देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्वतन्त्रले जित्नुको सन्देश


संघीय राजधानी काठमाडौं लगायत एक दर्जनभन्दा बढी महत्वपूर्ण पालिकाहरूमा स्वतन्त्र उम्मेदवारले चुनाव जित्नुले राजनीतिक दलहरूलाई गम्भीर सन्देश दिएको राजनीतिक वृत्तमा चर्चा छ । प्रमुख राजनीतिक दलहरूले उम्मेदवार चयन गर्दा जनतामा भिजेका र लोकप्रिय नेता कार्यकर्तालाई रोज्नुको साटो आफन्त, आफ्नो गुटका र प्रभावशून्य निकटकालाई प्रश्रय दिएका कारण यस्तो परिणाम आएको देखिन्छ । काठमाडौंदेखि मधेसको जनकपुर र पहाडको धरान हुँदै सुदूरपश्चिमको धनगढीसम्मको चुनावी परिणामले उल्लेखित कथनलाई पुष्टि गरेको छ । त्यसैले अझै पनि राजनीतिक दलका प्रमुख नेताले जनतालाई होच्याएर जथाभावी उम्मेदवार चयन गरे भने आसन्न प्रदेश र संघीय चुनावमा पनि यस्तै नियति नदोहोरिएला भन्न सक्ने स्थिति छैन ।

समयमै प्रमुख राजनीतिक दल र तिनका शीर्षस्थ नेताहरू सच्चिनुपर्ने देखिन्छ । मुलुकको राजधानी काठमाडौंमा चर्चामै नरहेका बालेन्द्र साहले जित्नुलाई एकदलीय पञ्चायती शासनमा ‘नानीमैयाँ दाहाल’ले जितेजस्तो उपमा दिएर पन्छिन सक्ने अवस्था संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका नेताहरूलाई छैन । उम्मेदवार चयन गर्दा नातेदार, गुटगत र धनबलशाली भन्दा जनताले रुचाएका लोकप्रिय नेताहरू नै चयन गर्नुपर्ने सन्देश यो चुनावले दिएको छ ।

स्थानीय तह निर्वाचनमा संघीय राजधानी रहेको काठमाडौं महानगरपालिकासहित देशका चार प्रमुख सहरमा स्वतन्त्र उम्मेदवारले राजनीतिक दलका उम्मेदवारलाई पराजित गर्दै विजयी भएका छन् । काठमाडौं महानगरपालिकामा ३१ वर्षका र्‍यापर बालेन्द्र साह निर्वाचित हुँदा धरान उपमहानगरमा सामाजिक अभियन्ता हर्क साम्पाङ राई, धनगढी उपमहानगरपालिकामा व्यवसायी गोपाल हमाल र जनकपुरधाम उपमहानगरपालिकामा मनोज साह प्रमुखमा निर्वाचित भए । कुल ७५३ स्थानीय तहमध्ये १३ पालिकामा पुराना दलहरूको दबदबा पन्छाउँदै स्वतन्त्र उम्मेदवार विजय भएका छन् । पुराना, ठूला र परम्परागत दलहरूले एकल तथा गठबन्धन बनाएर चुनाव लड्दासमेत ठूला सहरमा नै स्वतन्त्र उम्मेदवार विजयी हुनुले विगतदेखि नै आफ्नो प्रभाव रहेको दाबी गरिरहेका दलहरूलाई गतिलो झट्का मिलेको छ । केही पालिकामा पार्टीबाट उम्मेदवारी नपाएपछि बागी बनेर चुनाव लडेकाले जितेका छन् भने केही पालिकामा यसअघि नै पनि राजनीतिक दल र संगठित समूहमा नरहेकाहरूले पनि चुनाव जितेका छन् ।
अघिल्लो चुनावको तुलनामा यसपालि स्वतन्त्र उम्मेदवारले बढी स्थान जितेका छन् । यसमा केही दलमै नरहेर स्वतन्त्र बनेकाहरू छन् भने केही दल छाडेर तथा दलले टिकट नदिएपछि स्वतन्त्र (बागी) बनेकाहरू पनि छन् । उनीहरूको उम्मेदवारी, जितको आधार र मतदाताको मनोविज्ञानले परम्परागत र ठूला भनिएका दलहरूलाई भने गतिलो सबक सिकाएको छ । स्वतन्त्र उम्मेदवारको विजयलाई मुख्यगरी दुई हिसाबले विश्लेषण गर्नु जरुरी हुन्छ, १– उम्मेदवारहरूको लोकप्रियता र २– दलहरूको मैमत्त शैली ।

संसदीय निर्वाचन र स्थानीय तह निर्वाचनबीच केही विषयमा भिन्नता छ । दलहरूको प्रभुत्व र हैसियत मापनको आधार पनि यी दुई निर्वाचनमा फरकफरक हुन्छन् । स्थानीय निर्वाचनमा मतदाताले स्थानीय आवश्यकता, मन जित्न सक्ने उम्मेदवार र घुलमेललाई पहिलो छनोटमा राख्ने स्पष्ट भइसकेको छ । व्यक्तिको लोकप्रियलाई दलीय आबद्धतासँग संयोजन गर्न सक्ने ठाउँमा दलकै उम्मेदवार विजय भएका छन् तर, दलीय प्रभुत्व रहे पनि स्थानीय मतदाताको मन जित्न नसक्ने उम्मेदवारलाई भने मतदाताले पाखा लगाइदिएका छन् । विगतमा परीक्षण भइसकेका दल र तिनका उम्मेदवारलाई मतदाताले पाखा लगाइदिएका छन् भने धरातलीय यथार्थता र वास्तविक मुद्दा उठाउने उम्मेदवारले मत पाएका छन् । दल र तिनका प्रतिनिधिबाट वाक्क भएका मतदाताले यसपालि स्वतन्त्र नै भए पनि नयाँ व्यक्तिलाई आफ्नो पहिलो सरकारको प्रमुख चुनेका छन् ।

राजनीतिक दलहरूले यस चुनावमा पनि विगतकै शैली अपनाउँदै नेतृत्वको निकटताका आधारमा उम्मेदवार चयन गरे । उम्मेदवार चयनमा परिवारवाद, नातावाद र कृपावाद छर्लंंगै देखियो भने आर्थिक सम्पन्नताका आधारमा पनि उम्मेदवार चयन गरेको चर्चा राजनीतिक वृत्तमा चल्यो । मतदाताले चिन्दै नचिनेका, बारम्बार परीक्षण भई असफल भइसकेका र नयाँ मुद्दा उठाउनै नसक्ने व्यक्तिलाई पनि उम्मेदवार बनाइयो । उम्मेदवारी दर्तादेखि नै मतदाताले देखाएको अरुचि मतपत्रमा स्पष्टरूपमा नै पोखियो । पहुँच र शक्तिको आडमा दलबाट उम्मेदवार बन्ने र मतदातालाई कम आँक्ने दलीय उम्मेदवारलाई पनि यो चुनावले राम्रै पाठ सिकाएको छ ।

नेपाल बहुदलीय प्रतिस्पर्धालाई आत्मसात् गरेको मुलुक हो । दलहरूले नै सत्ता सञ्चालन गर्ने हो । जनादेश प्राप्त दलका प्रतिनिधिले नै मुलुकको बागडोर सम्हाल्ने हो । यसमा कुनै दुई मत छैन । तर दल र तिनका नेताहरूलाई जनताका मुद्दा र चाहनाबाट भाग्ने अधिकार पटक्कै छैन । दल र तिनका नेता बेलाबेलामा चिप्लिएका छन् । अति राजनीतीकरण, सेवा र अवसरमा मौलाएको परिवारवाद तथा नातावाद, दलीय शक्तिको आडमा फस्टाएको भ्रष्टाचार, शक्तिकै आडमा देखिएको दण्डहीनता र अराजकता कारण पनि राजनीति विकृत भइरहेको छ । राजनीतिको पोखरी दलहरूकै कारण धमिलिएको छ । यसलाई सङ्लो पार्नुको सट्टा दलहरू धमिलो पोखरीमा नै माछा मार्न उद्धत भइरहे । राष्ट्रिय राजनीतिलाई सुधार्ने जिम्मेवारी दलहरूकै हो । दलहरूले अझै पनि चेतेनन् भने मतदाताले विकल्प खोज्न थाले है भन्ने गम्भीर संकेत यो चुनावबाट देखिएको छ ।

लगत्तै प्रदेशसभा र संघीय संसद्को निर्वाचन हुँदै छ । यसैवर्ष फेरि चुनाव हुनेछ । मतदाताको रोजाइ कस्तो छ भन्ने प्रारम्भिक परिणाम स्थानीय चुनावले देखाइसकेको छ । इतिहासका भरमा मात्रै जनताले पत्याउने छैनन् भने सन्देश यो चुनावले दिएको छ । सुन्दर वर्तमान र सुरक्षित भविष्य जनताको चाहना हो । विगतले शिक्षा दिन्छ, वर्तमानमा त्यसलाई केलाउनु पर्छ र त्यसैका आधारमा भविष्य निर्धारण गर्न सकिन्छ । तसर्थ दलहरू अझै पनि यसतर्फ गम्भीर भएनन् भने पुराना हुन् वा नयाँ, परम्परागत हुन् वा वैकल्पिक कुनै दललाई जनताले बाँकी राख्ने छैनन्, जनताले आफ्नो चाहना मतपत्रमा व्यक्त गर्ने छन् ।