक्षमा खुल्ने अवस्था बनेको छ ।

ओली मात्र होइन एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको अवस्था पनि काठमाडौं ५ मा निकै कमजोर बनेको छ । विगतमा सरकारमा रहँदा काण्डैकाण्डमा मुछिएका पोखरेललाई स्थानीयले चुनाव जितेपछि फेरि भोट माग्न मात्र आएको भन्दै आक्रोश पोख्दै आएका छन् । कांग्रेसले युवा नेता प्रदीप पौडेललाई अघि सार्दा पोखरेलसँग उनी हावी हुने अवस्था बन्दै गएको छ । अर्को उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको अवस्था पनि इलाममा राम्रो छैन । सत्ता गठबन्धनको उम्मेदवारको उम्मेदवारी खारेज गरेर आफ्नो जितलाई सहज बनाउने प्रयासमा रहेका उपाध्यक्ष विष्णु पौडेललाई उक्त निर्णय झन् प्रतिउत्पादक बन्न पुगेको छ । महासचिव शंकर पोखरेललाई गठबन्धन उम्मेदवार रेखा शर्माले हायलकायल बनाएकी छन् । मुख्यमन्त्रीमा रहँदा केही काम नगरेको र सत्तामा टिक्न उनले अपनाएको हत्कण्डाप्रति स्थानीय रुष्ट छन् । गुल्मीमा एमाले नेताहरू प्रदीप ज्ञवाली र गोकर्ण विष्ट मात्र होइन ताप्लेजुङमा योगेश भट्टराईको अवस्था पनि कमजोर बन्न पुगेको छ । उनीहरूले संविधान विरोधी र प्रतिगमनका मतियारका रूपमा स्थानीयले आलोचना गर्दै आएका छन् ।

एमालेका नेता मात्र होइन उसँग चुनावी तालमेल गरेका राप्रपाका नेताहरूको अवस्था झन् कमजोर देखिएको छ । पूर्वआश्वासन विपरीत एमालेले सहयोग नगरेपछि राप्रपाले काठमाडौं, चितवनसहितका जिल्लाहरूमा उसले आफ्नै उम्मेदवारी दिएको छ । एमालेको साथ पाउन आश्वासन पाएको झापा ३, रूपन्देही ३ मा पनि एमालेका नेता तथा कार्यकर्ता राप्रपालाई भोट हाल्न तयार देखिएका छैनन् । एमालेको सहयोग उम्मेदवार बनेका हृदयेश त्रिपाठी मात्र होइन उसकै चुनाव चिह्नमा उम्मेदवारी दिएका कमल थापाको अवस्था पतला बन्दै गएको छ । तर, ओली कांग्रेस सभापति शेरबहादुर देउवालाई चुनाव हराउन भन्दै डँडेलधुरामा बीपी कांग्रेसका उम्मेदवार कर्ण मल्ललाई सहयोग गर्न पुगेका छन् । ओलीले मल्ललाई सहयोग गर्ने बताए पनि स्थानीय नेता तथा कार्यकर्ताले असहमति जनाएका छन् ।

कांग्रेस नेतृत्वमा रहेको गठबन्धन छाडेर एमालेसँग मिल्न पुगेको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीका नेताहरू अहिले चोक्टा खान गएको बूढी झोलमा डुबी मरी जस्तो अवस्थामा पुगेका छन् । अध्यक्ष यादव, नेता अशोक राई नै चुनाव जित्ने अवस्थामा छैनन् भने काठमाडौं ७ मा नेता राजेन्द्र श्रेष्ठलाई त एमालेले क्षेत्र छाड्न नै तयार भएन । त्यसले गर्दा उनीहरूको अवस्था निकै कमजोर बन्न पुगेको छ ।
कांग्रेस नेतृत्वको सत्ता गठबन्धनभित्रको आन्तरिक किचलोको राम्रोसँग व्यवस्थापन हुन नसक्दा गठबन्धनका केही प्रभावशाली नेताहरू पनि संकटमा देखिएका छन् । नेता रामचन्द्र पौडेल, पार्टी उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहितका नेताहरूको क्षेत्रमा केही समस्या देखिएको छ । माओवादी नेता वर्षमान पुन, ओनसरी घर्ती, शक्ति बस्नेतका साथै नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, जगन्नाथ खतिवडासहितका नेताहरूको क्षेत्रमा गडबढी देखिएको स्थानीयहरूको दाबी छ ।