देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा बाख्रापालक किसानलाई अनुदान

देशान्तर

काठमाडौं – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाका व्यावसायिकरुपमा बाख्रापालनमा लागेका किसानलाई अनुदान रकम उपलब्ध गराइएको छ । बाख्रापालक किसानलाई खोर सुधार र घाँस काट्ने च्यापकटर मेसिन खरिदमा लाग्ने ५० प्रतिशत रकम अनुदानमा उपलब्ध गराइएको हो ।

मध्यवर्ती युवा बाख्रापालन समूहमा आबद्ध १२ किसानलाई खोर सुधारका लागि जनही रु ४२ हजारका दरले र च्यापकटरका लागि ३४ किसानलाई रु पाँच हजारका दरले अनुदान रकम उपलब्ध गराइएको नगरपालिकाको पशु विकास शाखाका भेटेरिनरी अधिकृत रामप्रसाद भट्टले बताए ।

“प्रधानमन्त्री आधुनिकीकरण परियोजना साना व्यवसाय कृषि उत्पादन केन्द्र बाख्रा पकेट कार्यक्रमअन्तर्गत उपलब्ध भएको अनुदानको रु १४ लाख रकम किसानलाई खोर सुधार र च्यापकटर खरिदका लागि उपलब्ध गराएका छौँ”, उनले भने, “अनुदानमा उपलब्ध गराएको रकमजति नै किसानले रकम थपेका छन् ।”

बाख्रापालन व्यवसायलाई आधुनिक तरिकाले गर्नका लागि अनुदान रकम उपलब्ध गराइएको उनको भनाइ छ । अनुदान रकमसँगै बाख्रापालनमा संलग्न ३४ किसानलाई दुईदिने तालिमसमेत दिइएको छ । नगरपालिकाको कार्यपालिका बैठकबाट स्थान छनोट गरी गत वर्ष बाख्रापालनमा संलग्न २४ जना किसानलाई अनुदानमा ९६ बाख्रा र एक उन्नत जातको बोका वितरण गरिएको थियो ।

त्यसका लागि प्रधानमन्त्री आधुनिकीकरण परियोजना साना व्यवसाय कृषि उत्पादन केन्द्र बाख्रा पकेट कार्यक्रमअन्तर्गत बाख्रा खरिदका लागि रु १५ लाख रकम उपलब्ध गराइएको थियो ।

गत वर्ष नै बाख्रा वितरण गरिएका किसानलाई सघाउ पु¥याउन खोर सुधार र च्यापकरटमा अनुदान दिइएको अधिकृत भट्टले बताए। अनुदान रकम परिचालन गरिएका बाख्राको बीमासमेत गरिएको छ । नगरपालिकाको सिमलफाँटा गाउँ बाख्रापालनका लागि अग्रणी रहेको छ ।