देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्रीको कुर्सी कि हेगको यात्रा !


नेपाली राजनीतिका नितान्त अस्थिर, अविश्वसनीय तथा खलपात्र लाग्ने चरित्रहीन नेता मानिन्छन्– पुष्पकमल दाहाल उर्फ प्रचण्ड । कांग्रेससँग गठबन्धन गरेर स्थानीय तहको चुनावमा पाएको अप्रत्याशित सफलताले उनी हेगतिरको बाटो बिर्सेर सिंहदरबार पुग्ने दुस्वप्न देख्न थालेका छन्     – एमालेका केपी शर्मा ओलीको बुइँ चढ्न पाउने अपेक्षा पालेर । चीनको दबाबमा जसरी भए पनि अहिलेको सत्ता गठबन्धन तोड्न कटिबद्ध ओलीका दूतहरू पैसा र पदको झोला बोकेर आफ्नो निवासको प्रदक्षिणा गर्न थालेकाले फेरि सत्ता गठबन्धन परिवर्तन गरेर एमालेको सहयोगमा प्रधानमन्त्री बन्ने हसिन सपना दिउँसै देख्न थालेकाले उनी पुनः त्यस्तो चर्चामा छाउन थालेका हुन् ।

भनिरहन पर्दैन, त्यही कारण उनको पुलकित मन, अहिले प्रधानमन्त्रीको कुर्सीको उत्कट लोभ र हेगको यात्राको भयावह त्रासको पिङमा मच्चिन थालेको छ । उनलाई रहर त प्रधानमन्त्री बन्ने नै छ र एमालेका अध्यक्ष केपी शर्मा ओली त्यो पद टक्र्याउन तयार पनि छन् । तर शेरबहादुर देउवालाई प्रधानमन्त्री पदबाट हटाउने अवस्था र व्यवस्था दुवै उनीहरूका हातमा नभएकाले उनीहरूको मनसुवा पूरा नहुने मात्र होइन, प्रजातान्त्रिक प्रक्रियालाई भत्काउन खोजे हेग पठाउन ठिक्क परेको फाइल अघि बढ्ने र सम्पूर्ण प्रजातन्त्रवादी देश त्यसको समर्थन गर्न तयार भएर बसेको तथ्य एमसीसी पारित गराउने प्रसंगमा त्यसको विरोधका कित्तामा प्रचण्ड र माधव नेपाल उभिन खोज्दा झेल्नु परेको फजिहतले कसरी चेत बाबा काशी भएर थच्चिन बाध्य हुनु परेको थियो, त्यो उनले बिर्सेका छैनन् ।

यद्यपि पहिले मच्चिने, अनि पछि थच्चिने उनको पुरानै रोग हो । त्यही रोगको रोमाञ्चकले उनलाई कुनै बेला चीनको साखुल्य हुन सघाएको थियो भने कुनै बेला हिमालयको अनुलंघनीय शृंखला पार गर्ने यात्रा रोज्नुभन्दा खुला सिमाना छल्न सुरुङ मार्गबाट उता छिरेर भक्तिभाव प्रकट गर्दा नेपालको सत्तामा आरुढ हुने ताल्चाको साँचो छिटो हात पर्ने होस् त्यत्ति बेलै फुरेको थियो । अनि, त्यसैबेला हाइवरनेसनमा बसेको सर्पले जसरी दुलोबाट बाहिर निक्लँदा काँचुली फेर्छ, त्यसैगरी कम्युनिस्ट क्रान्ति र माओवादीको क्यामाफ्जलाई पनि निकालेर फालेका मात्र थिएनन् लोकतन्त्रको गंगाजलले चोख्खिएर काठमाडौं खाल्डोमा जाक्किन पुगेका थिए ।

अपराधका निम्ति उनले हेगको अन्तर्राष्ट्रिय अदालतमा एक न एक दिन अवश्य खडा हुनुपर्नेछ भन्ने तथ्यलाई अरूले उड्किन छाडे पनि उनी आफैंले भने भुल्न सकेका छैनन् ।

कसैलाई उनको त्यस्तो राजनीतिक शीर्षासन, घोर अवसरवाद र चरित्रहीनताको नांगोपनको द्योतक लागे पनि उनले त्यसलाई कुशल र सफल रणनीति मानेका थिए । १० वर्ष लामो कथित् जनयुद्धका नाममा हत्या, हिंसा र आतंक मच्चाएर उनले १७ हजार नेपालीको निर्मम हत्या मात्र गरेका थिएनन्, गरिब नेपालीले आफ्नो गाँस काटेर निर्माण गरेका विकासका थुप्रै पूर्वाधारका संरचनालाई पनि ध्वस्त पारेर देशलाई आधा शताब्दी पछाडि धकेलिदिएका थिए । बाह्रबुँदे दिल्ली सम्झौता गरेर उनले कम्युनिस्ट आन्दोलनको लगाम त भारतका हातमा सुम्पने काम गरे नै, सार्वभौमसत्ताको तालसाँचोसमेत जिम्मा लगाउन परेकोमा लाज, शरम र ग्लानी बोध गरेको पटक्कै देखिएको छैन ।

त्यही अपराधका निम्ति उनले हेगको अन्तर्राष्ट्रिय अदालतमा एक न एक दिन अवश्य खडा हुनुपर्नेछ भन्ने तथ्यलाई अरूले उड्किन छाडे पनि उनी आफैंले भने भुल्न सकेका छैनन् । त्यो भयले उनलाई यो हदसम्म साताउने गर्छ कि दिनमा भोक र रातमा निद्रा पनि लाग्न छाड्छ । त्यसैले उनी समय समयमा झसंग हुन्छन् र हेगको नाम काडेर बर्बराउने गर्छन् । त्यसको झलक शक्तिखोरको भण्डाफोरमा लुक्नै नसक्ने गरी देखिएकै हो ।

त्यस्तो मतिभ्रम हुने रोगलाई अंग्रेजीमा हलुसिनेसन भन्छन् । त्यसका रोगीलाई आफूले लुकाएको अपराधले बढी पोल्ने गर्छ । प्रचण्डलाई त्यसको दोहोरो पीडाले सताउने गरेको तथ्य उनको अस्वाभाविक चालचलनले प्रष्ट पार्दछ । त्यसमध्ये पहिलो हो, कथित् जनयुद्धको अपराधबोध । त्यत्रो संख्यामा मानिस मारेर त्यसको उपलब्धि के भयो ? लोकतन्त्र ? त्यो त प्रजातन्त्र हो, जुन पहिले नै थियो । त्यसैलाई ध्वस्त पारेर त्यसको ध्वंशमा नयाँ जनवादी राज्यव्यवस्था स्थापना गर्ने माओवादीको संकल्प कहाँ गयो ? दोहोर्‍याउन पर्दैन, त्यो भनेको चीनको जस्तो कम्युनिस्ट शासन व्यवस्था स्थापना गर्ने नै हो । ख्वै, कहाँ गयो त्यो सपना ? उल्टै प्रजातन्त्रलाई लोकतन्त्र भनेर स्वीकार गर्न डल्लिनु पर्‍यो ।

हुन त अर्को गठवन्धन गर्न चाहिने राजनीतिक साख अर्थात् विश्वसनीयता प्रचण्डसँग शेष बचेको छैन । झन् प्रचण्ड र ओलीका बीचको गठबन्धन भनेको घिउ र तरबार बेचुवाको कथाको पुनरुक्ति हुनु हो, जसलाई दुनियाँले पत्याए पनि उनीहरू आफैं पत्याउन सक्तैनन् । नम्बर गेम थ्योरी पनि अब थोत्रो र काम नलाग्ने भइसकेको छ । शेरबहादुर देउवाको समर्थन र सहयोगबिनाको गठबन्धनलाई प्रजातान्त्रिक विश्वको के कुरा, चीनले समेत पत्याउँदैन । मुख्य कुरा, गठबन्धन भनेको प्रजातन्त्रको उन्नत र विकसित अवस्थामा मात्र सम्भव हुने र त्यो निश्चित लक्ष्य र उद्देश्यका लागि परस्पर विरोधी शक्ति मिलेर गरिने अभ्यास हो । त्यस्तो अभ्यास, कसैको लहड र सनकमा चल्न सक्तैन । बेलायत, इजरायल, अस्ट्रेलिया, न्युजिल्यान्ड, जापान, फ्रान्स, इटालीजस्ता देशमा गठबन्धनले उनीहरूका देशमा राजनीतिक स्थिरता र आर्थिक विकासको गतिलाई निरन्तरता दिएका थिए । अहिले पनि ती देशमा गठबन्धन सरकार सफलतापूर्वक चलिरहेका छन् ।

मुख्य कुरा, गठबन्धन भनेको प्रजातन्त्रको उन्नत र विकसित अवस्थामा मात्र सम्भव हुने र त्यो निश्चित लक्ष्य र उद्देश्यका लागि परस्पर विरोधी शक्ति मिलेर गरिने अभ्यास हो ।

तित्राको मुखै बैरी भने झैं प्रचण्डको प्याच्च बोल्ने स्वभावले पनि कांग्रेसका नेता र कार्यकर्तालाई लौ गठबन्धन उनले भत्काउन लागे भनेर उत्तेजित तुल्याएको मात्र हो । उनी त्यसो गर्ने अवस्थामा बिल्कुलै छैनन् । अर्को चुनावअघि त्यसो गर्नु भनेको आफ्नो चिहान आफैं खन्नु हो भन्ने लाटाले पनि बुझ्ने कुरा उनले नबुझ्ने सवालै उठ्दैन । उनी सिद्धान्तमा अडिन नसक्ने, अलि परको कुरा सोच्ने दूरदर्शी नभएको र आवेशमा बोल्ने रोगबाट पीडित अवश्य छन्, ती सबै आफ्नै ठाउँमा छन् । तर देउवा र ओलीको इतिहास र भूगोलको पहिचान राख्न नसक्ने भने उनी होइनन् । त्योभन्दा पनि बढी उनलाई हेग जाने जोखिमबाट रोक्न कसले र किन सक्छ, भन्ने कण्ठ छ, किनभने सिंहदरबारको कुन कोठाको कुन दराजको कुन खण्डमा त्यो फाइल छ, त्यो पनि उनलाई कण्ठै छ ।