देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

टिकापुरमा घण्टाघरका घडी ठप्प

देशान्तर

काठमाडौं – सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइले कैलालीको टीकापुरमा घण्टाघर निर्माणका लागि रोयल प्रशंसा जेभीसँग सम्झौता गर्‍यो ।

घण्टाघर निर्माणका लागि एकाइले रोयल प्रशंसासँग २०७५ फागुन १९ गते सम्झौता गरेको थियो ।सम्झौताअनुसार निर्माण कम्पनीले २०७७ भदौ २५ गते काम सम्पन्न गर्नुपर्ने भए पनि कोरोना संक्रमणका कारण काम लम्बियो ।

केही महिना अगाडिमात्रै निर्माण सम्पन्न गरी टीकापुर नगरपालिकालाई हस्तान्तरणको तयारी गरिए पनि घण्टाघरमा राखिएका चार घडीले भने समय दिन छाडेका छन् । टीकापुर नगरपालिकाका नगर उपप्रमुख खड्कबहादुर शाहले निर्माण कम्पनीले नगरपालिकालाई घण्टाघर हस्तान्तरण गर्न बाँकी रहेको बताए ।

घण्टाघरमा जडान गरिएका घडी विद्युतीय हुन् । सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइका इञ्जीनियर मोहन अवस्थीले घडी ठप्प रहेकोबारे पत्ता लगाइने बताए ।

रोयल प्रशंसा जेभीका सञ्चालक दीर्घराज जोशीले प्राविधिक कारणले घडी ठप्प भएको हुनसक्ने बताएका थिए । उनले भने, ‘प्राविधिक समस्याका कारण त्यसो भएको हुनसक्छ । प्राविधिकलाई बोलाएर घडी चल्ने बनाउँछौँ ।’

निर्माण कम्पनीले चार घडी आठ लाख रुपैयाँमा खरिद गरेको जोशीले जानकारी दिए । घण्टाघर निर्माणका लागि रोयल प्रशंसासित तीन करोड २६ लाख ४२ हजार रुपैयाँमा सम्झौता भएको थियो ।