देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चिनीको मूल्य वृद्धिबारे वाणिज्य विभागले व्यापारीसँग सोध्यो स्पष्टीकरण

देशान्तर

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनीको अस्वभाविक मूल्य वृद्धिको कारण पेश गर्न व्यपारीलाई निर्देशन दिएको छ ।

भारतले चिनी निर्यातमा रोक लगाएसँगै बजारमा चिनीको मूल्य ह्वात्तै बढेपछि विभागले चिनी उत्पादक तथा व्यापारीलाई बोलाएर मूल्य बढ्नुको कारण सोधेको हो ।

चिनीको मूल्यबारे धेरै गुनासो आएपछि बजारमा चिनीको उपलब्धता र मूल्यबारे जानकारी माग गरेको विभागका महानिर्देशक लिलाप्रसाद शर्माले बताए । ‘चिनी उत्पादक, साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग यसबार छलफल गरेका थियौं,’ महानिर्देशक शर्माले भने, ‘सरकारी कम्पनीसँग चिनी नभएको पाइयो । निजी क्षेत्रका उत्पादक र व्यापारीले लागत बढेको बताएपछि कारण माग गरेका छौं ।’

छलफलका क्रममा बजारमा चिनीको अभाव नहुने भए पनि मूल्य बढ्नुको कारण लागत बढ्नु भएको दाबी व्यापारीले गरेको शर्माले बताए ।

सरकारी स्वमित्वका निकायसँग चिनी कत्ति पनि नभएको र खरिदको कुनै प्रक्रिया पनि नथालेको पाइएको विभागले जनाएको छ । केही दिन अघिसम्म ९५ रुपैयाँ किलो रहेको चिनीको बजार मूल्य प्रतिकिलो ११० रुपैयाँसम्म पुर्‍याइएको छ ।