देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

खप्तडको विकास र प्रचारका लागि नौ बुँदे प्रतिबद्धता

देशान्तर

काठमाडौं – सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तडको विकास तथा प्रचारका लागि नौ बुँदे प्रतिबद्धता जारी गरिएको छ ।

आज खप्तड क्षेत्रमा पर्ने झिग्रानामा खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समिति र उद्योग वाणिज्य सङ्घ डोटीले खप्तड विकास र प्रचारका लागि आयोजना गरेको अन्तक्रिया कार्यक्रमका सहभागीले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

खप्तडलाई अन्तर्राष्ट्रिय म्याराथन बनाउने, खप्तड बाबाको समाधिस्थल बनाउने, राष्ट्रिय अन्तर्राष्ट्रिय चलचित्र निर्मातालाई आमन्त्रण गरी खप्तडमा चलचित्र सुटिङ गराउने, होमस्टेको व्यवस्था गर्ने र मध्यवर्ती क्षेत्रका मानिसलाई होमस्टेसम्बन्धी तालिम दिने, ध्यान केन्द्रित स्थानीय सामग्रीबाट बनेको गृह बनाउने योजना तयार गरिएको छ ।

यसैगरी बिचपानीसम्म सडक, बाह्य पर्यटकका लागि पैदल ट्रेकिङ, बिचबिचमा बाटोका सही सङ्केत तथा पथप्रदर्शकको व्यवस्था गरिने प्रतिबद्धता जारी गरिएको छ ।

भूस्वर्गका नामले परिचित खप्तडको विकास तथा प्रवर्द्धनका साथै खप्तडमा आन्तरिक र बाह्य पर्यटकलाई के गर्दा खप्तडमा बढीभन्दा बढी भित्र्याउन सकिन्छ भन्ने विषयमा पनि छलफल गरिएको थियो । खप्तड क्षेत्र पर्यटन विकासका कार्यकारी निर्देशक भीमबहादुर खड्काले खप्तडको विकासका लागि आगामी आर्थिक वर्षका योजना तथा उद्देश्यका बारेमा जानकारी गराए ।

उक्त कार्यक्रममा दिपायल सिलगढी नगरपालिकाका प्रमुख बाजीसिंह खड्का, शिखर नगरपालिकाका प्रमुख दीर्घबहादुर बलायर, पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्याय, आदर्श गाउँपालिकाका अध्यक्ष गणेशबहादुर खड्का, केआइसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाही तथा डोटी उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहनबहादुर कलेललगायतको सहभागिता थियो ।