देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राजनीतिक दलहरूले आजदेखि चुनावी प्रचार प्रसार गर्न पाउने

शीर्ष नेतालाई हेलिकप्टर प्रयोगको अनुमति

देशान्तर

काठमाडाैं – आजदेखि राजनीतिक दलहरूले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै जुलुस, आमसभा र कोणसभा गर्न पाउने भएका छन् । राजनीतिक दलहरूले आजबाट मंसिर १ गतेसम्म सञ्चारमाध्यममा निर्वाचनसम्बन्धी सामग्री प्रकाशन तथा प्रसारण गर्न समेत पाउने निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसार सम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ ।

उक्त दफा १३ को (म) मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसार अन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था गरिएको आयोगले जनाएको छ ।

आचारसंहिता अनुसार निर्वाचन प्रचारप्रसारका लागि आमसभा, कोणसभा गर्दा मञ्चको तयारीको लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफै वा प्रतिनिधिमार्फत मतदान सम्पन्न भएको १५ दिनभित्र निर्वाचन कार्यालयमा पेश गर्नुपर्नेछ । यसका साथै दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको ¥याली गर्दा बढीमा १० वटा राष्ट्रिय झण्डा प्रयोग गर्न पाउने छन् ।

हेलिकप्टर प्रयोगमा अनुमति

आयोगले जारी गरेको आचारसंहितामा निर्वाचन प्रचारका क्रममा गर्न पाइने र नपाइने कामहरू किटान गरेको छ । जसअनुसार, सबै उम्मेदवारलाई हेलिकप्टर प्रयोग गर्न रोक लगाइएको छ । तर दलको प्रमुख प्रचारकले आयोगको खर्च सिलिङको सीमाभित्र रहेर आयोगकाु अनुमतिमा हेलिकप्टर प्रयोग गर्न भने पाउनेछन् ।

आयोगका अनुसार, प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनाव प्रचारमा हेलिकप्टर प्रयोगको अनुमति आयोगसँग लिइसकेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत अन्य दलका मुख्य प्रचारकले पनि प्रक्रिया पुर्याएर चुनाव प्रचारमा हेलिकप्टर प्रयोग गर्न सक्ने भएपनि उनीहरूले भने अहिलेसम्म आयोगसँग अनुमति लिइसकेका छैनन् ।