देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सत्ता गठबन्धनको पक्षमा लहर


काठमाडौं ।  आसन्न निर्वाचनको मिति नजिकिँदै गर्दा नेपाली कांग्रेसको नेतृत्वमा रहेको लोकतान्त्रिक वाम गठबन्धनको पक्षमा माहोल बन्दै गइरहेको तर, एमालेले नेतृत्व गरेको पश्चगामी गठबन्धनको पक्षमा उनीहरूले सोचेजस्तो जनउभार आउन नसकेको जिल्ला संवाददाताहरूले देशान्तरलाई जानकारी दिएका छन् । केही महŒवपूर्ण चुनाव क्षेत्रमा भने स्वतन्त्रको उम्मेदवारको प्रभावका कारण जित्ने दाबी गरेका उम्मेदवार हार्ने र नसोचेका उम्मेदवारले विजय प्राप्त गर्ने समाचारहरू पनि आइरहेका छन् । यसका बाबजुद मतदान हुन करिब दुई साता बाँकी रहेकोमा लोकतान्त्रिक वाम गठबन्धनलाई केन्द्रमा सहज बहुमत र अधिकांश प्रदेशहरूमा समेत गठबन्धन बहुमत नजिक पुगेको संवाददाताहरू र राजनीतिक विश्लेषकहरूले बताइरहेका छन् । यस्तो अवस्था रहँदारहँदै पनि प्रतिपक्षी गठबन्धनको नेतृत्व गरिरहेका एमाले अध्यक्ष केपी ओली बहुमत ल्याएरै छाड्ने दाबी गरिरहेका छन् । तर, यो अवस्था चुनावको मौन अवधिमा परिवर्तित हुन सक्ने राजनीतिक खेलका चतुर खेलाडीहरूले प्रक्षेपण गर्दैछन्, खास चुनावको चलखेल त्यही ७२ घण्टा हुने उनीहरूको दाबी छ ।

नेपालको सबैभन्दा पुरानो र ठूलो लोकतान्त्रिक दल नेपाली कांग्रेस नेतृत्वको वर्तमान सत्ता गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सम्मिलित पाँचदलीय गठबन्धनका उम्मेदवारका पक्षमा देशैभर देखिएको जनलहर र चुनावी माहोलका कारण मंसिर ४ पछि पनि वर्तमान सत्ता समीकरण नै दोहोरिने निश्चित भइसकेको राजनीतिक विश्लेषकहरूले विश्लेषण गर्न थालेका छन् । अघिल्लो चुनावमा देखिएको नेकपा एमाले र माओवादीबीचको समीकरण, चुनावपछि यी दुई दलबीचको पार्टी एकीकरण र त्यसपछि देखिएको विग्रह र विद्रोहको परिणाम जनताले यसपालि लोकतान्त्रिक वाम गठबन्धनको पक्षमा मतदान गरेर एमाले अध्यक्ष ओलीलाई देखाइदिने राजनीतिक क्षेत्रका पण्डितहरूले बताउन थालेका छन् ।

चुनाव प्रचारको पहिलो चरणमा सबै दलका सबै उम्मेदवारले पहिलो चरणको अभियान पूरा गरिसक्दा मतदाताले एकसरो चाहना झल्काइसकेका छन् । एक चरणको घरदैलो पूरा गरेका सत्ता गठबन्धनका उम्मेदवारले मतदाताको संकेत बुझेर उत्साहित बनेका छन् भने लोकतान्त्रिक गठबन्धनविरुद्ध पूर्वपञ्च र प्रतिगामी शक्तिहरूसँग साँठगाँठ गरेको एमाले नेतृत्वको गठबन्धनमा आबद्ध उम्मेदवारहरू निराश बनेका छन् । अघिल्लो चुनावमा पाएको मतादेश र त्यसपछि सरकार सञ्चालन तथा सरकारमा रहेका कामका आधारमा एमाले र त्यस दल नेतृत्वको गठबन्धनका उम्मेदवारहरू मतदाताको प्रश्नमा नाजवाफ हुने गरेका छन् । आफ्नै बहुमत टिकाउन नसक्ने र सरकार पनि पाँच वर्ष टिकाउन नसक्ने मात्रै नभई पार्टी नै विभाजित गर्नेलाई कसरी मतदान गर्ने ? देशभरका अधिकांश मतदाताको प्रश्न रहेको छ ।

सरकारको नेतृत्व गरेको र नेपालको लोकतान्त्रिक आन्दोलनमा सात दशकभन्दा लामो योगदान पु¥याएको दल नेपाली कांग्रेसले चुनावी तालमेलमा लिएको नीति, सहयात्री अन्य दललाई दिएको स्पेस तथा चुनावपछि बन्ने सरकारले गर्ने कामको सूची अथवा घोषणापत्रमा उल्लेख गरेका विवरणले भने कांग्रेसलाई मात्रै नभई सिंगो गठबन्धनलाई नै फाइदा पुर्‍याएको छ । खासगरी संविधानको रक्षा र लोकतान्त्रिक प्रणालीको अभ्यासका लागि कांग्रेसले देखाएको अडान तथा लचकता पनि यसपालिको चुनावमा अधिकांश मतदाताले रुचाएका विषय हुन् ।

मुलुकको विकास निर्माण, लोकतान्त्रिक प्रणालीको रक्षा, लोकतान्त्रिक अभ्यास, रोजगारी सिर्जना, सीमा जोडिएका मुलुकसँगको सम्बन्ध तथा अन्य विकसित तथा दातृ मुलुकसँगको सम्बन्ध, राष्ट्रिय सुरक्षा र चासोका विषयमा कांग्रेसले घोषणात्रमार्फत सार्वजनिक गरेको धारणालाई अधिकांश मतदाताले मन मराएका छन् ।

सामाजिक सुरक्षा, शिक्षा र स्वास्थ्यका क्षेत्रका कांग्रेसले वास्तवमै समाजवादी पक्षबाट नीति तय गरेको र यसलाई कार्यान्वयन गर्न सकेमा सिंगो देशले नै नयाँ युगमा प्रवेश गर्ने अधिकांशको बुझाइ छ । निर्वाचन प्रचारको दोस्रो चरण सुरु हुँदा कांग्रेस र कांग्रेस नेतृत्वको गठबन्धनले देशका विभिन्न क्षेत्र र निकायमा आयोजना गरेको चुनावी सभामा जनताको सहभागिताले पनि यसलाई पुष्टि गर्छ । विगतमा कांग्रेसले आर्थिक उदारीकण र निजीकरणका नाममा गरेका कमजोरीलाई पनि यसपालिको चुनावी घोषणामा सुधार गरेको र भुइँमान्छेका समस्या समाधानमा कांग्रेसले नीति अंगीकार अधिकांशको बुझाइ छ । राजनीतिक विश्लेषक, लेखक तथा चिन्तकहरूले समेत कांग्रेसले घोषणापत्रमा उठाएका मुद्दाहरूको मुक्त कण्ठले प्रशंसा गरेका छन् ।

पाँचदलीय गठबन्धनमा सबैभन्दा बढी सिट कांग्रेसले लिए पनि कांग्रेसले नै जित हासिल गर्न सक्ने केही क्षेत्र गठबन्धनका उम्मेदवारलाई छोडेको सन्दर्भमा केही क्षेत्रमा कांग्रेसकै कार्यकर्ता र स्थानीय दृढ मतदाताले असन्तुष्टि जनाए पनि मुलुकको हित र लोकतन्त्रको रक्षाका लागि उनीहरूले आफ्नो असन्तुष्टिलाई आफूभित्र राखेका छन् । अधिकांश क्षेत्रका बागी तथा विद्रोही उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् भने केहीले धमाधम निष्क्रिय पारिरहेका छन् । देश, पार्टी र पद्धतिको रक्षार्थ देखिएको जनलहरले गठबन्धनमा आबद्ध दल मात्र नभई लोकतान्त्रिक प्रक्रिया र पद्धतिको रक्षामा प्रतिबद्ध व्यक्तिहरूसमेत उत्साहित बनेका छन् ।

प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावको प्रचारप्रसारका लागि सातवटै प्रदेश र अधिकांश जिल्लाका आमसभालाई सम्बोधन गर्ने कार्यतालिका कांग्रेसले बनाएको छ । त्यस्तै नेता डा. शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पनि कांग्रेसी चुनावी सभा सम्बोधनका लागि विभिन्न जिल्लामा लैजाँदै छ । थापा र शर्मालाई मुलुकको भावी नेताको रूपमा हेरिएको छ । कांग्रेस पार्टीभित्रै आशा जगाउने यी नेतालाई देशभरका कार्यकर्ता मात्रै नभई आम मतदाताले समेत रुचाएका छन् ।

गठबन्धनमा रहेका माओवादी, एकीकृत समाजवादी, लोसपा र जनमोर्चाका नेताहरूले समेत लोकतन्त्रका लागि मत मागिरहेका छन् । कांग्रेसको नेतृत्वमा जारी भएको संविधानको रक्षा यही गठबन्धनले गर्ने र त्यसका लागि गठबन्धनलाई जिताउनुपर्ने उनीहरूको तर्क छ । उनीहरूको तर्क र साथले पनि गठबन्धन बलियो भएको छ ।

चुनाव प्रचारमा गठबन्धनका उम्मेदवारका बीचमा देखिएको एकता, आत्मीयता र सामीप्यताले पनि चुनावको परिणाम गठबन्धनको पक्षमा आउने निश्चित जस्तै छ । विपक्षी एमालेले हावादारी गफ, अपत्यारिला आश्वासन र अपवित्र गठबन्धन गरेकाले पनि मतदाताले यो चुनावमा कांग्रेस र कांग्रेस नेतृत्वको गठबन्धनलाई विजयी बनाउने योजना बनाएका छन् ।