देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सन्दीपको सनसनीपूर्ण ‘त्यो ट्विट’

देशान्तर

काठमाडौं । तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ललाई हटाएर नेपाल क्रिकेट संघ (क्यान)ले युवा खेलाडी सन्दीप लामिछानेलाई राष्ट्रिय टोलीको कप्तानको जिम्मेवारी दिएको थियो । अनुशासन तोडेको आरोपमा मल्ललाई हटाउँदा दीपेन्द्रसिंह ऐरीको उपकप्तानी पनि खोसेको थियो भने करण केसी, अभिनाश बोहोरा र कमलसिंह ऐरीलाई कारबाही गरेको थियो । चौतर्फी आलोचना भएपछि धनगढीमा भएको साधारणसभाले कारबाही फिर्ता लिने निर्णय लियो । त्यतिबेला सन्दीपलाई कप्तान बनाउने निर्णयलाई मान्यता दिँदा अरू निर्णयहरू फिर्ता भए । त्यसपछि ज्ञानेन्द्र मल्ल ओमान सिरिजबाहेक नेपाली टिममा छैनन् भने अरूले टिमबाट खेलिरहेका छन् ।

नेपाली क्रिकेट टिम आईसीसीको एकदिवसीय मान्यता प्राप्त टिम हो । अर्को वर्ष हुने विश्वकप प्रतियोगिताका लागि अहिले नेपालले आईसीसी विश्वकप लिग टुमा प्रतिस्पर्धा गरिरहेको छ । नेपाली टिम अहिले क्यानडामा अभ्यासका लागि गएको छ । त्यहाँको राष्ट्रिय टिमसँग अभ्यास म्याच खेलेर उतैबाट स्कटल्यान्डको भ्रमणमा जानेछ । स्कटल्यान्ड र नामेबियासँगको सिरिज खेलेर मात्रै नेपाल फर्कने कार्यसूची रहेको छ ।

मल्ललाई कप्तानबाट हटाएर सन्दीपलाई कप्तान बनाएपछि छताछुल्ल भएको ‘ग्रुपिज्म’ अहिले पनि कायमै रहेको छ । मल्ल हुँदा उनले सन्दीपलाई निकै कम दिने गरेका थिए । पछि सन्दीप आएपछि मल्ल टिममै छैनन् । तर विगतमा मल्लसँगसँगै रहेका खेलाडीहरू अहिले टिममा रहे पनि नेपाली टिम दुई ध्रुवमा विभाजित जस्तो देखिएको छ । सन्दीपको कप्तानीमा काठमाडौंमा खेलिएको सिरिज होस् वा अमेरिकामा खेलिएको सिरिज दुवैमा खेलाडीहरू दुई खेममा विभाजित भएका देखिए । करण केसी, सोमपाल कामी, अभिनाश बोहोरा, कुशल भुर्तेललगायतका खेलाडीहरूको एउटा समूह र अर्को समूहमा सन्दीप लामिछानेसहितका रहने गरेका छन् । कतिसम्म भने होटेलमा खान बस्दा समेत यी खेलाडीहरू राम्रोसँग नबोल्ने र मैदानमा सेलिब्रेसन गर्दा पनि आआफ्नै तरिकाले गरेको पाइएको छ ।

यसबीचमा क्यानले रोहित पौडेललाई उपकप्तान बनाएको छ । यसमा पनि केही खेलाडीहरूले असन्तुष्टि जनाए पनि मिडियामा भने सार्वजनिक भएका छैनन् । तर उनीहरू जुनियर मान्ने सन्दीप र रोहितको कप्तानीमा क्रिकेट खेल्नका लागि हिचकिचाइरहेको बुझ्न सकिन्छ । यसबीचमा सन्दीपले सामाजिक सञ्जाल ट्विटरमा लेखेपछि टिम भित्र मात्रै रहेको ग्रुपिज्म अहिले फेरि छताछुल्ल भएको छ । ‘शून्य समर्थन ? चिन्ता नलिऊँ, तिमीले यो लडाइँ एक्लै लड्नुपर्छ’ । कप्तान लामिछानेले गरेको यो ट्विट् अहिले सामाजिक सञ्जालमा निकै भाइरल बनिरहेको छ ।

ज्ञानेन्द्र कप्तानबाट हटेपछि नेपालबाट ओमानमा भएको एउटा शृंखला खेले भने त्यसपछिका शृंखलाहरूमा ज्ञानेन्द्र टोलीबाट बाहिर रहँदै आएका छन् । हुन त राष्ट्रिय टोलीमा रहेका वर्तमान केही खेलाडीहरूका अनुसार ज्ञानेन्द्र प्रशिक्षक पुबुदु दसानायकेले आफूलाई समर्थन नगरेको भन्दै टोलीमा पर्दा पनि होटलमा आफ्नै जमातमा रहने र घुलमिल नहुने गर्न थालेको बताउँछन् । सन्दीपको यो ट्विटलाई सामान्य तरिकाले विश्लेषण गर्न र हेर्न नहुने यस क्षेत्रका जानकारहरू बताउँछन् । यता क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले आफूले पनि सन्दीपको ट्विट हेरेको बताउँदै यसबारे क्यानले थप भन्न नसक्ने बताए । नेपाली टिमलाई क्यानले सधैं सहयोग गरिरहेको बताउँदै यस्तो ट्विटको बारेमा आफूले जानकारी लिएर प्रतिक्रिया दिने बताए ।