देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकारी सेवा र पानीको उचित व्यवस्थापन हुन नसकेको जनताको गुनासो : प्रकाशमान सिंह

देशान्तर

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताले सरकारी सेवाको उचित व्यवस्थापन हुन नसकेको गुनासो गरेको बताएका छन् ।

शनिबार काठमाडौं क्षेत्र नम्बर १ मा आम मतदाताहरुसँग घरदैलो कार्यक्रममा मतदाताहरुले आफूलाई पानी र सरकारी सेवाहरुको छिटो छरितो व्यवस्थापनमा जोड दिन आग्रह गरेको बताएका हो । उनले विगतका वर्षमा भन्दा यस वर्ष मतदाताहरुले निर्वाचनका सन्दर्भमा राम्रो प्रतिक्रिया दिइरहेको उल्लेख गर्दै नागरिकका मागहरु सम्बोधन गर्न आफू हरेक समय तयार रहेको बताए । काठमाडौं क्षेत्र नम्बर १ बाट सत्ता गठबन्धनका साझा उम्मेदवारसमेत रहेका नेता सिंहले जनताको मेलम्चीको पानीको गुनासो र तीनै तहका सरकारलाई व्यवस्थित बनाउने कुरामा आफू प्रतिवद्ध रहेको बताए ।

उनले संघीयता अनुसार तीन तहको सरकार व्यवस्थित हुन नसकेको गुनासो आम नागरिकले गरेको बताए । उनले यसअघिका दुई निर्वाचन संविधान लेख्नमा लागेको र संधिवान जारी गरिसकेपछि कार्यान्वयन गर्ने बेलामा कांग्रेसले जनमत नपाएकाले व्यवस्थित हुन नसकेको भन्दै आगामी निर्वाचनपछि कांग्रेसले संविधानको अक्षरशः कार्यान्वयन गर्ने बताए । नेता सिंहले सत्तारुढ पाँच दलीय गठबन्धन संविधानको रक्षा र राजनीतिकस्थिरताका लागि भएको बताए ।

नेता सिंहले देशमा विकास गर्नका लागि राजनीतिक स्थिरताको आवश्यक रहेको भन्दै संविधानको रक्षा र स्थिरताले नै विकास निर्माणको कार्यलाई गति दिने उल्लेख गरे । उनले देशमा राजनीतिकस्थिरता कायम गरी हरेक नेपालीको जीविकोपार्जन सहज बनाउन जरुरी रहेको बताए ।