देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

धर्म छोडेको राजनीति


यस लेखमा धर्मलाई आस्था निष्ठाको विषय मानिएको छ । जसरी विभिन्न धर्मावलम्बीहरू हिन्दू, बुद्ध, जैन, इसाई, मुस्लिम तथा यहुदी आदि प्रति आस्था राख्छन् त्यसैगरी राजनैतिककर्मीले विभिन्न राजनैतिक सिद्धान्तमा (लोकतन्त्रवाद, समाजवाद, फाँसीवाद तथा पुँजीवाद आदि) आस्था एवं निष्ठा राख्छन् ।

धर्म निरपेक्ष राष्ट्र घोषित भएपछि स्थापित नेताहरूको धर्मप्रतिको लगाव निक्कै नै बढेको छ । देव देवताको मन्दिर, पूजाआजा तथा धर्मिक कार्यक्रममा जुट्न थालेका छन् । कार्ल माक्र्सका अनुयायी धर्म नमान्ने नास्तिक हुन्छन् । तिनका नेपाली अनुयायी तँछाडमछाड गरेर धर्मात्मा देखिन थालेका छन् । निजी सम्पत्तिको विरोधी माक्र्सका अनुयायी ज्योतिषीको परामर्श तथा ब्राह्मणले विधिवत् पूजाआजा नगरी निजी निवासको जगसमेत हाल्दैनन् । होम नगरी उनीहरू निर्माण सम्पन्न गृह प्रवेश नै गर्दैनन् ।

ईश्वरको नाममा पदीय शपथग्रहण गर्न इन्कार गर्ने नेता चर्चले बाढेको ‘होली वाइन’ सेवन गरेर पाँचतारे होटलमा ३ दिन ध्यानमग्न रहन्छ । कुकर्मको पश्चाताप पीडित नेता पशुपतिनाथको मन्दिरमा सुनको झालेरी हाल्न राष्ट्रिय धनको उपयोग गर्छ । उक्त कार्यमा खर्चिएको भनिएको कति किलो सुन कस्ले गायब गर्‍यो ? उसले त्यसलाई तपसिलको विषयमा परिणत गरिदिन्छ । अर्कोतर्फ, सत्ता प्राप्तिका निमित्त जुनसुकै सौदाबाजी गर्ने नेता धैर्य गरेर ‘कुर्सीमा’ आसन गर्ने शुभमुहूर्तको प्रतीक्षामा ढुकेर बस्न रुचाउछ । बिडम्बना धर्मप्रतिको राजनैतिक नेतृत्व पंक्तिको बढ्दो लगावसँगै ह्रास हुन थालेको छ राजनैतिक ‘धर्म’ निष्ठा, मूल्य तथा मान्यताको राजनीति नेपाली धरातलबाट लोप हुँदैछ । त्यसका साथै इँश्वरसँगको सामीप्य बढाउन लागिपरेका राजनैतिककर्मीले नागरिकसँगको सम्बन्ध चुनावको दिनबाहेक अन्य दिनमा अनावश्यक ठान्न थालेका छन् ।

मूल विषयलाई बिट मारेर एक ऐतिहासिक अन्तर्राष्ट्रिय घटना उन्मुख हुँदा सान्दर्भिक हुन्छ । सोभियत युनियन (रुसी)कम्युनिस्ट पार्टीको सक्रिय सहयोगमा सन् १९४९ मा चिनियाँ क्रान्ति सफल भएको हो । विडम्बना सत्तासीन भए लगत्तैदेखि चिनियाँ कम्युनिस्ट पार्टी अध्यक्ष माओसे तुङ तथा रुसी कम्युनिस्ट पार्टी महासचिव स्टालिनबीचको व्यक्तित्वको टकराव सुरु भयो । त्यसका साथै विश्व शक्ति राष्ट्र तथा चीनबीचको सम्बन्ध चिसिन थाल्यो । साठीको दशक आइपुग्दासम्म सैद्धान्तिक कारण देखाएर दुई ‘महान् क्रान्तिकारी’ कम्युनिस्ट राष्ट्र भौतिक मुठभेडतर्फ अग्रसर रहे । भूशक्तिराष्ट्र रूस तथा जनशक्तिराष्ट्र चीनबीचको मित्रताभन्दा दुश्मनी पश्चिमा राष्ट्रहरू सुरक्षा हितमा थियो ।

अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनको राष्ट्रिय सुरक्षा सल्लाहकार थिए हेनेरी किसिन्जर । चीन तथा रुसबीचको चिसो सम्बन्धबबाट लाभ उठाउने रणनीति अख्तियार गर्न राष्ट्रपति निक्सनलाई तिनले राजी तुल्याए । किसिन्जरकै पहलमा एक साता लामो (सन् १९७२, फेब्रुअरी) निक्सन तथा माओबीच बेइजिङमा वार्तालाप सम्पन्नसमेत भयो । अमेरिका तथा चीन दुवैको राष्ट्रका निमित्त सुरक्षा चुनौती रुसबाट मात्र थियो । रुसका निमित्त दुवै राष्ट्रबाट सुरक्षा चुनौती थियो । अमेरिकासँगको निकटताले चीनको आर्थिक उन्नतिका निमित्त ढोका खुले । चीन तथा रुसीबचको मैत्री सम्बन्ध पुनस्र्थापनाका निमित्त ६ दशक लाग्यो । त्यस कालखण्डमा सोभियत साम्राज्यको विघटनलगायत युरोपबाट साम्यवादी प्रणालीले बिदाइ गरिसकेको थियो । वर्तमान कालखण्डमा भने रुस तथा चीनबीचको मैत्री सम्बन्ध चिनियाँ क्रान्ति पुर्वको जस्तो अवस्थामा छ । रुसी राष्ट्रपति पुटिनका निमित्त सबैभन्दा उपयोगी र विश्वासिलो मित्र भएका छन् चिनियाँ राष्ट्रपति सी जिङ पिङ ।

सम्माननीय प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बारम्बार भन्ने गर्नुहुन्छ वर्तमान सत्ता गठबन्धन रहरको उपज नभएर बाध्यता हो । उहाँको ‘बाध्यता’ को आशय एमाले तथा माओवादीको पुनर्मिलन रोक्ने हो । अमेरिकाले रुस तथा चीनबीचको सम्बन्धबाट फाइदा लिए जस्तै गरी देउवा पनि खड्गप्रसाद तथा पुष्पकमल दाहालबीचको वैमनश्यताबाट लाभ उठाउन लालायित छन् । दाउ मार्न प्रयत्नशील देउवाले ६ वर्ष पूर्व आफैंले भोगेका घटनालाई समेत नजरअन्दाज गर्दै छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहालले खडगप्रसाद ओली उभिएको गुन्द्री अकस्मात थुतेर उत्तानो पर्दै देउवासँग सम्बन्ध गाँसेका थिए । दाहालले आफूलाई ‘किंग मेकर’ घोषणा गर्दै देउवालाई चौथो पटक प्रधानमन्त्री अवसरको ताजोपाजो मिलाएका पनि हुन् । तर, वर्ष दिन नाबित्दै तिनले जसरी खड्गप्रसाद पछारेका थिए त्यसैगरी देउवालाई पनि उत्तानो परेर पछारिदिए । तिनी २०७४ चुनावको मुखैमा आइपुग्दा एकाएक खड्गप्रसादको सहपाइलटको रूपमा प्रकट भैदिए । रातारात दुई कम्युनिस्ट नेताले गरेको अंकमालले देउवाको नेतृत्वमा रहेको दलले ऐतिहासिक लज्जास्पद हार व्यहोर्नु पर्‍यो ।

नेता देउवा राष्ट्रपति रिचार्ड निक्सन होइनन् । तिनीसँग हेनरी किसिन्जरजस्तो सक्षम कूटनैतिक तथा चतुर सहयोगी पनि छैनन् । अर्कोतर्फ चिनियाँ नेताहरू जस्तो कम्युनिस्ट दल तथा राष्ट्रपतिप्रति समर्पित नेता पुष्पकमल दाहाल होइनन् । बोली तथा अडान तिनले पलपलमा बदल्ने गर्छन् । तिनले रचेका षड्यन्त्र तथा खुरापाती कार्य गुरिल्ला नेता प्रचण्डको ढाडमा टेकेर टाउकोमा प्रहार गर्ने रणनीतिको अंग भनेर तिनका समर्थकहरू अथ्र्याउने गर्छन् । आफ्ना प्रतिद्वन्द्वीलाई मानिसले लिच्चीलाई जस्तो गरेर बोक्रा फाल्ने तथा बियाँ थुकेर स्वादले गुदी चपाउँदै निपलने अद्वितीय सीप छ तिनीको ।

माक्र्सका अनुयायीको एकल उद्देश्य भनेको जसरी हुन्छ सत्ता कब्जा गरेर ‘मजदुर अधिनायकता शासन प्रणाली’ लागू गर्ने हो । उक्त लक्ष्य प्राप्तिका निमित्त जस्तोसुकै सन्धि सम्झौता गर्न पनि उनीहरू तत्पर रहन्छन् । तिनले आफ्नो अभीष्ट पूरा हुँदा साथै त्यस्ता सन्धि सम्झौता पत्रलाई फोहोर फाल्ने बाकसमा फाली दिन्छन् । उक्त कार्यलाई उनीहरू रणनैतिक जलप लगाई दिनेछन् । घनिष्ट मित्रको ढाडमा छुरा घोपेर हत्या गर्नु तिनका लागि बृहत् लक्ष्य हासिल गर्न गरिएको बलिदानको उदाहरण बन्न जान्छ । उनीहरूले जस्तोसुकै झूट बोले पनि त्यसलाई समयको आवश्यकता भनेर परिभाषित गरी दिन्छन् । जस्तोसुकै अनैतिक कार्य होस् अथवा धोखाबाजी क्षम्य हुन्छ । इतिहासलाई उनीहरू आफ्नो अनुकूल तुल्याउने अद्वितीय क्षमता राख्छन् ।

उदाहरणकै निम्ति नेपाल कम्युनिस्ट पार्टी माक्र्सवादी लेनिनिस्ट (माले) वर्तमान कालखण्डको एमालेले २०३६ को जनमतसंग्रहको बहिष्कार गर्‍यो । कारण रणनीतिक भनेर व्याख्या गर्‍यो । पञ्चायतको पतन ऐतिहासिक प्रक्रियाबाट हुने भएको हुनाले जनमत संग्रहको बहिष्कार गरेको लामो व्याख्या जनसमक्ष प्रस्तुत गर्‍यो । माक्र्सले अन्तरविरोधको कारणले पुँजीवादको पतन हुन्छ भनेका थिए । पञ्चायतको पनि पतन प्राकृतिक हुनुपर्छ भन्दै जनमत बहिगकार गर्‍यो । उसले अख्तियार गरेको बहिष्कार नीतिले पञ्चायतलाई जिताउन तथा त्यस प्रणालीको जीवन लम्ब्याउन के कति योगदान गर्‍यो ? भविष्यका अनुसन्धानकर्ताहरूले खुलासा गर्नेछन् । त्यसैगरी हालै माओवादी नेताले २०४६ साल पूर्वदेखि नै नेपाली कांग्रेससँग सहकार्य गर्दै आएको भन्न भ्याइदिए ।

वास्तविकता भने उक्त कालखण्डका सबै कम्युनिस्ट घटकहरू सर्वमान्य नेता गणेशमान सिंहको आह्वानमा एकजुट हुन तयार भए । पुष्पकमल दाहालले नेतृत्व गरेको समूहले जनआन्दोलनको विरोध गर्‍यो । झुट बोल्ने लाइसेन्स प्राप्त गरेका तिनै दाहालले कांग्रेस नेता कार्यकर्ताको सामुन्ने २०४६ सालदेखि नै कांग्रेससँग सहकार्य गर्दै आएको भनिदिए । तिनले काग्रेससँग गरेको सहकार्यमा कति कांग्रेसजन मारिए । बेपत्ता पारिएका, लुटिएका तथा घरबारविहीन भएर विस्थापित भए त्यसको फेहरिस्त लामो छ । तैपनि दाहालले ‘रूखमा छाप मारेको थिएँ’ भन्दा कांग्रेस नेतृत्वले ताली बजाउँछ ।
गठबन्धन सरकारको नेतृत्वमा कांग्रेसजन विशेषगरी ३ वर्ष ६ महिना प्रत्यक्ष रूपमा सत्ताको रापताप बिमुख रहेका सुकिला मुकिलाहरू अत्यन्त खुसी भएका थिए ।

खड्गप्रसादको खड्ग प्रहारले सुशासन थिलथिलो परेको अवस्थामा सर्वसाधारण नागरिकले केही राहत पनि महसुस गरेका थिए । प्रतिभाशाली एक कांग्रेस नेताले ‘अब सरकार सञ्चालन कसरी गर्ने भनेर हामी देखाउछांै’ संसद्मा घोषणा गर्न भ्याए । विगत १५÷१६ महिनामा राज्य सञ्चालनमा देखा परेका विसंगति, विकृति तथा ब्रह्मलुटबाट समस्त कांग्रेसजन बिशेषगरी उनीहरू कति लज्जित छन् ? तिनै जानुन् । सर्वसाधारण नागरिकले भने एमाले नेता खड्गप्रसादको तीन वर्ष आधा अवधिको शासनकालले निरन्तरता पाएको महसुस गरेका छन् । केहीले देखेको फरक भने खड्गप्रसाद प्रधानमन्त्री पद आसीन वास्तविक प्रधानमन्त्री थिए । सत्ता गठबन्धन नेता, सम्माननीय प्रधानमन्त्री एवं नेपाली कांग्रेस पार्टी अध्यक्ष शेरबहादुर देउवा प्रधानमन्त्री पदमा आसीन छन् तर तिनले प्रधानमन्त्रीको भूमिका निर्वाह गर्न सकेका छैनन् । देशवासीका निमित्त तिनको भूमिका प्रधानमन्त्रीको जस्तो सम्म पनि हुन सकेको छैन । मन्त्रिपरिषद् सदस्यले गरेका ‘७ खुन’ लाई गठबन्धन भत्किला भन्ने त्रासले प्रधानमन्त्रीले अनदेखा गर्दै आएका छन् । देशमा व्याप्त छ कुशासन ।

कुनै पनि समर्पित कांग्रेसजनको लागि कम्युनिस्टले जस्तो अपराध गर्ने छुट हुँदैन । आपराधिक कार्यलाई सैद्धान्तिक घुम्टोले छोपेर उम्कने सुविधा तिनको आत्माले नै दिँदैन । त्यसो हुनाको प्रमुख कारण कांग्रेस जनधर्ममा आस्था तथा विश्वास गर्छन् । सत्ता प्राप्ति मोहले दृष्टिविहीन भएको नेतृत्वले भने निष्ठाको राजनीतिलाई तिलाञ्जलि दिइसकेको छ । दल सभापति हँसिया हथौडामा भोट हाल्ने कार्यलाई सहज ठान्दै ‘मैले पनि हँसिया हथौडामा छाप लागेको छु के भयो त’ भन्छन् तिनी । असली कांग्रेसका निमित्त यो कार्य उसले मान्दै आएको धर्मको विरुद्ध हो । त्यस्तो निर्देशन÷आदेशको पालना होइन अवहेलना गर्नुको उसंग विकल्प हुँदैन । कम्युनिस्टको प्रचारप्रसारमा जुट्नु भनेको कांग्रेस कार्यकर्ताका निमित्त आफ्नो धर्म परित्याग गर्नु सरह हो । कम्युनिस्टले जस्तो जुनसुकै धर्म प्रचारमा उनीहरू लाग्न सक्दैनन् । उमेदवारी चयन प्रक्रियामा गठबन्धनको ‘निरन्तरता’ का निमित्त पाखा पारिएका जुझारु कांग्रेस उम्मेद्ववारको आँसुलाई तिनले बिर्सन चाहेर पनि सक्दैनन् ।
गठबन्धनको निरन्तरता नेत्रितोलाई अबसर हुन सक्छ देशवासीका निमित्त भने अभिशाप । दुवै गठबन्धनमध्ये एकको विजयले देशलाई दिने भनेको राजनैतिक अस्थिरता तथा कुशासन नै हो । यस परिपे्रक्ष्यमा न्याय मूर्ति गिरीशचन्द्र लालको हालै प्रकाशित ट्विट मनन्योग्य छ :

‘लोकतन्त्रमा राजनीति सेवा हो । यसलाई व्यापार र व्यवसाय ठान्नेहरूसँंग बचाऊ । सेवा गर्न चाहनेहरूलाई मौका देऊ । आ–आफ्नो क्षेत्रको सबभन्दा राम्रोलाई छानी हाम्रो लोकतन्त्रको रक्षा गरौं । जुनसुकै दलको वा स्वतन्त्रनै भए पनि त्यसमध्येका जनता र देशलाई राम्रो गर्न सक्नेलाई ल्याऊ ।’